December 24, 2024, 12:20 am
» नेपाली शान्ति सैनिकहरूको अदलीबदली » टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला » युरोप र भारत भ्रमण सकेर स्वदेश फिर्ता भइन् परराष्ट्रमन्त्री राणा » एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे

मंसिर ८, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायिहरूले आशंका व्यक्त गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाएका हुन् । उनले नेपालकै मध्य भागमा रहेको र बुद्ध जन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई सहज हुने पनि बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउनेसमेत प्रतिबद्धता जनाए ।

उनले भने, ‘महिनामा २ पटक  विमानस्थलकै लागि भैरहवा आउनेछु, संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्नेमा लागेको छ । मेच महाकालीको बिचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौँ ।’

उनले विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरु स्थापनाका लागि साउनमै निर्णय भएको बताए । मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसी कार्यान्वयन गरिने उद्घोष पनि गरे ।

उनले विमानस्थलसँग सम्बन्धित तत्काल गर्नुपर्ने काम र प्राविधिक तथा दिगो रुपमा गर्नुपर्ने कामहरुलाई सूचीबद्ध गरेर गर्ने समेत बताए ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले द्रुतगतिमा काम गर्नुपर्ने सुझाव स्वीकार गर्दै आगामी दिनमा त्यस्ता कमीकमजोरी सुधार गरेर जाने उद्घोष गरे ।

प्रतिक्रिया