February 24, 2025, 9:13 am
» ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा आउने बाटो तत्कालका लागि बन्द पुनलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित

माघ ११, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं,  ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व-उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रूपमा पार्टीगत राजनीतिमा सक्रिय हुने बाटो तत्कालका लागि बन्द भएको छ ।

नेकपा एमालेको पूर्व-उपाध्यक्षसमेत रहनुभएकी पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुने चर्चा सुरु भएको धेरै समय भइसकेको छ ।

तर, चर्चाले मूर्तरूप पाउन भने सकेको छैन । ११ कात्तिक २०७२ मा राष्ट्रपति बनेपछि भण्डारी राजनीतिक प्रकृतिका कार्यक्रमहरूबाट अलग हुनुभएको थियो ।

२०७९ साल फागुन २९ मा राष्ट्रपतिको दोस्रो कार्यकाल सकेर शीतल निवासबाट बाहिरिएपछि भण्डारी केही समय निष्क्रिय रहनुभयो ।

तर, सात वर्षपछि गत वर्ष १४ असारमा राजनीतिक प्रकृतिको कार्यक्रममा सहभागी भएपछि राजनीतिमा तरंग सृजना गर्‍यो । त्यसयता पूर्वराष्ट्रपति भण्डारी मदन भण्डारी फाउन्डेसनको ब्यानरमुनि राजनीतिक कार्यक्रममा सक्रिय रहँदै आउनुभएको छ ।

प्रथम महिला राष्ट्रपति हुनुभएकी भण्डारीसमेत सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाले राजनीतिक वृत्त नतात्ने कुरै भएन ।

पूर्वराष्ट्रपतिको गतिविधि र अभिव्यक्ति एमालेको आगामी नेतृत्वको तयारी जस्तो देखिएपछि स्वाभाविक रूपमा पार्टी अध्यक्षको चाहना राख्ने एमाले नेताहरूलाई झस्कायो ।

एमालेका दोस्रो र तेस्रो तहका कतिपय नेताहरू नै भण्डारीको सक्रियतामा साथ दिन थालेपछि अध्यक्ष केपी शर्मा ओलीसमेत सशंकित बन्नुभयो ।

भण्डारीको राजनीतिमा आउने सक्रियतामा मलजल गर्दै एमाले नेताहरूले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिङ गर्न थालेपछि अध्यक्ष ओली रुष्ट हुनुभयो ।

उहाँले सार्वजनिक रूपमै पार्टीभित्र नेतृत्वको विकल्प नखोज्न, चुनौती नदिन र गुटबन्दी नगर्न चेतावनी नै दिनुभयो । ओलीको चेतावनीपछि पूर्वराष्ट्रपतिको राजनीतिक सक्रियता केही घटे पनि बन्द भने भएको छैन ।

राष्ट्रपति भइसकेकी भण्डारीले राजनीतिमा आउने रहरै गर्न नहुने ओलीको तर्क छ । ओलीको अनिच्छाकै कारण राष्ट्रपति भण्डारीको एमालेको राजनीतिमा सक्रिय हुने इच्छा तत्कालका लागि पर धकेलिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीबारे पार्टीमा अहिले कुनै छलफल नभएको जिकिर गर्दै एक नेताले भने, ‘उहाँका बारेमा पनि के गर्ने भन्ने कुरा ऐन मौकामै पार्टीले छलफल गर्छ र निष्कर्ष निकाल्छ ।

अहिले त्यसबारे कुनै सन्दर्भ चलिरहेको अवस्था छैन । विद्या भण्डारी समेतले केही नबोलेको अवस्थामा बाहिर भएका हल्लाकै भरमा पार्टीमा छलफल र निर्णय गर्नु उचित हुँदैन ।’

पुनलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
सर्वत्र आलोचना भएपछि पूर्व-उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा माओवादी केन्द्रको जिम्मेवारी दिने योजना तत्कालका लागि स्थगित भएको छ ।

पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक परिपत्रमार्फत पासाङको जिम्मेवारीबारे जानकारी गराउने बताउनुभएको थियो ।

तर, माघ ८ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पुनलाई जिम्मेवारी दिने विषयमा निर्णय गर्न सकेन । पूर्वउपराष्ट्रपति पुनलाई पार्टीमा जिम्मेवारी दिने विषयमा केन्द्रीय समिति बैठकमा नेताहरूले आलोचना गरेका थिए ।

पार्टीबाहिर पनि राज्यको सम्मानित पदमा पुगेको व्यक्ति पार्टीको सक्रिय राजनीतिमा फर्किँदा गलत सन्देश जाने नेताहरूको तर्क थियो । पुन २०७२ देखि २०७९ सालसम्म उपराष्ट्रपति हुनुहुन्थ्यो ।

२०७९ चैत २ गते उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि उहाँ बाहिरिनुभएको थियो । लामो समय निष्क्रिय रहनुभएका पुन गत कात्तिक २६ गते खुमलटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा सहभागी हुनुभएको थियो ।

यस्तै, पुस २३ गते धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकमा उपाध्यक्षको लहरमा बस्नुभएको थियो । बैठकमा पूर्वमन्त्री तथा माओवादीका नेता सुदन किराँती, लेखनाथ न्यौपाने लगायतका नेताहरूले चर्को आलोचना गरेका थिए ।

पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदि पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुने नेताहरूको तर्क थियो ।

नेताहरूको चर्को आलोचनापछि अध्यक्ष प्रचण्डले नन्दबहादुर पुन आफूले पार्टीमा ल्याउन लागेको नभई आफैँ आउन चाहेको स्पष्टीकरण दिनुभएको थियो ।

केन्द्रीय समिति अघि बसेको स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु गलत हुने धारणा राख्नुभएको थियो ।

पूर्व-उपराष्ट्रपति पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी हाललाई स्थगित भएको जानकारी दिँदै एक पदाधिकारीले भन्नुभयो, ‘पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी थियो ।

पार्टीभित्र प्रश्न उठेपछि स्थगित भएको छ ।’ पार्टीभित्र मात्र नभई बाहिर पनि पूर्वराष्ट्रपति तथा पूर्व-उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाबारे राजनीतिज्ञ, बौद्धिक वर्ग, विश्लेषकहरूले आलोचना गर्दै आएका छन् ।

वामदेवको लागि पदकै अभाव
वामदेव गौतम नेकपा एमालेमा फर्कने च्याप्टर तत्कालका लागि बन्द भएको छ । एमालेले गौतमलाई पार्टीमा भित्र्याउनेबारे ठोस निर्णय नगर्दा अलमल बढेको हो ।

एमालेबाट बाहिरिएको तीन वर्षपछि गौतम फेरि एमालेमै फर्कने तयारीमा हुनुहुन्थ्यो । त्यसअघि गौतमले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा सामेल हुन छलफल चलाउनुभएको थियो ।

तर, नेताहरूको व्यवस्थापनमा कुरा नमिलेपछि एकीकृत समाजवादीमा जाने योजना अन्त्य गर्दै एमालेमा फर्कने तयारी थाल्नुभएको थियो ।

मंगलबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले सचिवालयको बैठकले गौतमलाई पार्टीमा भित्र्याउँदा हुने नाफा घाटाबारे छलफल गरे पनि ठोस निर्णय हुन सकेन ।

त्यसैले गौतम एमालेमै फर्कने प्रक्रिया तत्कालका लागि रोकिएको हो । एमालेमा फर्कने सम्बन्धमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको संवादबाट गौतम निकै उत्साहित हुनुभएको थियो ।

तर, एमालेले सहकार्य गर्दै जाने निर्णय गरे पनि कस्तो सहकार्य भन्ने नखुलाउँदा गौतम अलपत्र पर्नुभएको छ । आफू नेतृत्वको अभियानलाई तत्काल भित्र्याउने चाहना एमालेमा नभएको हुनसक्ने गौतमको आशंका छ ।

माघ पहिलो साता ओलीसँगको कुराकानीपछि गौतमले आफू निःसर्त एमालेमा फर्कन लागेको जानकारी दिनुभएको थियो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले वामदेवसँग सहकार्य सुरु भएपछि मात्र एकता हुने दाबी गर्नुभएको छ । गौतम एमालेमा फर्कंदा उहाँको व्यवस्थापन कसरी गर्ने ? भन्नेमा नेताहरूबीच एकमत हुन सकेको छैन ।

पूर्वउपाध्यक्ष भइसकेका गौतमलाई वरिष्ठ वा सम्मानित नेताको पद दिनुपर्ने अवस्था छ । तर, वरिष्ठ वा सम्मानित दुवै पद दिँदा भोलि पूर्वराष्ट्रपति विद्या भण्डारी वा झलनाथ खनालहरू पनि पार्टीमा आउने अवस्था आएमा के गर्ने ? भन्नेमा सोच्नुपर्ने नेताहरूको तर्क छ ।

प्रचार विभाग प्रमुख गौतमले वामदेवले धेरै सर्त नराखे पनि व्यवस्थापनका सवालमा थप छलफल गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो ।

वामदेवलाई पार्टीमा भित्र्याएर दिने पद नै नभएको निष्कर्षसहित एमाले सचिवालय बैठकले सहकार्य मात्रै गर्ने निर्णय गरेको हिमालय टाइम्समा खबर छ ।

एकीकृत समाजवादी परित्याग गरी एमाले फर्कन लागेका मुकुन्द न्यौपानेलगायत नेतालाई जिम्मेवारी दिन उमेरहद फुकुवा गरेको एमालेले वामदेवकै लागि विधान संशोधन गर्नसक्ने पदाधिकारीकै बुझाइ छ ।

एमालेले पार्टीको विधान सम्मेलन आगामी भदौ २०, २१ र २१ गते ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया