हिरासतमा बन्दी : कुटपिट, लुटपाट र मानसिक यातना

- June 13, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जनकपुर । धार्मिक आस्थाका कारण भारतको हिसार (हरियाणा) सतलोक आश्रमबाट डेढ वर्षअघि पक्राउ गरी हिरासतमा राखिएका नेपाली श्रद्धालुलाई भारतीय प्रहरीले आतङ्कवादी भन्दै मानसिक यातना दिइरहेको पाइएको छ ।

पूर्णब्रह्म कवीर उपासक समाजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जमानतमा रिहा भएका श्रद्धालुले उक्त जानकारी दिए । हिरासतमा राखिएकालाई निर्वस्त्र पारी कुटपिट गर्नाका साथै आफूहरुसँग रहेका रूपैयाँ, घडी र सुनको सिक्री समेत लुटिएको उनीहरुले बताए । विसं २०७१ कात्तिकदेखि मङ्सिर २ गतेसम्म सतलोक आश्रममा भएको प्रहरी कारबाहीमा २४ नेपाली श्रद्धालुलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये सुनसरीका मुकेश कार्की, भक्तपुरका उमराज ढकाल, धनुषाका गणेश महतो, सन्तोष साह, रामचन्द्र यादव र अन्जारूल मियाँ, महोत्तरीका शिवपूजन साह, सिरहाका रामसोगारथ महतो, राजेन्द्र सादा, शिवचन्द्र यादव, भूप सिंह र उपेन्द्रप्रसाद सिंह, पाँचथरका गणेश गिरी, रौतहटका दिनेश महतो र उमेश महतो तथा कञ्चनपुरका सुरेश भट्टलाई केही महिना हिरासतमा राखेपछि कुनै कसुर प्रमाणित नभए पनि अदालतले भारु एक लाख जमानत ठहर गरेको समाजका अध्यक्ष केशवप्रसादले बताए ।

उनले सुनसरीका लक्ष्मण बस्नेत, धनुषाका ईश्वर श्रेष्ठ, काठमाडौँका राजकुमार गिरी, बर्दियाका नन्दराम खैराहा, कञ्चनपुरका योगेन्द्र चन्द, मोरङका सुरेश राई, सिरहाका विजय साह र विनोद यादव हिरासतमै राखी राजद्रोही मुद्दा लगाउने षड्यन्त्र भइरहेको आरोप लगाए । उनीहरुलाई भारतीय कारागारमा हिरासतमा राखी चरम यातना दिने कार्य भइरहेकाले रिहाइको पहल गरिदिन पीडित परिवारजनले नेपाल सरकारसँग आग्रह पनि गरेका छन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट