December 27, 2024, 5:33 pm
» कञ्चनपुरमा प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे » एसईई रजिष्ट्रेसनका लागि एक महिने म्याद » ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश » फरार १३ सय प्रतिवादी प्रहरीको फन्दामा » चितवन हात्ती महोत्सवः विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी

कार्तिक १९, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागिता जनाएका छन्। उनी भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ गठबन्धन सम्मेलनमा सहभागी भएका छन् । 

मन्त्री खड्का उक्त सम्मेलनमा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका हुन् । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-२१) को २१औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएअनुसार उक्त गठबन्धनको सातौँ सम्मेलनमा मन्त्री खड्का सहभागी भएको विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए।

कोप-२१ सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवद्र्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए । उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुने महानिर्देशक सिंहले बताए । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सह-अध्यक्ष, महानिर्देशकलगायत पदसहितको नयाँ कार्यसमिति चयन गरिने छ ।

सम्मेलनले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्ने महानिर्देशक सिंहको भनाइ छ । सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुरुप सौर्यजस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवद्र्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्नेछ ।

विद्युत्को माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सौर्य ऊर्जा विकासको माध्यमबाट ऊर्जा मिश्रणको सहायताले ऊर्जा सुरक्षा हासिल गर्न मद्दत पुग्ने बताइएको छ । सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य ऊर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यास आदानप्रदान गरिनेछ ।

उक्त सम्मेलनमा ऊर्जामन्त्री खड्काले भारतका ऊर्जामन्त्री एवं आइएसएका अध्यक्ष प्रल्हादवेंकटेश जोशीसँग भेट्ने कार्यक्रमसमेत रहेको छ । भेटमा नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासका विविध विषयमा छलफल हुनेछ । आइएसएले हाल नेपालको राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइलगायतका विभिन्न सात कार्यक्रममा सहयोग गर्नेछ ।

प्रतिक्रिया