निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा १९ प्रतिशतले बढ्यो

- October 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप रकम घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप शून्य दशमलव चार प्रतिशतले घटेको हो ।

अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव चार प्रतिशतले नै घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

चालू आवको साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः सात दशमलव नौ प्रतिशत, ३२ दशमलव नौ प्रतिशत र ४८ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः सात दशमलव आठ प्रतिशत, ३४ दशमलव पाँच प्रतिशत र ४६ दशमलव चार प्रतिशत रहेको थियो ।

चालू आवको २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ दशमलव दुुई प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुुसार २०७५ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव नौ प्रतिशत रहेको थियो ।

चालू आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव पाँच प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १९ दशमलव दुुई प्रतिशतले बढेको छ ।

२०७६ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४ दशमलव एक प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३ दशमलव छ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ ।

२०७५ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ दशमलव छ प्रतिशत र १४ दशमलव छ प्रतिशत रहेको थियो । निजी क्षेत्रमा ऋण प्रवाह बढ्दा उत्पादन क्षेत्रमा योगदान बढ्दे अपेक्षा गरिन्छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा शून्य दशमलव दुुई प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा शून्य दशमलव सात प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा एक दशमलव आठ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा दुुई दशमलव तीन प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा पाँच दशमलव एक प्रतिशतले र हायर पर्चेज कर्जा एक दशमलव चार प्रतिशतले बढेको छ ।

यस अवधिमा ओभर ड्राफ्ट कर्जा एक दशमलव नौ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा शून्य दशमलव तीन प्रतिशतले तथा मार्जिन प्रकृति कर्जा एक दशमलव एक प्रतिशतले घटेको छ । (आर्थिक दैनिकबाट) ; साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!