मेलम्चीको पानीले नधान्ने भयो उपत्यकाको माग

- February 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजना उपत्यकामा ल्याएपछि खानेपानीको माग पुरा हुन्छ भन्ने लक्ष्यका साथ सुरु भएको सो आयोजना समयमा सम्पन्न नहुदाँ मागको एक तिहाई पनि पुरा गर्न नसक्ने भएको छ । तत्कालिन समयमा गरेको प्रक्षपण अनुसार मागलाई मेलम्चीको पानीले पुरा गर्न सक्ने र पछि जनसंख्या बृद्धि भएपछि मेलम्ची आयोजना दोस्रो समेत मिसाएर लामो समय पानीको अभाबलाई पुर्ति गर्ने सरकारी योजना पछिल्लो समयमा फेल खाएको सम्बन्धित निकायका विज्ञहरुले बताएका छन् ।

मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याई पुराउने योजना रहेको छ । तर दैनिक राजधानीमा ३४ करोड लिटर पानीको माग रहेको छ । मागमा भएको वृद्धिसंगै सो आयोजनाको निर्माण काम अन्तिम चरणमा पुगेको छ । अहिले आयोजनाको सुरुङ निर्माण र पाइपलाइन विस्तार कार्या तीब्ररुपमा भएको छ । विसं २०७४ साउनमा खानेपानी परीक्षण गरी आगामी बडादसैँमा घर घरमा खानेपानी वितरण गर्ने लक्ष्य राखेको छ ।

खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले सो समयमा पानी उपभोक्ताले पाउने दाबी समेत गरेका छन् । पाइप बिछ्याउन खनिएका सडक पुनःनिर्माणका लागि यसअघि नै सडक विभागलाई ८४ करोड र नगरपालिकालाई  एक करोड रुपैयाँ निकासा भइसकेको छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई घनश्याम भट्टराई उपत्यकामा खानेपानीको माग सम्बोधन गर्न मेलम्ची–२ आयोजनाको काम पनि अघि बढेको बताए । तर सो योजनाले पनि मागलाई धान्ने सम्भाबना कम भएको समेत शंका उनले गरेका छन् । काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले काठमाडौँ उपत्यकामा सुख्खायाममा पानीको सहज आपूर्ति गर्न तत्काल ट्यांकरबाट समेत व्यवस्थित रुपमा पानी वितरण गरिने जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!