भाइसरको मौका छोप्दै यसरी भयो माक्स र अन्य बस्तुमा कालाबजारी : सरकार मुकर्शक (भिडियो सहित)

- March 22, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको कारण देखाउदै नेपालमा अत्याबश्यक बस्तुदेखि औषधी समेतमा कालाबजारी गरी मंहगोमा बिक्री हुदै आएको छ । ग्यास, चामल, तेललगायत औषधीजन्य बस्तुको समेतमा व्यापारीद्वारा कृत्रिम आभाबको सृजना गर्नेकार्यमा तीब्रता आएसंगै प्रशासनको निर्देशनमा सुरक्षाकर्मीको टोलीले छापामार्दै कालाबाजारी गर्नेलाई समेत पक्राउ समेत गर्न थालेको छ ।  काठमाडौंको चन्द्रगिरी नगरपालिकाको १० नम्बर वडाको एक घरमा लुकाई छिपाई ठूलो मात्रामा माक्स राखेको स्थानीय प्रसाशनले सुईको पाएपछि सोमबार सो घरमा छापा मा¥यो । । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित रहेको रोहित श्रेष्ठको घरमा गोदाम गरि बजार पठाउने तयारी गरि रहेको अबस्थामा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले छापामार्दा १७५ वटा बोरामा ६ लाख बढी मास्क फेला पारेको थियो । कोरोना भाईरसको मौका छोप्दै व्यापारीले कृत्रिम अभाब सृजना गराई अत्याधिक मुल्यमा बिक्री गर्ने तयारी गरेको सूचना पाएसंगै जिल्ला प्रशासशन कार्यालय काठमाडौंको निर्देशनमा बलम्बु प्रहरी प्रभागको एक टोलीले छापा मारि ६ लाख थान सर्जिकल मास्क बरामद गरेको प्रहरी निरिक्षक खेमराज राउतले बताए ।

लुकाई छिपाई राखेको माक्स सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २३ घर भएका ३४ वर्षीय सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने २७ वर्षीय सुवासलाई प्रहरीले सतुंगलमा रहेको आरडीजी सप्लायर्सबाट पक्राउ गरिएको प्रहरी निरिक्षक राउतले बताए । यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद गरिएको थियो । शनिबार यता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ । यसअघि प्रहरीले कपनको मिलन चोकबाट एक लाख ६८ हजार थान मास्कसहित ६ जनालाई पक्राउ गरेको थियो । कपनमा पोते पसल सन्चालन गर्दै आएका २६ वर्षीय अजिम बबस मिया र मिलनचोक प्लास्टिक सप्लायर्सका २४ वर्षीय सञ्जनकुमार रेग्मीलाई पनि पक्राउ गरेको छ । कपनबाट प्रहरीले बा ७ च ७२६३ नम्बरको गाडी, गाडी चालक र हेल्परलाई समेत नियन्त्रणमा लिएको थियो । डल्लु, कपन र सतुंगलमा मास्क लुकाएर राखेको सुचना पाएपछि सो स्थानमा छापा मारेको थियो ।
भाइरसको संक्रमणका वेला मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरीले अपरेशन चलाइरहेको छ । तर, बजारमा मास्कको चरम अभाव भइरहेका बेला प्रहरीले बरामद गरेको मास्कलाई सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको छ । चीनबाट आपूर्ति रोकिएको मौका छोप्दै माक्स व्यापारीहरुले कालाबजारी गरी कृत्रिम अभाब सृजना गर्दै आएका छन् । ४ रुपैयाँमा पाइने मास्कलाई ५० रुपैयाँभन्दा बढी मुल्यमा व्यापारीले बेच्न थालेपछि प्रहरीले सर्च अपरेसन चलाउदै आएको छ । पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइने तयारी गरिएको छ । गत शनिबार डल्लुबाट ७८ हजार माक्ससहित पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाएको छ । कानूनी प्रक्रिया कहिलेसम्म सकिन्छ भन्ने प्रमुख जिल्ला अधिकारीको निर्णयमा भर पर्छ । कालोबजारी सम्बन्धी कसूर हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीसँग रहेको छ । अनुसन्धानबाट यदि कृत्रिम अभाव सिर्जना गरेको पुष्टि भए एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुन सक्ने व्यवस्था रहेको छ । शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी–९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए । उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!