काठमाडौं, । एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्कप्रसाद ओली पछिल्लो समय निकै छटपटीमा छन् । एकातर्फ सरकार कति बेला के हुने हो भन्ने तनाव छ भने अर्कातर्फ पार्टीमा पनि उनी कमजोर बन्दै गईरहेका छन् ।
यही छटपटी र तनावका कारण ओलीले अस्वभाविक बोली र निर्णयहरु समेत गर्न थालेका हुन् । तर, उनी जति कठोर र निरङकुश बन्दै जान्छन् उनको पतन उति छिटो हुने पक्का देखिएको छ ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिलेसम्म ओलीसंगको सहकार्य तोड़ने विषयमा कतै मुख नखोले पनि कांग्रेसभित्र ओली सरकारको तीब्र आलोचना शुरु भएको छ ।
देउवा इतरका शेखर कोइरालाहरु त खुलेआम विरोधमा लागिसकेका छन् भने देउवा पक्षबाटै पनि सरकारले काम गर्न सकेन भन्ने आवाज चर्किन थालेको छ ।
देउवा-ओली गठबन्धनलाई सघाएर सरकार र पाटीमा लाभ लिने कुत्सित योजनामा देउवा गुटमा पुगेको गगन थापा समेत सरकारले काम गर्न सकेन भन्न थालेका छन् ।
सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले पनि घुमाउरो पाराले यो सरकारलाई असफल हुने छुट छैन भन्दै सरकार सफल नभईरहेको अभिव्यक्ति दिइरहेका छन् ।
अर्कोतर्फ युरोपको सयरपछि उताबाटै भारत पुगेकी परराष्ट्रमन्त्री आरजु देउवा दिल्लीबाट निराश मात्रै होइन एक खालको बेइज्जत भोगेर नेपाल फर्केकी छन् ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण मिलाउने फूर्ति गर्दै गएकी आरजुलाई भारतको संस्थापन पक्षका कुनै पनि नेताले भेट्न त परै जाओस उनलाई दिल्लीमा रहंदा गाडी समेत दिन अस्वीकार गरियो ।
आरजुलाई भाजपा नेताहरुसंग भेट गराउन भन्दै नेपालबाट गएका सन्दीप राना नाम गरेका व्यक्तिले समेत नराम्रो थप्पड भेटेका छन्। आरजु दिल्ली आएलगतै नेपालबाट गएका एमालेका प्रदीप जवाली त प्रवासी संघका नेपालीहरु बाहेक कसैलाई भेट्न नपाई आरजुसँगै फर्केका छन् ।
यो अवस्थाले ओलीको छटपटीलाई थप बढाईदिएको छ । ओलीलाई थाहा भईसकेको छ कि भारत र अमेरिका आफ्ना विरुद्ध छन् । त्यसैले जति बेला पनि देउवाले खुट्टा छाड्ने छन् । अर्कोतर्फ एमाले पार्टीमा पनि ओली चर्को दबावमा परिरहेका छन् ।
आफूले सोचेको भन्दा फरक सोच्नेहरुलाई कति नसहने ओली प्रवृत्तिबाट चिढिएकाहरु पूर्व राष्ट्रपति विद्या भण्डारीको गुटमा पुग्ने क्रम बढ्दो छ । कुनै बेला ओलीको किचन क्याविनेटका व्यक्तिको रुपमा चिनिने गोकुल बास्कोटा, कर्णबहादुर थापा, कृष्णप्रसाद दाहाललगायतले समेत ओलीलाई छाडिसकेका छन् ।
उनीहरूले ओलीलाई भष्मासुरको संज्ञा दिँदै ओली नेतृत्वमा रहिरहे एमाले यद्रुवंशी झैं सकिने उनीहरुको निष्कर्ष छ । त्यही भएर हो ओलीले विद्या भण्डारीलाई भेट्न जान समेत पार्टीका नेता कार्यकर्तामाथि प्रतिबन्ध लगाएको छ ।
विद्या भण्डारीले भने नजानिदो ढंगले राजनीतिक गति बढाईरहेकी छन् । गत सात उनी झण्डै दश दिन पोखरा पुगेर बसिन् । पोखरामा बस्दा विद्याले एमालेका नेता कार्यकता मात्रै होइन कि त्यस क्षेत्रका अन्य राजनीतिक पार्टी र स्वतन्त्र व्यक्तिहरुसग समेत भेटघाट गरिन् ।
शाह राजाहरुको कुल देवता स्याङ्जाको आलमदेवीको दर्शनका लागि समेत विद्या गईन। विद्यासंग भेटघाट गरेका एमालेहरुले त मुख खोलेका छैनन तर अन्य व्यक्तिहरुले विद्या भण्डारीको चाहना यही तरिकाले देश अब चल्दैन त्यसैले नयाँ शिराबाट अघि बढ्नुपर्छ भन्ने रहेको बुझिएको छ ।
अर्थात् विद्या भण्डारी निषेधको राजनीति वा अहिलेकै व्यवस्था भनेर रटान लगाउँदैमा देश बन्ने भए एउटा लय समातिसक्थ्यो, त्यसो हुन सकेन नयाँ तरिकाले सोच्नुपर्छ भन्ने रहेको बताइएको छ ।
यद्यपि विद्याले त्यस्तो नयाँ सोच के हुन सक्छ भनेर कुनै संकेत नगरेको भेटघाट गर्नेहरुले बताएका छन् । विद्या भण्डारीको यो खालको सक्रियताले ओली झन् तर्सिएका छन् ।
आफूलाई नेपालको एक मात्र राष्ट्रवादी र विकासवादी नेता भएको भ्रममा रहेका ओली आफ्नै मान्छेले आफूलाई विस्थापित गर्दिन्छन् कि भन्ने त्रासमा रहेका नेपालीपत्रमा खबर छ ।
तर, ओली त्यस्ता ढिट मान्छे जसले आफू इतर सोच्नेहरुलाई माटोमा मिलाउन पछि पर्दैनन् । त्यसको पछिल्लो उदाहरण भीम रावललाई पार्टीबाट निकाल्ने निर्णय हो ।
रावलको साधारण सदस्यता समेत खोस्ने ओली निर्णयले उनी कतिसम्म निरंकुश छन् भन्ने घाम झैं छर्लङ पार्दछ ।
त्यसैले अब ओलीलाई सरकारबाट मात्रै होइन एमालेको पार्टी नेतृत्वबाट समेत बेदखल गर्नुपर्छ भन्ने मत देशभित्र र बाहिर मात्रै होइन, एमाले पार्टी भित्रै पनि प्रबल बन्दैछ ।
प्रतिक्रिया