January 2, 2025, 5:01 pm
» उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्योः प्रचण्ड » बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने खानेपानीमन्त्रीको दाबी » टिपरको ठक्करबाट बालकको मृत्यु » माधव नेपालको प्रश्न : गौतमबुद्ध विमानस्थल कसको दबाबमा बनाइयो ? » कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह

पुस १५, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

चितवन, । चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।

मुख्यगरी अस्पतालका मेडिसिन, बालरोग र हाडजोर्नी विभागमा यस्ता बिरामीको सङ्ख्या धेरै छ । अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएपछि चिकित्सकले चिसोबाट बच्न आग्रह गरेका छन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार आफ्नो विभागमा दैनिक आउने बिरामीमध्ये २० प्रतिशत चिसोका समस्या भएर आउने गरेका छन् । उहाँले भन्नुभयो, “चिसोका कारण रुघा, खोकी, ज्वरो, दम बढ्ने, घाँटी दुख्नेजस्ता समस्याका बिरामी बढेका छन् ।”

मुटुको समस्या र उच्च रक्तचापका बिरामीले चिसोमा हिँड्न उचित नहुने उहाँको भनाइ छ । हिँड्नै परेमा न्यानो कपडा लगाउने, नाक, मुख, टाउको घाँटी छोपेर, हातमा पन्जा लगाएर हिँड्दा उत्तम हुने उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा खेमराज पौडेल अस्पतालमा उपचारका लागि आएका बालबालिकामध्ये ७० प्रतिशतमा चिसोको समस्या देखिएको बताउनुहुन्छ । चिसोका कारण बालबालिकामा रुघा, खोकी, निमोनिया, छालाको समस्या बढी देखिएको उहाँले बताउनुभयो ।

यसैगरी जोर्नी दुखाइका बिरामीको सङ्ख्या पनि अस्पतालमा बढेका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले पछिल्लो समय जोर्नीको दुखाइ, रुघाखोकी, ज्वरो, दम, छालाका समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस्ता बिरामी कम हुने समय हो, तर अहिले चिसोका कारण यस्तो समस्या लिएर आउने बिरामीको सङ्ख्या वृद्धि भएको छ ।”

प्रतिक्रिया