काठमाडौं, । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले हरेक २-२ वर्षमा आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो संस्करण २०३८ सालमा भए पनि अनेक उतार चढावका कारण बल्ल दशौं संस्करण हुँदैछ ।
४३ वर्षको दौरानमा १० औं संस्करण हुनु राम्रो नमानिए पनि हुँदैन भन्दै आएको प्रतियोगिताको मिति तोकिएको र अहिले सचिवालय नै स्थापना गरिए पछि खेलाडीहरू भने उत्साहित भएका छन् ।
गत मंसिर २१ गतेको राखेप बोर्ड बैठकले आगामी चैत २३ गतेदेखि ३० गतेसम्म कर्णाली प्रदेशमा प्रतियोगिताको मिति तय गरेको हो ।
तर, उक्त बोर्ड बैठककै माइन्युट नभएको भन्दै प्रतियोगिताबारे विभिन्न अड्कलबाजीका बीचमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राखेप परिसरमा स्थापना भएको सचिवालय उद्घाटन गर्दै दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सुनिश्तित भएको र यसको ‘डका पिट्न आग्रह गरेका थिए ।
दशौं राष्ट्रिय खेलकुदमा अहिले सम्म ३६ वटा खेलमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ । तर, यस विषयमा औपचारिक निर्णय गर्नका लागि माघ ३ गते राखेपको बोर्ड बैठक बोलाइएको छ ।
यसअघि मंसिर २-९ का लागि तय भएको प्रतियोगिताका लागि ३६ खेललाई केन्द्रविन्दुमा राखेर प्रतियोगिता गराउने गरी तयारी अगाडि बढाइँदा समये कर्णाली प्रदेशमा पूर्वाधार सम्पन्न नहुँदा रोकिएको थियो ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा ३६ मध्ये २४ खेल सञ्चालन हुने र अरू बाँकी १२ खेलहरू नेपालगन्ज र काठमाडौंमा पनि हुने सम्भावना रहेको मन्त्री चौधरीले जानकारी दिए ।
यसैगरी सुर्खेतमा बसोवासका लागि अप्ठ्यारो भएको स्वीकार गर्दै राखेपका सदस्यसचिव टकलाल घिसिङले प्रतियोगिताको औपचारिक उद्घाटनको मिति अगाडि केही खेलहरू सम्पन्न गर्ने गरी तयारी अघि बढेको पनि जानकारी दिए ।
यसैगरी यहीं संस्करणदेखि खेलाडीहरूको पोसाक बनाउने जिम्मा सम्बन्धित प्रदेश र विभागले नै पाउने भएका छन् ।
विगतका राष्ट्रिय खेलकुदमा राखेपले नै पोसाक वितरण गर्दा खेलाडीलाई आवश्यक पर्ने साइज नमिल्ने, भद्रगोल अवस्था भएकाले यसपटक राखेपले सुधार गर्दै पोसाक प्रदेश र विभागबाटै वितरण गर्ने व्यवस्था मिलाउन लागिएको हो ।
नवौँमा ११ टिमले प्रतिस्पर्धा गरेकोमा यसपटकको प्रतियोगितामा पनि ११ वटै टिम हुने सम्भावना रहेको छ । ७ वटा प्रदेश र ३ विभाग र एनआरएनए टिमलाई पनि विभागकै हैसियतमा सहभागिता हुन दिएको थियो ।
आठौंदेखि एनआरएनएको टिम सहभागी भए पनि पोखरामा २ वर्ष अघि भएको नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए टिमका खेलाडीका विषयमा अत्यधिक प्रोटेस्ट परेपछि केही खेलबाट अयोग्य गरिएको थियो।
अहिले विगतको जस्तो गल्ती नदोहोर्याएमा एनआरएनएलाई सहभागिता हुन दिने गरी नै राखेपले योजना बनाएको छ । दशौं राष्ट्रिय खेलकुदका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ मा ६० करोड रुपैयाँ विनियोजन गरेको छ । ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता भने मधेश प्रदेशमा हुने छ ।
ओलम्पिकबाट राजीनामा दिन आग्रह
अर्को प्रसंगमा मन्त्री तेजुलाल चौधरीले सरकारले मान्यता नदिएको र नदिने नेपाल ओलम्पिक कमिटीमा बस्ने पदाधिकारीलाई कारबाही गर्ने कुरामा आफू अडिग रहेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपमा दशौँ राष्ट्रिय खेलकुदको सचिवालयको उद्घाटनपछि सञ्चारकर्मी को जिज्ञासामा अब बस्ने बोर्ड बैठकले ओलम्पिक कमिटीको गतिविधिमा भाग लिएकालाई कारवाही गर्ने बताए ।
उनले भने, ‘ओलम्पिक कमिटीमा २७ वटा खेल संघ दर्ता छन्, कतिपय संघ त ८-१० वर्षदेखि अधिवेशन नै नगरेका संघ भएकाले उनीहरूलाई कस्तो कारबाही हुन्छ, त्यो त तपाईंहरूले बुझिहाल्नुहुन्छ।
मन्त्री चौधरीले खेल संघलाई कारबाही गरे पनि खेलाडी र प्रशिक्षकको रक्षा गर्ने दायित्व पनि सरकारको भएको बताएका छन् । उनले खेलाडी खेल्न र प्रशिक्षकलाई प्रशिक्षण गराउने कुनै बाधा नपुग्ने बताए।
उनले भने, ‘आज एक पदाधिकारीले राजीनामा दिएको कुरा सुनेको छ, आशा छ अरूले पनि यसैगरी राजीनामा दिएर सरकारलाई सहयोग गर्नुहुन्छ ।’
तेक्वान्दोका प्रकाश शमसेर राणाले ओलम्पिक कमिटीको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै अन्यले पनि राजीनामा दिने आकलन गरिएको देशान्तरमा खबर छ ।
राखेपको बोर्ड बैठक माघ ३ गते बस्ने जानकारी दिँदै उक्त बोर्ड बैठकले ती खेल संघहरूलाई गर्ने कारबाहीका विषयमा आवश्यक निर्णय लिने पनि मन्त्री चौधरीले बताए ।
राजीनामा दिएर सरकारलाई सहयोग गर्ने व्यक्तिहरूलाई गरिने कारबाहीमा आफ पनि केही लचिलो हुने प्रस्ट पारे ।
ओलम्पिक कमिटी पनि राखेपमा दर्ता भएको एउटा खेल संघजस्तै हैसियतको भए पनि अन्तर्राष्ट्रिय सहभागिताका कारण र खेलकुद विकास ऐनमा रहेको प्रावधानका कारण ओलम्पिक अध्यक्ष जीवनराम श्रेष्ठले सरकारलाई टेरेका छैनन् ।
राखेप र खेलकुद मन्त्रालयले चुनाव नगराउन भन्दाभन्दै र अदालतमा विचाराधीन मुद्दा कायमै रहेका बेला जीवनराम आफैँ फेरि अध्यक्ष भएका थिए ।
प्रतिक्रिया