नुवाकोट : नेपाल पत्रकार महासंघको २७ औं महाधिवेसनअन्तर्गत भएको निर्वाचनमा नुवाकोटमा नयाँ नेतृत्व चुनिएको छ । अध्यक्षका प्रत्यासीहरू नवराज सुवेदी र रामहरि गजुरेलले बराबर अर्थात् ३३ मत पाएपछि कार्यकाल पनि बराबरी बाँडेर दुबैलाई विजयको प्रमाणपत्र प्रदान गरिएको निर्वाचन समितिका संयोजक राममणी अधिकारीले जानकारी दिए
अध्यक्ष पदमा प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेदवार सुवेदी र प्रेस संगठन र समावादी प्रेस संगठनको संयुक्त उम्मेदवार गजुरेल चुनावमा भिडेका थिए ।
निर्वाचनको मत परिणामपछि शनिबार बेलुकी उम्मेदवारसहितको सर्वपक्षीय सहमति अनुसार निर्वाचन समितिले दुवै अध्यक्षलाई कार्यकाल अवधिको मिति नै तोकेर प्रमाणपत्र वितरण गरेको छ । प्रमाणपत्र पाएपछि दुवै अध्यक्षले निर्वाचन एउटा प्रक्रिया मात्र भएको जनाउँदै अब पत्रकार र पत्रकारिताको स्तर वृद्धिका लागि एकतावद्ध भई अगाडि बढ्ने विश्वास व्यक्त गरे।
नयाँ नेतृत्वका लागि अध्यक्षसहित सबै पदमा मतदान भएको थियो । कुल ८० मतदाता रहेकोमा ६९ मत खसेको निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघ नुवाकोटको उपाध्यक्षमा प्रेस संगठनका जगदीश खनाल ,महिला उपाध्यक्षमा प्रेस युनियनकी आत्मा गुरागाई विजयी भएका छन्।
सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा केदारकुमार ढकाल र मनिषा सापकोटा तथा कोषाध्यक्षमा सुरज सिलवाल विजयी भएका छन्।
सदस्यहरूमा करुणा लामिछाने,पार्वती विक,सुनिता गुरुङ,अन्जली प्याकुरेल,प्रल्हाद पुडासैनी,पुण्यप्रभा ढुंगाना,शिवराम भण्डारी र सज्जनउत्सुक सापकोटा विजयी भए । महासंघको केन्द्रीय परिषद् सदस्यमा देवचन्द्र भट्ट र विष्णु तारुके जम्कट्टेल विजयी भए । बागमती प्रदेश परिषद् सदस्यमा आषिश ढुङ्गाना,किरणप्रसाद अधिकारी,भरतसन्तोषी लामा, विनय बञ्जारा विजयी भएका छन् ।
प्रतिक्रिया