लकडाउनमा मध्यपहाडी लोकमार्ग निर्माणको यस्तो अवस्था (भिडियोसहित

- May 6, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पर्वत,बागलुङ, रुकुम पश्चिम – मध्यपहाडी लोकमार्ग आयोजनाको पर्वत खण्ड विस्तारको काम करिब डेढ महिनापछि पुन: सुरु भएको छ । चैत ९ यता रोकिएको काम गत मंगलबारदेखि सुरु भएको आयोजना कार्यालयले जनाएको छ । लकडाउन लम्बिँदै गएपछि त्यसको असर थेग्न नसकेर लोकमार्गको काम अघि बढाइएको कार्यालयको भनाइ छ ।

करिब ७५ जना कामदार लगाएर काम अघि बढाइएको हो । लकडाउनका कारण घर जान नसकेका मजदुर परिचालन गरेर कुस्मा र आसपासको क्षेत्रमा काम अघि बढाइएको कार्यालयका प्रमुख आशिष थापामगरले बताए । काममा शारीरिक दूरी भने कायम गरिएको छ । सवारीसाधन नचलेकाले पर्वत खण्डमा सबैभन्दा जटिल मानिएको चुवाको पहरो फुटाउने कामलाई तीव्रता दिइएको छ । चैत १ देखि सेनाको सहयोगमा विस्फोट गराउन सुरु गरिएको चट्टानको काम लकडाउनपछि ठप्प थियो ।

आगामी भदौ ३० सम्म सक्ने गरी पर्वत खण्ड विस्तारको जिम्मा लिएको लामा कन्स्ट्रक्सनले तोकिएकै समयमा काम सक्ने गरी पछिल्लो समय करिब ९ सय कामदार परिचालन गरेको कन्स्ट्रक्सनका प्रबन्धक गोविन्द भुसालले बताए । वैशाख २५ पछि पनि कामलाई निरन्तरता दिनसके असारसम्म पर्वत खण्डको सबैजसो सडक कालोपत्र सकिने थापा मगरको दाबी छ ।कोभिड–१९ रोकथाम उच्चस्तरीय समितिले राष्ट्रिय गौरवका आयोजनामा शारीरिक दूरी कायम गरेर निर्माणस्थलमै उपलब्ध मजदुर परिचालन गरी काम गर्ने निर्णय गरेपछि आयोजनाको काम अघि बढाउन बाटो खुलेको हो । कुस्मा, खरेहा, चुवालगायत स्थानमा सडक चौडा, नाली, कल्भर्ट निर्माणलगायत काम अघि बढाइएको छ । ‘सम्भव भएसम्म बाहिरबाट कामदार नल्याउने, निर्माणस्थलमा भएका र घर फर्किन नपाएका मजदुरलाई ल्याएर काम गर्न लगाउने निर्देशन थियो,’ थापामगरले भने, ‘सोहीअनुसार काम थालेका हौं ।’

लोकमार्गको बागलुङदेखि घोडाबाँधे खण्डको २५ किमि सडक कालोपत्रे योजना भने अलपत्र परेको छ । सडकको सुल्डाँडा बिहुँ हुँदै घोडाबाँधेतर्फको १३ किमि खण्डमा कालोपत्र गर्ने काम भइरहेका बेला मजदुर घर फर्कंदा काम रोकिएको थापामगरले बताए ।

लोकमार्गको बिहुँ खण्डको १३ किमि सडक १३ करोडमा सक्ने जिम्मा लिएको एमपी सूर्य कन्स्ट्रक्सन संयुक्त निर्माण कम्पनीले मजदुर अभावमा काम गर्न पाएको छैन । ‘काम भइरहेको थियो तर मजदुर घरघर गएपछि समस्या भयो,’ इन्जिनियर रामप्रसाद सुवेदीले भने, ‘बसेका मजदुरबाट पनि ग्राभेलको काम भएको छ ।’

सदरमुकामदेखि अक्षेतेसम्मको १२ किमि खण्डको काम अलपत्र छ । १२ करोडमा जिम्मा लिएको भारत सिद्धिशाही प्रकाश निर्माण कम्पनीले लकडाउनअघि पनि काम नगर्दा सडक जीर्ण बनेको छ । केही खण्डमा पहरा आधा फोडेर अलपत्र पारिएको छ । त्यस्तै बोक्सेको भीरमा हिलाम्मे छाडिएपछि सवारीसाधन गुड्नै नसक्ने अवस्था छ ।

गत कात्तिकमा म्याद सकिएर थपेको एमपी सूर्य कन्स्ट्रक्सनले असारभित्र काम सक्ने समय पाएको थियो । पटकपटक थपेको म्याद पनि गुजारेको सिद्धिशाहीलाई भने कालोसूचीमै राख्ने बेला भएको थापामगरले बताए । सूर्य कन्स्ट्रक्सनले बैंक ग्यारेन्टी र म्याद थप्ने आधार मागेपछि काम थालेको हो । बागलुङभित्रको १४२ किमि सडकमध्ये घोडाबाँधेसम्मको २५ किमि खण्ड मात्र जीर्ण छ ।

धकेलियो निर्माण

बिहुँ र सुलडाँडालगायतका स्थानमा भने लकडाउनकै अवसरमा पहरो काट्ने काम भएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजनाले रुकुम खण्डमा आगामी असार मसान्तभित्र कालोपत्रको काम सक्ने लक्ष्य लिएको थियो । सानीभेरी–चौरजहारी सडकखण्डको ३२ किमि कालोपत्रको काम करिब एक महिनादेखि अवरुद्ध रहेको लोकमार्गको दैलेख आयोजना कार्यालयले जनाएको छ ।

अरु तयारी गरिए पनि कालोपत्रको काम रोकिएको कार्यालयका सूचना अधिकारी तुलाराम शर्माले बताए । ‘अरू सबै आधारभूत काम सकिएका छन्, कालोपत्रे सुरु हुनै लाग्दा लकडाउन भयो,’ उनले भने, ‘उपकरणमार्फत हुने काम भने चालु अवस्थामा छन् ।’

सानीभेरी गाउँपालिकाको हासिवाङदेखि चौरजहारी र जाजरकोटको भेरी नगरपालिकाको सिमानासम्मको काम रोकिएको उनले जानकारी दिए । तर अग्ला ठाउँ सम्याउने, क्रसर र नालाको काम भने जारी मेसिनमार्फत जारी राखिएको छ ।

कार्यालयका अनुसार उक्त खण्डसहित पहिले नै ठेक्का लागेका सबै सडकमा कालोपत्रको काम असार मसान्तसम्म सकिनुपर्ने हो । कालोपत्रेको म्याद करिब एक महिना मात्र बाँकी भएकाले निर्धारित समयमा नसकिने देखिएको शर्माले बताए । बाहिरबाट आएका दक्ष कामदार लकडाउनका कारण फर्किएका छन् । ‘२५ गतेपछि लकडाउन खुकुलो भए बाहिर गएका कामदारलाई बोलाएर कालोपत्रको काम पुन: सुरु गरिनेछ,’ उनले भने, ‘यही अवस्थामा १० किमि कालोपत्रको काम असार मसान्तसम्म सकिने अनुमान छ ।’

बाँकी २२ किमि सडकको कालोपत्र आगामी मंसिरभित्र गर्ने गरी कार्यालयले आवश्यक तयारी थालेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत बैरीदहदेखि पूर्वको क्षेत्रमा पनि कालोपत्रको काम सुरु भएको छैन । उक्त क्षेत्रमा पनि उपकरणबाट हुने काम रोकिएका छैनन् । उपकरणबाट भन्दा श्रमिकबाट गर्नुपर्ने काम धेरै भएपछि समस्या भएको शर्मा बताउँछन् । मध्यपहाडी लोकमार्गले रुकुम पूर्व र पश्चिमको १ सय २३ किमि खण्ड ओगटेको छ । केही खण्डमा कालोपत्रेको काम भइसकेको छ ।

भिडियो हेर्नुहोस्- 

(फाईल भिडियो)

आयोजनाको काम रोकिएपछि स्थानीय निराश भएको मुसीकोट नगरपालिका–८ का बलबहादुर थापाले बताए । ‘भइसकेको विकास पनि पछि धकेलियो,’ उनले भने, ‘घर गएका मजदुर कहिले आउँछन् र कहिले काम सुरु हुन्छ भन्ने अन्योल छ ।’ लोकमार्गको अरू सबै खण्डमा ठेक्का लागे पनि मुसीकोट नगरपालिकाको सेरीगाउँदेखि हासिबाङसम्मको १२ किमि खण्डको ठेक्काको काम बाँकी छ । आयोजना कार्यालयका अनुसार टेन्डरको टुंगो लागे पनि सार्वजनिक गर्ने र सम्झौताको काम बाँकी रहेको हो ।-अगन्धर तिवारी,  प्रकाश बराल,  हरि गौतम, कान्तिपुरबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!