September 8, 2024, 5:03 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

नाटकमा वर्षाको डेब्यु, अमेरिकामा गर्दैछिन् ‘हिटलर आउँदैछ’

साउन ८, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं । अभिनेत्री वर्षा राउतले नाटकमा डेब्यु गर्ने भएकी छिन् । विमल सुवेदीले निर्देशन गर्ने नाटक ‘हिटलर आउँदैछ’ मार्फत उनले रंगमञ्चमा डेब्यु गर्ने पक्का भएको हो ।

यो नाटकलाई सुवेदी र जोयश पाण्डे मिलेर लेखेका हुन् । पाण्डेले नेपाली फिल्म ‘साँघुरो’ निर्देशन गरेका थिए । वर्षासँगै जोयशको पनि मुख्य भूमिका रहने उक्त नाटकको मञ्चन अमेरिकाको ओहायो राज्यस्थित एक्रोनको सिभिक थिएटरमा हुनेछ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । उक्त अवसरमा कार्यक्रममा तालमेजकी मेयर क्यारोल सिसिलियन किल्वेले नाटक गर्ने हिम्मतको खुलेर प्रशंसा गरेकी थिइन् ।

भुटनिज कम्युनिटी एसोसिएसनका अध्यक्ष मनोरथ खनालले विमल सुवेदी र जोयश पाण्डेको कला क्षेत्रप्रतिको समर्पण देखेर यो कामका लागि आग्रह गरेको बताए ।

निर्देशक सुवेदीले ब्रोड्वे नाटकका लागि विश्वभर मानिएका लण्डन र अमेरिकामध्ये अमेरिकामा नाटक गर्न पाउनु आफ्नो लागि ऐतिहासिक क्षण भएको बताए । उनले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निष्कासन गरिएका नेपालीभाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरुको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको विषय बनाएको जानकारी दिए ।

पाण्डेले पनि यो नाटकबाट डेब्यु गर्न लागेका हुन् । फिल्म निर्देशक बन्नुअघि आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरेको उनले जानकारी गराए । ‘मैलै आफ्नो यात्रा अभिनेताको रुपमा नाटकबाटै सुरु गरेको हुँ । फेरि मलाई एकपल्ट अभिनेताका रुपमा नाटकमा काम गर्ने रहर भयो,’ उनले भने ।

दर्जनौं फिल्ममा अभिनय गरेकी अभिनेत्री राउत यो नाटकको तयारीका लागि केही दिनअघि अमेरिका पुगिसकेकी छिन् । अहिले रिहर्सल चलिरहेको नाटकमा अभिनय गर्नलाई आफू उत्सुक रहेको उनले बताइन् ।

यो नाटक अगस्ट महिनाको २३ बाट ओहायोको एक्रोनमा मञ्चन भएर वर्ल्ड प्रिमियर हुनेछ । अमेरिकाकै विभिन्न स्थान लगायत विश्वका अन्य देशमा नाटकलाई मञ्चन गरिनेछ । नाटकलाई नेपाल र भारतमा पनि मञ्चन गरिने भुटनिज कम्युनिटी एसोसिएनका उपाध्यक्ष तथा नाटकका एक पहलकर्ता आकाश खतिवडाले बताए ।

अमेरिकाको ह्याप्पी होम स्टुडियोजको निर्माण रहेको नाटकमा थिएटर भिलेज नेपाल, भुट्निज कम्युनिटी एसोसिएसन एक्रोनको सहकार्यमा छ ।

प्रतिक्रिया