यसरी हुँदैछ अमेरिकामा इतिहासकै ठूलो मानव तस्करी

- July 23, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-मनोज खतिवडा

काठमाडौं । नेपाली बेरोजगार युवा युवतीहरु मात्र नभएर असंख्य नेपालीहरुको सपनाको सहर बनेको छ अमेरिका । यतिबेला ठूलो संख्यामा नेपालीहरु अमेरिका छिराउने मानव तस्करीहरुको एक गिरोहले मास्टरप्लान नै तयार पारेको खुलासा भएको छ ।

सपनाको शहर अमेरिकामा विभिन्न जोखिमयुक्त तस्करी मार्गबाट पनि पचासौं लाख खर्च गरेर जान चाहनेहरुको लर्को नेपालमा छ । एकातिर नेपालमा प्रसस्त रोजगारीको अवसर नहुनु र अर्कोतिर राजनीतिक अस्थिरताले व्यावसाय धारासायी हुनुले गर्दा कतिपय योग्य नेपालीहरु नै अवसरको खोजीमा विदेशतिर अकर्षित हुने गरेका छन् । यही अवस्थाको फाइदा उठाउँदै मानव तस्करीमा संलग्न गिरोहहरुले वैदेशिक अवसरको आश्वासन दिँदै आकर्षित मुलुकहरुमा मोटो रकम अशुलेर तस्करी गर्ने गरेका छन् । यसैको एउटा उदाहरण हो, अमेरिकामा विभिन्न इभेण्टका नाममा बर्षौदेखि मानव तस्करी गर्दै आएको वल्र्ड विजनेश म्यानेजमेण्ट एण्ड कन्सल्ट्यान्ट र यसका संचालक हुन् बुद्धी प्रसाद रेग्मी ।

नेपालका नाम चलेका केही कलाकारहरुका साथमा अन्य फर्जी कलाकारहरुको कागजात बनाई यसअघिपनि यूरोप तथा अमेरिकामा सांस्कृतिक कार्यक्रमका नाममा सयौं व्यक्तिहरु तस्करी गरिसकेको सो समूहले पछिल्लो समयमा व्यापारिक प्रदर्शनीका नाममा ठूलो संख्यामा मानव तस्करी गर्न लागेको रहस्य खुलेको छ ।

“नेपाल एक्जिविसन एण्ड  ट्रेड सो” नामाकारण दिई  ई.स. सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म अमेरिकाको न्युर्योकमा आयोजना गर्न लागिएको  उक्त कार्यक्रममा सहभागीताका लागि भन्दै सो समूहले ६ सय जनाको आवेदन माग गरि मोटो रकम अशुली रहेको फेला परेको छ । उक्त मितिमा गर्ने भनिएको कार्यक्रम सम्बन्धि बुकलेट नै प्रकाशन गरि स्टल बुकिंङको नाममा न्यूनतम सात हजार चार सय उन्नान्सय देखि अधिकतम १४ हजार उन्नासय डलरका दरले रकम उठाउने भनिएतापनि सहभागी हुन चाहने प्रत्येक व्यक्तिहरुलाई भिषा लागेमा न्यूनतम २० लाखसम्म तिर्नुपर्ने भन्दै बार्गेनिङ गर्ने गरेको बताइएको छ ।

उक्त व्यापारिक मेलामा सहभागी हुनका लागि आवेदन साथ न्यूनतम पाँच लाखदेखि १० लाखसम्म रकम अशुली रहेको सो समूहले नेपाली व्यापारीहरुको विश्वसनियताको लागि नेपालका प्रतिष्ठित औद्योगिक संस्थाहरुको नाम समेत दुरुपयोग गरेको खुलेको छ । उसले आयोजना गर्ने व्यापारिक मेला सम्बन्धी बुकलेटमा नेपाल उद्योग वाणिज्य महासंघ नेपाल पर्यटन बोर्ड, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्श लगायतको लोगो समेत समावेश गरेको छ, तर नेपाल उद्योग वाणिज्य महासंघले भने आफ्नो संस्थासंग कुनै सरसल्लाह नगरि अवैधानिक रुपमा नाम र लोगो प्रयोग गरिएको प्रति आपत्ति जनाउँदै आयोजक संस्थालाई चेतावनी सहित पत्र पठाएको बुझिएको छ । महासंघले आफ्नो अधिकारिक वेभसाइटमा पनि उक्त कुरा उल्लेख गरेको छ ।

महासंघ मात्र होइन्, आयोजकले उल्लेख गरेका अन्य प्रतिष्ठित व्यापारीक संस्थाहरुको पनि केवल कार्यक्रम आयोजनाको प्रतिष्ठाको लागि मात्र लोगो दुरुपयोग गरिएको हुनसक्ने स्रोतको दावी छ । कार्यक्रमसंग सम्बन्धित एक असन्तुष्ट सदस्यले अरोप लगाउँदै भने आयोजकले उल्लेख गरेका अन्य संस्थाहरुको संलग्नतापनि फर्जि हो ।

यस्ता छन् आयोजक व्यक्ति

बुद्धी प्रसाद रेग्मी
बुद्धी प्रसाद रेग्मी

विभिन्न कार्यक्रमको बहाना बनाउँदै यूरोप लगायत अमेरिकामा मानव तस्करीमा संलग्न रहेका बद्धीप्रसाद रेग्मी कुनैबेला पुतलीसडकमा शिक्षा परामर्श सम्बन्धि संस्थामा आवद्ध थिए । उनले केही कन्शल्टेन्सीहरुसंग मिलेर विभिन्न व्यक्तिहरुलाई विदेश पठाउने गर्थे । कन्शल्टेन्सीमा संलग्न हुँदै गर्दा विभिन्न मुलुकका व्यक्तिहरुसंग सम्बन्ध बढाएका रेग्मीले पछिल्लो समयमा सांस्कृतिक कार्यक्रमका नाममा अमेरिका, यूरोप लगायतका मुलुकहरुमा मानव तस्करी गर्न थालेको स्रोतको दावी छ ।

उनले कुनै एउटा कार्यक्रम आयोजनामा सहभागी हुन् केही नाम चलेका कलाकार संलग्न गर्ने र मोटो रकम दिन तयार हुने अन्य व्यक्तिलाई पनि नक्कली कलाकार बनाई विभिन्न मुलुकमा लगि छोड्ने गरेको खुलेको छ । उनको यस्तो हरेक कार्यमा साथ दिने काम गरेकी छिन् उनकै श्रीमती सारदा रेग्मी । सारदालाई कलाकारिता लगायतका क्षेत्रका व्यक्तिहरुले चिन्ने नाम भने सानु शर्मा हो । उनीहरु दुवैजना यस गिरोहका प्रमुख पात्र भएतापनि उनीहरुको समूहमा रहेका अन्य व्यक्तिहरुको विस्तृत विवरण समेत तीव्रखबरले फेला पारेको छ ।

वल्र्ड विजनेश म्यानेजमेण्ट एण्ड कन्सल्ट्यान्टका नाममा भैरहेको मानव तस्करी सम्बन्धी समाचारका विषयमा उक्त संस्थाका निर्देशक कृष्ण लामिछानेसंग प्रतिकृयाका लागि सम्पर्क गर्दा अग्रिम रुपमा रकम उठाएको स्वीकार गर्दे आफुहरुले कार्यक्रमको आयोजना गरेको भिषा दिने नदिने, भाग्ने वा फर्किने व्यक्तिका सम्बन्धमा जानकारी लिने काम अमेरिकी दुतावासको भएको बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!