February 23, 2025, 2:34 am
» आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत

पुस १०, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

इनरुवा- जिल्ला सदरमुकाम इनरुवा-२ का रवीन्द्र यादवले इनरुवा-२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् ।

रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उनले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिएका हुन् ।

मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे। उनले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएका हुन् ।

यादवले अहिले सबै खर्च कटाएर मासिक ९० हजारसम्म आम्दानी भइरहेको जानकारी दिए । हरिनगर गाउँपालिकाबाट दैनिक तीन सय लिटर र देवानगञ्ज गाउँपालिकाबाट दुई सय लिटर दूध संकलन हुँदै आएको उनले उल्लेख गरे ।

दैनिक रूपमा पाँच सय लिटर दूध, एक सय किलो, दही, दुई किलो खुवा र पाँच किलो पनिर बिक्री हुँदै आएको यादवले जानकारी दिए । उनका अनुसार मासिक रूपमा एक लाख २० हजार आम्दानी हुनेमा सबै खर्च कटाउँदा ९० हजार बचत भइरहेको छ ।

‘साँझ र बिहान गरी दैनिक पाँच सय लिटरसम्म दूध बिक्री गर्दै आएको छु’, यादवले भने, ‘मासिक रूपमा बिजुली, घर भाडा, कर्मचारीलाई तलबलगायत अन्य खर्च ३० हजार हुँदै आएको छ ।’

रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमा स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा उनले जोड दिए । युवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय सरकारले तालिम, सीप प्रदान, अनुदान वितरणलगायत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया