January 22, 2025, 7:03 am
» अष्ट्रेलियाबिरूद्द नेपालको पहिलो फिल्डिङमा » ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की » सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू

अर्घ्यको दउरा लिएर छठ घाट पुगे खानेपानी मन्त्री यादव, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

कार्तिक २२, २०८१ मा प्रकाशित | १२८०दर्शक तीव्रखबर

वीरगञ्ज : मधेस प्रदेशको सर्वाधिक श्रद्धाको पर्व छठ यहाँका प्रत्येक घरमा उल्लासपूर्वक मनाइन्छ। यो पर्व मधेसको सांस्कृतिक आस्थाको प्रतीक हो। जसलाई ठूला होस् वा साना, सबैले समान श्रद्धा र भक्ति भावले मनाउने परम्परा रहेको छ।

छठ पर्वको यस विशेष अवसरमा संघीय खानेपानी मन्त्री प्रदीप यादव पनि आफ्नो पैतृक गाउँ वीरगञ्ज महानगरपालिका-२२, मनियारीस्थित छठ घाटमा दउरा लिएर सहभागी भएका छन्। मन्त्री यादवले परिवारका सदस्यहरूसँग मिलेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गरेका हुन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवले सामाजिक सञ्जालमा आफ्नो दउरा बोकेर छठ घाटतर्फ गइरहेको भिडियो र तस्बिरहरू सार्वजनिक गर्दै सम्पूर्ण देशवासीलाई छठको पावन अवसरमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री यादवले भनेका छन्, ‘छठ पर्व ! महापर्व !! राष्ट्रिय पर्व !! लोक आस्था र प्रकृति पूजनको प्रतीक यस महान् पर्वको अवसरमा साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा गर्न आफ्नै पैतृक गाउँ वीरगञ्ज महानगरपालिका-२२, मनियारीस्थित छठ घाटमा परिवारसँगै ‘दउरा’ लिएर पुग्ने सौभाग्य प्राप्त भयो।’

उनले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा सम्पूर्ण देशको समृद्धि, सुख-शान्ति र हर्षोल्लासको आफूले कामना गरेको बताएका छन्। ‘यो महान् पर्वले सम्पूर्ण नेपालीलाई आफ्नो परम्परा र संस्कृति प्रति गर्व गर्न प्रेरणा देओस् र हामी सबैको जीवनमा छठी माताको अपार कृपा रहिरहोस्,’ उनले लेखेका छन्।

मन्त्री यादवले भने, ‘छठ केवल एउटा पर्व होइन; यो हाम्रो समाजको आध्यात्मिक, सांस्कृतिक, र सामुदायिक शक्तिको प्रतीक हो। यसले हामीलाई हाम्रा परम्परा र संस्कारप्रति गर्व गर्न अभिप्रेरित गर्छ। हामीले यस पर्वलाई भावी पुस्तामा हस्तान्तरण गरेर हाम्रो परम्परा र रीतिरिवाजको संरक्षणमा ध्यान दिनुपर्छ।’

मन्त्री यादवले छठ पर्वले समाजमा भाइचारा, एकता र प्रेमको भावना सृजना गर्ने बताउँदै नयाँ पुस्तालाई छठको महत्त्व र यसका सांस्कृतिक पक्षहरू बुझाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘हामी सबैको जिम्मेवारी हो कि छठ पर्वजस्ता सांस्कृतिक परम्परालाई भावी पुस्ताले पनि गहिराइपूर्वक बुझुन् र यसलाई हृदयमा समेटुन्।’

मन्त्री यादवले छठी माताको आशीर्वादले समाजमा स्थायी शान्ति, समृद्धि, र सकारात्मक ऊर्जाको विस्तार हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई आफ्ना परम्परागत संस्कारहरूप्रति गर्व गर्न प्रेरित गरे। उनले यस महान् पर्वले राष्ट्रिय एकता र सद्भावलाई मजबुत बनाउन सघाउ पुर्‍याउनेमा विश्वास व्यक्त गर्दै समाजको समृद्धिका लागि निरन्तर साथ र सहयोगको कामना गरे।

प्रतिक्रिया