December 27, 2024, 1:37 am
» स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ » सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री » तापक्रममा एक्कासी आएको गिरावटका कारण गाजामा तीन शिशुको मृत्यु » जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको छ : विप्लव » शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपातको सम्भावना

सहकारी प्रकरणमा धनराजबारे निरन्तर अनुसन्धान, अहिलेसम्म प्रमाण भेटिएन

कार्तिक २१, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि ललितपुर महालक्ष्मीस्थानस्थित मितेरी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ ।

पूर्वपत्नी ज्योति गुरुङले रकम अपचलन गरेको खुलेपछि धनराजको पनि संलग्नता भएको आरोप प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले लगाइरहेका छन् ।

उक्त सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि रकम अपचलनसम्बन्धी अनुसन्धान गर्न नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वमा बनेको छानबिन समितिमा उपस्थित भएर धनराजले श्रीमतीसँग मिलेर अपचलन गरेको आरोप लगाएका थिए । कुम्भराजले धराज र ज्योतिबीच नक्कली डिभोर्स भएको बयान पनि दिएका थिए ।

त्यसपछि धनराज र ज्योतिविरुद्ध कुम्भराजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी गरे । उजुरी आएपछि सीआईबीले पनि धनराजमाथि अनुसन्धान थालेको थियो ।

तर हालसम्मको अनुसन्धानमा सहकारीको रकम हिनामिनामा धनराजको संलग्नता देखिने गरी प्रमाण भेटिइनसकेको सीआईबी प्रवक्ता एवम् एसपी होविन्द्र बोगटीले बताएका छन् ।

उनका अनुसार अहिले पनि सीआईबीले कुम्भराजको मितेरी सहकारी सञ्चालक समिति, कर्मचारी र अन्य व्यक्तिको बयान लिइरहेको छ । तर, ती सबैको बयानमा धनराजको संलग्नता रहेको प्रमाण फेला परेको छैन । तर यो सहकारीको हिनामिनाबारे अनुसन्धान जारी रहेको बोगटीले बताए ।

‘अनुसन्धान जारी छ । हालसम्म धनराज गुरुङको संलग्नता पुष्टि हुनेगरि कुनै कागज भेटिएको छैन । गम्भीर रूपमा अनुसन्धान हुँदैछ । धनराजजीका पूर्वश्रीमती ज्योति गुरुङ र सहपाठी ज्योति भण्डारीको संलग्नता पुष्टि भएको छ’, उनले भने, ‘उहाँहरूमाथि कात्तिक पहिलो साता रेड नोटिस जारी भएको छ ।’

दुवै ज्योतिको अहिले खोजी भइरहेको छ । तर दुवैजना नेपालमा नभएको विवरण सीआईबीसँग छ । ‘हामीले आवश्यक कानूनी प्रक्रिया पुर्‍याएर झिकाउने कोसिस गरिरहेका छौँ । यो केसमा प्रहरी गम्भीर छ’, उनले भने ।

कांग्रेस उपसभापति गुरुङकी श्रीमती ज्योतिले मितेरी बहुउद्देश्यीय सहकारी संस्थामा महाप्रबन्धक पदमा रहँदा बचतकर्ताको रकम आफूखुसी झोलामा राखेर सहकारीको सर्भरमा इन्ट्री नगरेको अध्यक्ष कुम्भराजले बताएका छन् ।

ज्योति पछिल्लो पटक मितेरी सहकारी संस्थामा महाप्रबन्धकको जिम्मेवारीमा थिइन् । तर उनी ०७६ पुस १६ बाट सहकारीको कार्यालयमा पुगेकी छैनन् ।

ज्योतिले बचतकर्ताले फिक्स डपोजिट सहकारीमा नराखीे आफूखुसी प्रयोग गरेको मितेरी सहकारी सञ्चालको गुनासो छ । ज्योतिले बचत अपचलन गरेको थाहा पाएपछि सहकारीले २०७६ पुस १६ गते समितिका बोर्ड मेम्बर र उनका पति धनराजलाई साथमा राखेर सोधेका थिए।

त्यसबेला ज्योतिले रकम अपचलन स्वीकार गरेको कुम्भराजको दाबी छ। त्यसपछि उनले रकम अपचलन गरेर कुनै संस्थामा लगानी गरेको जानकारी दिएकी थिइन् । त्यसपछि धनराजले पनि लगानी गरेको रकम आएपछि सहकारीको ऋण तिर्ने आश्वासन दिएका थिए ।

तर धनराजले त्यसको ठिक दुई महिना १४ दिनपछि फागुन २९ गते ज्योतिसँग सम्बन्ध विच्छेद गरेको कागज सार्वजनिक भयो ।

कुम्भराजले भने सहकारीको रकम ठगेपछि फस्ने डरले धनराजले कानुनी रूपमा देखाउन मात्रै सम्बन्धविच्छेद गरेको बताएका छन् । व्यवहारिक रूपमा अझै पनि उनीहरू सँगै रहेको दाबी उनको छ ।

यता धनराज आफूले कानून पालना गर्ने भन्दै आफूले कुनै गल्ती नगरेको तर्क गर्छन् । उनले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको बताइरहेका छन् ।

सीआईबी प्रवक्ता बोगटीका अनुसार अहिले धनराज र मितेरी सहकारीका सञ्चालक अध्यक्ष लगायत प्रहरीको सम्पर्कमा छन् । तर दुवै ज्योति भने सम्पर्कबाहिर छन् ।

बोगटीले भने, ‘सत्य तथ्य कुरा दुवै ज्योतिलाई पक्राउ गरेपछि थाहा हुन्छ । प्रहरीले सबै संयन्त्र लगाएर कारबाही गरिछाड्छ ।’

मितेरी अध्यक्ष कुम्भराजका अनुसार १२ करोड २० लाख रुपैयाँ सावा ज्योतिले महाप्रबन्धकको जिम्मेवारीमा हुँदा हिनामिना गरेकी थिइन ।

अहिलेसम्म त्यसको सावाँ ब्याज हिसाब गर्दा १४ करोड ८१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अडिटमा पनि त्यही हिसाब छ । तर ०८१ भदौपछिको हिसाब भएको छैन ।

धनराज र ज्योतिले सहकारीबाट लिएर ऋण लिएर घर पनि बनाएका थिए। तर तिर्न नसकेपछि घर बेचिएको थियो । अब रकम अपचलनबाहेक सहकारीबाट लगेको ऋण धनराज र ज्योतिले तिर्न भने बाँकी छैन ।

प्रतिक्रिया