February 24, 2025, 9:02 am
» युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ » नाजिर र वर्षा पति-पत्नीको भूमिकामा रहेको फिल्म‘कल्ली’ को छायांकन सुरु

हमासको कब्जामा रहेका विपिनबारे बैंककबाट इजिप्टका समकक्षीसँग परराष्ट्रमन्त्रीको संवाद

माघ ७, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं- हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपालले पहल जारी राखेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिनको रिहाइका लागि पहल गरिदिन विभिन्न देशका समकक्षीहरूसँग संवाद गरिरहेकी छन् ।

देउवाले सोमबार इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग सोमबार संवाद गरेकी हुन् ।

इजरायल सरकार र हमासबीच युद्धविरामपछि नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रिया थालेको छ।

हमासले आइतबार मात्रै पहिलो चरणमा तीनजना बन्दी युवतीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको जिम्मा लगाएको छ । ती बन्दी युवतीहरू अहिले इजरायलस्थित आ-आफ्नो घरमा पुगिसकेका छन्।

यही क्रममा परराष्ट्रमन्त्री डा. राणाले पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा. अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग आग्रह गरेकी हुन् ।

आफ्नो स्वास्थ्योपचारका लागि बैंककमा रहेकी मन्त्री डा. राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गरेकी हुन् । कञ्चनपुरका विपिन सन् २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा छन् ।

फोनवार्ताका क्रममा मन्त्री डा. राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिएकी छन्।

त्यसैगरी इजिप्टका विदेशमन्त्री डा. अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए ।

इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री डा. राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् ।

केही दिनअघि मात्रै मन्त्री डा. राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुन् ।

त्यसैगरी मन्त्री डा. राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि केही दिनअघि फोनवार्ता गरी हमासहरूले अपहरण मुक्त गर्न लागिएकाहरू पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरेका थिए ।

विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय मञ्चहरु र बैठकहरूमार्फत् विपिनको रिहाइका लागि आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया