December 23, 2024, 2:55 pm
» एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ » रवि लामिछानेको सांसद पद निलम्बित » पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते » निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग

उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

कार्तिक २८, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

धादिङ,  । गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ ।

खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरुलाई उद्धार गर्न नसकी हेलिकप्टर फर्किएको हो । पटकपटक ल्याण्ड गर्ने प्रयास गरे पनि खराब मौसम र सञ्चार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।

ट्रेकिङ टोलीमा रहेका रुविभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेसक्याम्पको केही तल (करिब डेढ घण्टाको दूरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन् ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढुङ्गाना बिरामी पर्नुभएको छ । सँगै ट्रेकिङमा रहेका ११ जना भने रुविभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइपुगेका छन् ।

पर्या–पर्यटन प्रवद्र्धनको उद्देश्यले धादिङको रुविभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली छ दिनदेखि यात्रामा छन् । सोमबार राति त्यस स्थानमा पुगेका उनीहरु हाई अल्टिच्युटका कारण बिरामी परेका थिए । त्यस स्थान नजिक मानवबस्ती नभएको र सञ्चार सम्पर्क नभएपछि आज बिहानदेखि छ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए ।

‘फसेको ठाउँ बेसक्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दूरीमा छ । त्यहाँ फोन लाग्दैन । सोमबार राति त्यहाँ पुगेको हो । अहिले पनि त्यही छ । हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौँ’, तिमल्सिनाले भने ।

ट्रेकिङ टोलीमा २७ जना रहेको र दुई जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यही छोडेर ११ जना अहिले १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको उनले जानकारी दिए ।

प्रतिक्रिया