काठमाडौं– विद्यार्थी संगठनमा उमेर हद लागू हुने भएपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले यसको स्वागत गरेका छन् ।
अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि शनिबार ७७ भौगोलिक र अरू गैरभौगोलिक गरी ८६ जिल्लामा निर्वाचन भएको थियो। जसमा परिणाम ३२ वर्षे उमेर हद लगाउनुपर्नेको पक्षमा आएको संगठनको केन्द्रीय निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले घोषणा गरे ।
त्यसपछि शर्माले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै एजेन्डासहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य भएको बताउँदै विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदमलाई स्वागत गरेको बताएका छन् ।
उनले यो निर्णयले झन्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेटेको पनि तर्क गरेका छन् ।उनले लेखेका छन्,- ‘पार्टी निर्माण गर्ने बाटो आफै जोखिमपूर्ण छ, तर इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टता सहित लागेमा यो सम्भव छ। पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट, विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि । बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन। एजेन्डा सहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य हो। विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो। यसले झन्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेट्ने छ।’
प्रतिक्रिया