January 22, 2025, 7:07 am
» कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट » अष्ट्रेलियाबिरूद्द नेपालको पहिलो फिल्डिङमा » ‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’ : मुख्यमन्त्री कार्की » सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन

जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात

कार्तिक १९, २०८१ मा प्रकाशित | १२१०दर्शक तीव्रखबर

धनुषा, : छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ ।
जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले अघिल्लो वर्ष करिब रु चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब रु पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिनुभयो ।

जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको उहाँले बताउनुभयो । “छठ पर्व मनाउनेको सङ्ख्या वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५–३० ट्रक बढी केरा मगाइएको छ”, सचिव पूर्वेले भन्नुभयो ।

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई रु पाँच सयदेखि एक हजारसम्म मूल्यमा बिक्री गरिन्छ ।

नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ । साथै देशभित्र उत्पादन हुने केरा भन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्ने गरिएको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया