January 22, 2025, 8:03 am
» भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु » ४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन » नागरिकता सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ » Price of gold hits Rs 160 thousand per tola » कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट

अछाममा एमालेलाई झट्का, एकसाथ एक हजार ८१ जना भीम रावलको अभियानमा जोडिए

माघ ८, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं- अछामका नेकपा एमालेका एक हजार ८१ जना कार्यकर्ता डा. भीम रावलले थालेको मातृभूमि जागरण अभियानतिर लागेका छन् ।

मंगलबार सामूहिक विज्ञप्ति निकालेर रावलको अभियानमा खुल्ने एक हजार ८६ जनामध्ये एक हजार ८१ जना एमालेका कार्यकर्ता छन् ।

रावलका एक सहयोगीका अनुसार सबै एक हजार ८६ जनाले वक्तव्य निकालेर अभियानतिर जोडिएका हुन् ।

रावलको अभियानमा समाहित भएकामध्ये एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि छन् । एमालेको सुदूरपश्चिम प्रदेश विभागका सदस्य सातजना, केन्द्रीय विभागका दुईजना, जिल्ला कमिटी सचिालय सदस्य पाँचजना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एकजना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीनजना र जिल्ला सल्लाहकार सदस्य १३ जनाले रावललाई साथ दिएका हुन् ।

एमालेका नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष, पदाधिकारी २२ जना, संगठित सदस्य ६ सय ३७ जना र एमालेका अरु संगठित सदस्यसहित एक हजार ८६ जना छन् ।

मंगलबार अछाममा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला संगठन विभाग प्रमुख प्रकाश शाह पनि रावलको अभियानमा जोडिएका छन् ।

उनले एमाले नछाडिसकेको बताउँदै अहिलेलाई मातृभूमि जागरण अभियनलाई साथ दिएको बताए । गत पुस ११ गते एमालेले निकालेपछि रावल अहिले कुनै दलमा छैनन् ।

मातृभूमि जागरण अभियान लिएर केही दिन कोशी प्रदेशको यात्रा गरेका उनी अहिले गृहप्रदेशमा छन् । उनी साँफेबगर हुँदै अछाम यात्रामा निस्किएका हुन् ।

रावलको अभियानले सुदूरपश्चिममा एमालेलाई ठूलै झट्का लाग्ने सम्भावना छ । उनले एमालेलाई धक्का दिने गरी अभियान चलाएर केही समयपछि पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया