तर उनीहरू त्यति बेला गलत सावित हुन्छन् जब उनीहरू इन्टरपोलको खोजी सूची अर्थात् ‘रेड नोटिस’मा पर्छन् ।
सरकारी संयन्त्रले बेलैमा निगरानीमा राख्न नसकेपछि सहकारी बचतकर्ताको अर्बौं रकम ठग्नेहरू फरार छन् । तर उनीहरू इन्टरपोलको फरार सूचीमा परेका छन् ।
नेपालमा सहकारीको अर्बौं रकम ठगेर फरार भएका १० जना विरुद्ध अहिले इन्टरपोल मार्फत् रेड नोटिस जारी भएको छ । बचतकर्ताको रकमले निजी व्यवसाय चलाउने र रकम नै विदेश पुर्याउनेहरू अहिले इन्टरपोलको फरार सूचीमा रहेका हुन् ।
बाग्लुङस्थित इमेज सहकारीको करिब डेढ अर्ब अपचलन गरेर नगरपालिका प्रमुख समेत रहेका देवकुमार नेपाली फरार थिए । तर उनी जति लुके पनि इन्टरपोलबाट रेड नोटिस जारी भएपछि पक्राउ परेर अहिले कारागारमा छन् ।
सहकारीकै पैसा लुकाउन भूमिका खेल्ने उनकै श्रीमती छेला नेपाली विरुद्ध पनि अहिले रेड नोटिस जारी छ । डेढ अर्ब अपचलन गरेको आरोप लागेकी छेला विरुद्ध २०८० माघ १० गते रेड नोटिस जारी भएको हो । तर अहिलेसम्म पक्राउ परेकी छैनन् ।
त्यस्तै सहकारीको रकम अपचलन गरेर फरार भएका जीवी राईलाई पक्राउ गर्न पनि प्रहरीले इन्टरपोलकै साथ खोजेको छ । जीबीले कास्कीस्थित सूर्यदर्शन सहकारीको दुइ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप मात्रै छैन सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भइसकेको छ ।
जीबी विरुद्ध २०८० माघ २५ गते रेड नोटिस जारी भएको हो । जीबीकै समूहमा रहेर सहकारीको रकम ठगी गरेको आरोप लागेका भूपेन्द्र राई पनि इन्टरपोलकै खोजी सूचीमा छन् ।
सूर्यदर्शन सहकारीको ९२ करोड असुल गर्नुपर्ने माग सहित जिल्ला अदालत कास्कीमा मुद्दा दायर भइसकेका राई विरुद्ध जीबीसँगै गत माघ २५ गते रेड नोटिस जारी भएको हो । सूयदर्शनकै अर्का आरोपी थानबहादुर बुढा मगर पनि इन्टरपोलको खोजी सूचीमा परेका छन् ।
सबैभन्दा धेरै रकम अपचलन भएको आरोप लागेकामध्ये अर्का आरोपी हुन् भरत महर्जन । बचतकर्ताको १५ अर्बभन्दा बढी हिनामिना गरेर महर्जनलाई पनि अपराधका अभियुक्तका रूपमा इन्टरपोलको सूचीमा राखिएको छ ।
महर्जन विरुद्ध नेपाल प्रहरीले इन्टरपोल मार्फत् २०८० माघ १९ मै रेड नोटिस जारी गरे पनि पक्राउ परेका छैनन् । इन्टरपोलबाट रेड नोटिस जारी भए पनि आरोपीले जुन देशमा लुकेको हो त्यही देशको नागरिकता लिएको अवस्थामा नेपाल फिर्ता गर्न बाध्य हुने छैन ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम मुछिएको मितेरी सहकारीको १४ करोड हिनामिनामा धनराजकै पूर्वश्रीमती ज्योति गुरुङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारी पनि अहिले रेड नोटिसमा छन् ।
पर्वतस्थित तपाईं हाम्रो बचत तथा ऋण सहकारीका सञ्चालक बालगोपाल श्रेष्ठ विरुद्ध ११ करोड ठगीको आरोप छ । अहिले फरार रहेका बालगोपाल विरुद्ध इन्टरपोल मार्फत् २०८१ कार्तिक १३ गते यता रेड नोटिस जारी भएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगीका मुख्य आरोपीमध्येका सागर केसी पनि हुन् । सुप्रिमकै रकम ल्याएर गोर्खा मिडियामा लगानी गरेको आरोपमा पूर्वडीआइजी छविलाल जोशी र रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । तर सागर केसी विरुद्ध भने २०८१ कार्तिक ७ गते रेड नोटिस जारी गरेर खोजी भइरहेको छ ।
सुप्रिम सहकारीकै रकम अपचलनका अर्का अभियुक्त देवेन्द्र राई विरुद्ध पनि रेड नोटिस जारी भएको दुई महिना भएको छ ।
सहकारीको रकम अपचलन गरेर अर्काको देशमा लुके पनि विश्व प्रहरीहरूको संगठन इन्टरपोलको फरार सूची परेका आरोपीहरू कुनै न कुनै दिन सजायको दायरामा आउनुको विकल्प छैन । बचतकर्ताको पैसा लिएर अर्काको देशको नागरिक बनेका बाहेक सबै कारबाहीको दायरामा आउन सक्नेछन् । कान्तिपुर टिभीबाट ।
प्रतिक्रिया