सुत्केरी पिडा: एम्बुलेन्सको पैसा र होटलको पैसा तिर्न पाए जान हुन्थ्यो तर घर जाने भाडासमेत छैन, कसरी जाने ?

- May 24, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

स्वर्गद्वारी, जेठ ११ गते । प्युठान, गौमुखी गाउँपालिका वडा नं २ अर्खा निवासी ज्ञानबहादुर राना आफ्नो २८ दिनकी सुत्केरी श्रीमतीलाई लिएर जिल्ला अस्पताल प्युठान आउनुभएको छ । करीब एक महिनाकी सुत्केरी कामनाको स्वास्थ्यमा समस्या देखिएपछि अर्खाबाट जसोतसो गरेर एम्बुलेन्समा जिल्ला अस्पताल बिजुवार आइपुग्नुभएका उहाँलाई श्रीमतीको उपचार कसरी गर्ने भन्ने चिन्ता छ ।

प्युठान बाग्दुलामा ज्यामी काम गर्दै आउनुभएका रानाले कोभिड १९ का कारण मजदूरी गर्न पाउनुभएको छैन । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उहाँहरुलाई दैनिक छाक टार्नसमेत मुश्किल परिरहेको छ । त्यसमाथि सुत्केरी भएको महिना दिन नपुगेकी श्रीमती बिरामी पर्दा झनै पीडा थपिएको छ ।
जिल्ला अस्पताल बिजुवारका नर्सिङ इञ्चार्ज राधा केसीले अल्ट्रासाउण्ड गर्ने पैसा तिर्न नसकेर अहिले काम रोकिएको बताउनुभयो । अस्पतालमा यस्तो बिरामी धेरै आउने तर एक महिनाको सुत्केरीको उपचारका लागि रु चारपाँच सयसमेत नभएर तड्पिएको देख्दा असाध्यै मन खिन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“औषधिको पैसा नर्सिङ स्टाफ मिलेर तिर्ने सोचेका छाँैं ।” बिरामीको स्तनमा समस्या भएको र चिन्ताले मानसिक समस्यासमेत देखिएको नर्स केसीले बताउनुभयो ।
जिल्ला अस्पतालमा पाँच दिनदेखि भर्ना भई उपचार गराइरहेकी सुत्केरी कमलालाई राम्रो पोषणयुक्त खानेकुरा त परै जाओस् घरमा साँझबिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ । काखमा २८ दिनको छोरा च्यापेकी उहाँले आँखाभरि आँशु लिँदै भन्नुभयो, “एम्बुलेन्सको पैसा र होटलको पैसा तिर्न पाए जान हुन्थ्यो तर घर जाने भाडासमेत छैन, कसरी जाने ?”
उहाँका पति राना काम गर्ने ठाउँबाट मजदूरी गरेको पूरै ज्याला पनि नपाएको बताउनुहुन्छ । कोभिड – १९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ता उहाँहरुलाई बढी छ । प्रेमविवाह गर्नुभएका रानाले घरमा पारिवारिक सहयोग पाउनुभएको छैन । बन्दाबन्दीले काम गर्न नपाउँदा आफूलाई घरखर्च चलाउन निकै समस्या परेको उहाँले बताउनुभयो । कम उमेरमा विवाह गरी शिशु जन्माउनुभएका कामनाको उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डा सुनिल सुनारले जानकारी दिनुभयो । सुत्केरी अवस्थामा पनि घरपरिवारबाट कुनै सहयोग नपाएपछि माइती रोल्पा जाने व्यवस्था मिलाइदिन कामनाले आग्रहसमेत गर्नुभयो ।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!