सामाजिक कथा : मेरी बहिनी

- September 28, 2019 मा प्रकाशित

– सन्देश सुवेदी

अस्ति भर्खर मात्र हो जस्तो लाग्छ, सिर्सेनीको भञ्ज्याङ्गमा बहिनीले र मैले स्याँ स्याँ गर्दै दाउरा ओसारेको । हजुरको बिहा भए पछि त पछि लाग्ने भाउजू हुनुहुन्छ, अनि म चेलीलाई बिर्सने त होला नि भनेर प्यारी बहिनीले भनिरहँदा मैले दुई चड्कन लगाएको अहिले पनि आफ्नै गालामा दुखिरहेछ, मनमा पड्किरहेछ त्यति माया गर्ने बहिनीलाई मैले थप्पड हानेँ भनेर र पनि मैले मायाले सहन नसकेर उसलाई थप्पड हानेको थिएँ त्यतिबेला ।

ज्योति रुनु न हाँस्नु भएर मेरो अगाडि अगाडि हिँडिन र मैले आफूलाई धोइ पखाली गर्न पाइन बहिनीसँग सरी माग्न पनि पाइन । दाजु बहिनी भएकाले हामी मिल्यौँ हाँसो खुशी फेरि छायो र पनि त्यो थप्पडको बारेमा न मैले उक्काउन सकेँ न उनले नै मलाई ठाउँ दिइन, मनमा एउटा खिल पर्यो र त्यहीँ बिलायो झिक्न पाइन त्यही भएर बिझाउदो रहेछ कहिलेकाहीँ ।

बहिनीले भने झैँ मेरो पनि विवाह भयो त्यही पनि मागी विवाह । बिहे गर्ने बेला केटा केटी हेराहेर गर्ने भने हेराहेर देखादेख मात्र भयो अनि न मैले हुन्न भन्न सकेँ न हुन्छ नै, तैपनि मौन म समर्थन म भन्ने चिनीया उखान त्यहाँ सिद्ध भयो । मैले केटी हेर्न जाँदा बहिनीलाई पनि लगेको थिएँ ऊ पनि केही बोलिन म जस्तै भई त्यस पछि विवाह भयो झ्याईँ झ्याईँ पारेर । दिनहरू बित्दै गए घरमा आमाको बर्चश्वमा हमला हुँदै गयो आमाका दिनानुदिन अधिकारहरू कटौती हुँदै जाँदा पनि आमा केही बोल्नु हुन्नथ्यो बरु आफू बुहारी बनेर बुहारीलाई नै सासू बनाइदिनु हुन्थ्यो मतलब सानै छ भनेर उसलाई पनि असाध्यै माया गर्नु हुन्थ्यो ।

हाम्रो खानदानभन्दा ठूला खानदानबाट बहिनीको लागि हात माग्न आए, आमाले अमिलो मन बनाउँदै मान प्रसाद काकालाई अगाडि सार्नुभयो । आमाको मन छोरी बिहे गरेर दिनभन्दा पनि पहिला मैले छोरी दिएँ पनि भन्न नसकेर कति बोझिलो हुँदो रैछ भन्ने मैले अनुभूति गरें, अँझै म पनि त एउटै थालमा खाएर हुर्केको उसैको दाइ थिएँ । यो त झरनाबाट झर्ने पानीको जस्तो पीडा रहेछ जस्तो कि पानीलाई तल बजारिएर दुख्ने थाहा हुँदा हुँदै पनि आकाशबाट पातालमा बज्रिनु परे जस्तै हामी आमा छोरा त्यसै गरी बज्रिएका थियौँ ।

ज्योति त घरमा थिइन साथीको घरमा गएकी थिई, मैले केटा पक्षलाई कम से कम बहिनीको के बिचार छ त्यो त सोधौँ, उसका पनि कुरा होलानभन्दा पनि मान प्रसाद काकाले मेरो मुखमा बुजो कोचार्नुभयो अनि म पनि अवाक भएँ । मलाई यो पारा बोल्न नसके पनि कत्ति मन परेन, केटा पक्षका मान्छेसँग काकाले केके चोचोमोचो गर्नुभयो खास खुस गर्दै त्यति खास बुझिएन । कुरो चिना मिलाउने अनि दिन घर्याउने भन्ने रैछ सबै जना माइलाबा कहाँ गए, घरमा आमा र म मात्रै थियौँ त्यसै बेला बहिनीले दुई चुल्ठा कपालमा रातो रिवन हल्लाउँदै पिँढीमा आएर बसी लैनी पल्टेर आमाको नजिकै, आमा भित्ता फर्केर डाँको छोडेर रुनु भयो अनि म पनि सहन नसकेर बारीतिर हानिँएँ ।

सञ्जोगले त्यसै बेला ज्योतिकी भाउजू पनि माइत गएकीले उसलाई पनि सोध्न पाइएन, सबै खटन पटन मान प्रसाद काकाले मिलाउनु भएको थियो । बेहुलालाई दिने सुन, कपडाहरू अनि सासू अमाजुहरूलाई नन्दहरूलाई तथा परिवारका वल्ला पल्ला घरका आफन्तलाई कुटुम्बलाई केके गर्ने भनेर उनीहरूसँग बसेर काकाले सबै कुरा मिलाई सक्नुभएको थियो । उति सारो पैसा थिएन हामीसँग अनि आमाले इज्जत राखिदिनु पर्यो बरु तल्लो बारी हुर्याइदिउँला नसके भन्नु हुन्थ्यो ।

ज्योतिकी भाऊजु पनि आई अनि बिहको कुरो मलाई नसोधि गरिस भनेर घरभरी काकोहोलो मच्चाई अनि उस्का बालाई बोलाउन पठाई, झन थपिएर मान बहादुर काकाले मिलाउनु भएको खटन पटन सबै उल्टयाउने गरी आफै हालि मुहाली गर्न थाले व्यवस्थाहरू बिगार्न थाले । मलाई कत्ति पनि पचेन त्यो खटन पटन मेरै घरमा आएर हाम्रै बिरुद्धमा खनिएको देखेर तैपनि अन्तिमसम्म त सहेकै थियौँ । ससुरा भनाउँदाले घरबाट बिहा गर्न हुन्न खुरुक्क मन्दिरमा लगेर टिको लगाइदिने अनि पठाइदिने भन्न थाले ।

एकातिर आमा रुने अर्कोतिर बहिनी रुने तैपनि उनीहरूको ज्यादती बीस को उन्नाइस नहुने देखियो अनि आफ्नो इज्जतका खाँतिर पनि मैले बोल्नु पर्ने भयो । मैले पनि मेरो स्वाभिमानमा र हैसियतमा हमला भएको देखेर मुखै खोल्नु पर्यो । यो मेरो घर हो मैले आजसम्म केही भनेको छैन हजुरहरूलाई्र । हजुरहरूको सम्मानमा कुनै कमी हुन दिएको छैन तर मेरै घरमा आएर हजुरले हालीमुहाली गर्न मिल्दैन, यो मेरो घर हो यसमा हाम्रो कुरा चल्छ हजुरको कुरा आफ्नै घरमा चलाउनु होला भनेर के भनेको थिएँ बाऊ छोरीका अवतार देखिए अँझै ससुराबालाई देखाउँदै श्रीमतीले यो त मेरो पनि आधा हो भन्न पनि बाँकी राखिन ।

तर पनि मैले कुनै वास्ता गरिन आफ्नो कुरामा अडिग रहेँ । भोलिपल्ट बाउले छोरी च्यापेर घरतिर लागे मैले केही बोलिन । श्रीमतीलाई मैले भनेँ तिमीले आफ्नो र अर्को छुट्टाउन नसक्ने मोती बिन्दु भएको रहेछ, पहिले आफ्नो मनको आँखा खोलेर आउनु अनि बल्ल छर्लङ्ग हुनेछ । तिमीले जस्तो व्यवहार गरे पनि जस्तो अवतार देखाए पनि मैले तिमी प्रतिको धारणामा परिवर्तन ल्याएको छैन तर यसभन्दा पनि अगाडि बढेर आफ्नै परिवारको बारेमा नराम्रो सोच्यौ भने म र यो परिवार जति नराम्रो तिम्रो लागि कोही हुने छैन भनेँ त्यस पछि केही नबोली दुवै जना ओझेल परे ।

बहिनी त्यही दिन देखि रुँदा रुँदै आँखा ठूला ज्यान सानो हुँदै गएको थियो । न राम्रोसँग खाना खान्थी न राम्रोसँग बोलचाल गर्थी शून्यमा थिई ऊ । विवाहको दिनभन्दा ३ दिन अगाडि हामी दाजु बहिनी र आमा राती २ बजेसम्म बसेर होस पाउने बेला देखि आज सम्मका दुख सुखहरू बिसायौँ, बल्ल हामी तिनै जनाको मन हलुका भयो बल्ल विवाहको कुरालाई सबैले बाध्यताकै रुपमा भए पनि स्वीकार्यौँ । भाउजूको कुरालाई लिएर ऊ चिन्तित थिई, म जस्तै थिई, कसैले बज्र नै हान्न आए पनि हाँसेर स्वीकार्ने । त्यही दिन बहिनी एक्लै भाउजूको २ घण्टा परको माइती घर गएर स्थितिलाई उसैले सहज बनाई र भाउजू अनि सासूआमा विवाहका लागि आए । बैदिक रीति अनुसार विवाह भयो र बहिनी हामीसँगै खेलेको आँगनबाट बिदा भएर उस्को घर गई ।

समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ कहिले हँसाउँछ कहिले रुवाउँछ आँशु र हासो को सँगम पनि गराउँछ भन्ने गीत सम्झिरहन्थेँ म मन हुँडलिँदा र आफैले आफैलाई चित्त बुझाउँथेँ । पहिलो पटक दशैँमा मात्र आएकी थिई टीका लगाउन, दुरान फर्काउन पनि आउन भ्याइन । दुब्लाएको ज्यान अनि त्यसमा पनि छुट्टै पेट गाँसे जस्तो देखिने गरी दुई जिउकी भएकी थिई । आमालाई देख्ने बित्तिकै काखमा घोप्टो परेर अलल्िएर रुँदा मैले बहिनीको घरको निको चाला मानेको थिइन । श्रीमान श्रीमतीका रथका पाँग्रा एकै दरका नभएका हुन कि झैँ व्यवहार देखिएको थियो र पनि बहिनीले आफ्नो घर परिवारको बारेमा कसैको पनि नराम्रो भन्दिनथी । मैले ज्योतिका आँखामा आँखा पनि जुधाउन सक्दिनथें उसका वेदना आँखाभरी टिलपील गरिरहन्थे र म पनि आफ्नो दुख देखाएर बहिनीलाई अँझ दुखी बनाउन चाहन्नथेँ । मानिसलाई व्यवहारले टाढा बनाउँदो रहेछ र पनि मन चाहिँ बहिनीसँग झम्टेर पाखै हल्लाउने गरी कोकोहोलो मच्चाएर रुन मन लागेको थियो, के गर्नु म आफैलाई सम्हालिरहेको थिएँ ।

त्यसको ४ वर्ष पछि बल्ल बहिनी माइती आई साथमा भाञ्जो लिएर त्यति बेला म घरमा थिइन काममा अर्को ठाउँमा गएको थिएँ । एक हप्ता बस्ने भनेर आएकी ज्योति भोलिपल्ट बिहानै नगई नहुने भयो भनेर अमिलिएर हिँड्दा मनमा चिसो पसे पनि कसैलाई दोष नदिईकन हिँडेकी थिई । मैले उसलाई भञ्याङ्गको चौतारीसम्म छोड्न गएँ, आमा चाहिँ आँखा नझिम्क्याईकन जुठेल्नाको ऐठोमा बसेर हामी हिँडे तिरै हेरिरहनु भएको थियो पछ्यौरीको सप्कोले मुख छोपेर शायद रुन होला नदेख्ने गरी । पाँच वर्ष पहिला ऊ र म हिँड्दा उसका पाइलाले ठम ठम गर्दा मैले पनि हल्लेको महशुस गर्थे, त्यत्रो विश्वास थियो आफ्नो भूमि प्रति तर आज ऊ हिँडेको झारले पनि थाहा पाएन कि झैँ भएको थियो । त्यही बाटोले त्यही पाखाले अनि यिनै पदचापहरूले पनि बाटो बिर्से जस्तो भयो ।

ज्योति तिमीले र मैले हिँडेको खेलेको रन बन बाटो घाटो भञ्जाङ्ग चौतारी यिनै हुन, अहिले यिनै बिराना जस्ता भए । तिमी भने पनि नभने पनि म सबै कुरा बुझ्छु म तिम्रो मनलाई भित्रैबाट पढ्न सक्ने दाइ हो बहिनी पीडालाई यसरी नलुकाऊभन्दा ऊ थचक्क ढुँगामा बसेर बलिन्धारा खसेका आँसुलाई पनि रोक्न खोजेको नमानेर झरको यस्तो अनौठा दृश्य मैले अनुभव गरेँ र पनि घर नजा भन्न सकिन र उस्ले पनि मेरो मनसायमा सहमतिको कुनै आशय देखाइन । उतिबेला मैले एक शब्द बोल्दा उछिनेर दश शब्द बोल्ने मान्छे आज बाक्य त शब्दहरू पनि बल्ल बल्ल झर्दे थिए । बोल्दा फेरि आफ्नो दुखको कुनै कुरा फुस्किएला कि भन्ने डरले उसले कम कम बोलेकी भन्ने पनि म प्रष्ट थिएँ र पनि तत्काल कोट्याउन चाहिन ।

दाइ जानुस भो उहाँ आमाले हजुरको बाटो हेरिरहनु भएको होला, आमा आत्तिनु भएको होला जानुस भो भनेर मलाई फकाउँदै थिई । यस्तै हो दाइ मलाई पनि हजुरको काख छोडेर नौ डाँडा पारी जाने रहर त थिएन नि तर हाम्रो परम्परा रीतिथिति पनि मान्नै पर्यो । भाउजूसँग मिलेर बस्नु होला । आमाको भाउजूको अनि छोरीको हेरचाह गर्नु होला । अब त हामी सबैको भरोसा भनेकै हजुर हो भन्दै मेरो निहुरिएको चिउँडाले हातले उचालेर सोझो पारी दिएकी थिई । मैले उसको अनुहारमा हेर्नै सकिरहेको थिइन तैपनि हेरेँ बहिनीलाई उस्लाई बिदा गर्ने बेला अब कहिले होला उस्लाई देख्न पाउने दिन भनेर सम्हाले आफैलाई । जाने बेलामा भान्जाले मामा भनेर आमालाई चटक्कै छोडेर मेरा काखमा लुटुपुटु गर्दा बच्चाहरूलाई आमाभन्दा मामा प्यारो अनि मामाघर प्यारो हुन्छ भन्ने कुराको ताजा याद दिलाएको थियो ।

बहिनीलाई भञ्ज्याङ्गमा छोडेर आउँदा आमा घरमा हुनु हुन्थेन बाख्रा पनि थिएनन घरमा । म पनि गोरु फुकाएर चराउन लगेँ चरनतिर आमा पनि त्यहीँ हुनु हुँदो रहेछ, चौतारीमा यसै पल्टिनु भएको अनि बाख्राका पाठा आफ्नो माऊ आमा छोडेर आमाको काखमा आड लाएर निदाएका थिए । आमा उठ्नुभयो र पाठाका कान खेलाउँदै कस्तो दिन देख्न परो बाबु तँ र ज्योति जस्ता दाइ बहिनी छुट्टिएर कस्तामा कुटुम्ब जोडियो नानी भनेर पहिलो पटक बुहारीको दुखेसो मलाई घुमाएर सुनाउनु भयो । मैले के भयो र सोध्दा सिधै केही भन्नु भएन तैपनि फेरि मनमा चिसो भयो, लाग्यो मैले नै सधैँ यस्तो सहेर बस्नु भन्ने के छ भन्ने लाग्यो । तैपनि रिसाएर हैन सम्झाएर आमा ऊ र म बसेर सँझाएर भन्ने सोचेँ र हामी तीन जना खाना खाई वोरी अँगेनाको डिलमा बस्यौँ ।

तँलाई मैले बुहारी भने पनि छोरीभन्दा फरक व्यवहार गरेकी भए यी यही आगोमा भष्म हुम, मलाई तिमीहरूले अड्कलेको दिए पुग्छ, मलाई यसभन्दा केही चाहिँदैन अब म बुढि भएँ डाँडा माथिको घाम हो हेर । सबैलाई सबै कुरो पुगी सरी कहाँ आउँछ र त्यसैमा चित्त बुझाउनु पर्छ । हाँसी खुशी राजी भएर बस्न पर्छ, मेरो चिन्ता तो छोरी ज्योति अनि तिमीहरूको त हो अरु त मलाई केही चिन्ता छैन, हात खुट्टा चलुन्जेल तिमीहरूलाई दुख दिन्न, नसक्दाका घडीमा मेरा सास भेट्टाउने तिमीहरूले हो । म बुढिले भन्ने बेलामा केही बिराएँ भने नि आमा यसो नभन्नुस न भन म मानिहाल्छु नि तर बुहारी तिमी यसरी मसँग नरिसाऊ नानी ।

आमा यत्ति भन्दै हुनु हुन्थ्यो ऊ म के रिसाएँ तपाईँसँग भन्दै च्याट्ठिई अनि जुरुक्क उठेर उपल्लो तलामा गई लिस्नो चढेर अनि माथि गएर एऊटी मलाई देख्या छन जल्ले पनि मरी मरी काम गर्दा पनि अँझ चित्त नबुझेर मलाई घुमाएर भन्न पर्दैन बरु सिधै भने हुन्छ नि । तिमीहरू आमा छोरा भएर मलाई देखि नसहेका हैनौ ? बरु के गर्न मन लाछ सिधै भने हुन्छ नि, सारै भए के होला म माइत गइदिन्छु अनि तिमीहरूलाई हाइ सुख हुन्छ नि भन्दै हामीलाई नै सराप्दै थिई । आमा धरधरी रुनु भयो मैले सहन सकिन र आटि मै गएर उसलाई तल घिस्याएर आएँ र आमासँग माफ माग के भनिस भनेर हपारेँ पहिलो पटक । उस्ले माफ माग्न त के मलाई आमा छोराले मारे गुहार गुहार भन्न थाली झन गुहुमा हानेर मुख भरी छिटा जस्तै भयो ।

भोलि पल्ट बिहान घरमा भात पनि पाकेन धेरै बेरसम्म आमा आफैले खाना बनाउन थाल्नुभयो उस्ले छोरीलाई च्यापेर झोलामा कपडा कोचारेर माइत हिड्न घुर्की लगाई मैले केही पनि भनिन जे सुकै गरोस तर पनि आमा बुहारी यसो नगर बरु म नै घर छोडेर तल मन्दिरमा पाटीमा गएर बस्छु तँ जान पाउन्नस भन्दै हुनुहुन्थ्यो मैले आमा तपाई नकराउनुस यसलाई मन लागि गर्न दिनुहोस के के गर्दि रछे म पनि हेर्दै जान्छु । कुकुरलाई घिऊ नपचेपछि यस्तै हुन्छ आमा बस यत्ति हो कुरा अब भने । एक हप्तामा उस्का बा र काका लिएर फेरि घरमा आई र पनि म बोलिन कसैसँग पनि । त्यो दिन घरमा खाना पाकेन, उसका पाहुनाहरू अनि घरका सबै जना भोकै भयौँ तर पनि कसैलाई भोकले च्यापेन । भोलि पल्ट उस्का पाहुना पनि फर्किए र अनि ऊ आफै भान्सामा पसि र काम गर्न थाली ।

मैले बहिनीलाई धेरै खबर पठाएँ तर पनि ऊ आइन घरमा अनि एक दिन म आफै बहिनीको घरमा गएँ २ दिन लगाएर । बहिनीको घरमा व्यवस्था हाम्रोभन्दा राम्रो थियो । परिवारका सबैसँग भेट घाट भयो सतहमा हेर्दा त केही नराम्रो लागेन आदर सत्कार पनि राम्रै लाग्यो । तर बहिनीको अनुहारका रेखाहरू पटक्कै त्यसो भन्दैनथे जुन म मात्र बुझ्दथेँ तैपनि परिवारको खुशीको लागि ऊ असाध्यै लागि पर्दथि । समाजको अगाडि आफन्त को अगाडि आफ्नो परिवार अनि रीतिरिवाज एवँ परम्परालाई राम्रोसँग धानेकिरहिछ खुशी लाग्यो । मेरो ३ दिनको बहिनी को घरको बसाईभर भान्जा बाबु नै मेरो साथी भयो हरपल मलाई समय गएको पत्तै भएन । एक दिन सबै जना सुते पनि बहिनी र म धेरै बेरसम्म बस्यौँ दुख सुखका कुरा गर्यौँ, पहिलाभन्दा धेरै सहज लाग्यो ज्योति अनि मनमा अलि शितल त भयो तर जुन पारिवारिक तरलता हुनु पर्दथ्यो त्यो नभएकामा भने मन झरिले छोडेको दिनको घाम जस्तो उघारो भएको थिएन र पनि यसभन्दा अगाडि जान्न सक्ने सामर्थ्य ममा थिएन ।

फर्किने बेला भान्जा रोएर एक छिन बसेर ऊ निदाए पछि हिँड्न परेको अनि बहिनीको साथ छोडेर हिँड्न परेको त्यो नियाश्रो बाटो भरिरहिरह्यो सोच्दा सोच्दै आधा बाटो काटिसकेछु । घरमा आइपुग्दा साँझ पर्न आँटेको थियो, आमा चाहिँ बहिनीलाई छोड्न आएको चौतारीमा मलाई कुरेर बसिरहनु भएको थियो । बहिनी कस्ति छ अचेल उस्तै छ कि अल्लि भरिएकी छ बाबु भनेर सोधिहाल्नुभयो शायद आमाको घिडघिडो थियो बहिनीको मैले अहिले त एकदम राम्रो रहेछ आत्तीन पर्दैन घरमा फुर्सद नमिलेर आउन नपाएकिरहिछ अहिले उस्को घरमा गएर आएपछि मेरो पनि मन शितल भयो भनेपछि मेरो खुशी चालामाला देखेर आमा पनि धेरैनै बौरिनु भयो ।

मान बहादुर काकाको घरमा म त्यति जाँदैन थिएँ तर त्यो दिन काकीले बोलाउनु भयो उतै खाना खाएँ । बेलुका धेरै बेर बसियो र उहाँले पनि मेरी बुढीको बारेमा अनि आमाले पाएको दुखको बारेमा धेरैनै दुख बिसाउनु भयो मैले टाउको हल्लाउनुभन्दा बाहेक केही बाँकी थिएन उपाय मसँग । एक पटक धेरै पहिले आमाले काकीसँग ज्योतिले आमालाई भनेको कुरा काकीलाई सुनाउनु भएको रहेछ । ४ वर्ष पहिले बहिनी एक हप्ता बस्न भनेर पनि भोलिपल्टै गएको कारण चाहिँ बुढिले उस्ले सुन्दिन कि भनेर यसका साहान माहानलाई घिचाउन मै मात्रै छु र बरु आफ्नै घर मुण्टिए पनि हुन्थ्यो नि भनेको सुनेर बहिनी गएकी भन्ने थाहा पाएँ । मलाई आफै प्रति धिक्कार लाग्यो, आफ्नै दाइको घरमा बहिनीलाई यस्तो व्यवहारले मलाई काकीसँगै पनि लज्जित बनायो तर धेरै पहिलेको कुरालाई लिएर फेरि हुडल्न मन लागेन आफै भित्र पचाएर राखेँ । बहिनी किन आउन मानिन घरमा भन्ने कुरा थाहा भयो ।

बहिनी काम गर्ने भिषामा क्यानडा जाने भई र त्यस बेला भने घरमा आई अनि एक दिन मात्रै बसेर गई म पनि उसलाई पुर्याउन उसको घरैसम्म पुगेँ । फेरि उही गन्तव्यमा फर्केँ । एक दिन काकीले के कुरा भन्ने निहुँमा उसलाई सुनाई दिनु भएछ उसैमा निहुँ खोजेर उल्टै घरमा आएर तिमीहरू आमा छोरा भएर गाउँ भरि मेरो बेइज्जत गर्ने भन्दै बाझ्न थाली मलाई तिमीहरूसँग बस्नु छैन मेरो अँश चाहियो । यसरी बेइज्जत भएर म यहाँ बस्न सक्दिन भन्दै थिई । हामीले के गर्या छौँ र तँ किन यसो गर्छेस त्यो मलाई पनि थाहा छ, दिन्न अँश के गर्छेस गर, घरकी बुहारी भएर मिलाउलीभन्दा झन झन पो निहुँ खोज्छेस किन ? हामी मात्र होइन सबै गाउँले पनि चिन्छन के अन्न खानेहरूले बिचार गर तेरो खुशी मन लागि गर म केही भन्दिन भनेर आफ्नो कुरा टुँगाइदिएँ ।

त्यसको हप्ता दिनमा उसका माइतीहरू ८ – १० जना नै हुल बाँधेर आएर र मलाई र आमालाई केर कार पार्न थाले । अर्कि केटीतिर लागेर मेरी छोरिलाई यस्तो व्यवहार गरिस भन्न पनि पछि परेनन । मुखमा आएको तथानाम बोले, मलाई कुटुम्बको सीमाबाट बाहिर गएर बोल्न थालेपछि मैले पनि तिमीहरूलाई जसरी सजिलो हुन्छ त्यही गर भनिदिएँ । अब देखि मलाई तिमीहरूकी छोरीसँग नाम जोडेर बोल्ने तिमीहरूको कुनै हैसियत बाँकिरहेन अब । मेरो सदासयताको, सरल पनको फाइदा उठाएको तिमीहरूले ? मेरो कुरा सकियो भनेर काकाको घरतिर लागेँ सहिनसक्नु भएर ।

घरमा अब आमा र म मात्रै थियौँ । बहिनी बिदेश गएको पनि एक वर्ष बितिसकेछ कहिलेकाहीं फोन हुन्थ्यो बहिनीसँग तर बहिनीलाई चिठी पनि पठाउने निधो गरे त्यहीँ जाने मान्छे भएकाले पठाउन पनि सजिलो थियो ।

मेरी प्यारी बहिनी !

तिमीलाई शुभ आशीर्वाद अनि मिठो सँझना !

भगवानको कृपाले अहिलेसम्म आमा र म निका आराम छौँ । टाढा भए पनि तिम्रो सुखको खबरले देख्न नपाए पनि आमाको मन पनि शितल भएको छ । घरमा अहिले ६ महिना देखि आमा र म मात्र छौँ । भाउजूले अँश लिएर छुट्टिएर उतै माइत बसेकी छ यसमा मलाई कुनै दुख मनाऊ छैन तिमी यो कुरामा चित्त नदुखाउनु बहिनी ।

मैले र तिमीले जिन्दगी दुखजीलो गरेर यहाँसम्म ल्याएका छौँ । सानैमा तिमी र मैले बिताएको अतितको त्यो मिठा पलहरूले नै हामीलाई बचाएको छ । अहिले दुख परे पनि तिनै सुखका क्षणहरू सँझेर अहिले बाच्न तिमी र म दुवैलाई सजिलो भएको छ । मलाई तिमी टाढा छौ भन्ने कुरामा कुनै दुख मनाऊ छैन, तिमी खुशी छौ अचेल, शायद पिँजडाबाट छुटेको सुगा जस्तै खुल्ला छ तिम्रो जीवन बल्ल फक्रिएको छ तिम्रो उमँग । जीवनमा खुशी र सुखको पाटो एकदम थोरै हुन्छ ज्योति । हुन त समयले अनि समस्याले तिमीलाई धेरै कुरा सिकाएको छ कसरी आफूलाई अरुसँग जोगाउने भन्ने तर धेरै खुशी हुँदा हुने दुर्घटनाहरूसँग पनि तिमी सजग हुने छौ भन्ने मेरो आशय हो ।

मैले पनि आफ्नो जीवनलाई कसरी लैजाने भनेर सोच्दै छु, मेरो सँघर्ष अब बिराममा आएर थन्किएको छ । आमाको सेवा गर्नु र आमाको आँखामा आँशु आउन नदिनु नै मेरो ठूलो कर्तव्य हो बहिनी । समयले फेरेको जीवनको परिदृश्यलाई तिमीले स्थायी रुपमा खुशीमा बदल्न सक्नु, जस्ले तिम्रो खुशीलाई सधेँ भरी ताजा र दिगो राख्न सकोस । मनै देखि खुशी हुने पलहरू जीवनमा सितिमिति आउँदैनन, तर यस्ता पल अनि पात्रहरूलाई कहिले पनि टाढा नराख्नु बहिनी । आफ्नो जिन्दगीको डुब्न लागेको डुँगालाई सकुशल रुपमा पारी पुर्याउने माझिदाइ को गुन र त्यसको महत्वलाई नभुल्नु कहिले । हुन त तिमीले सबै कुरा मलाई भन्न बाँकी पनि होला तर यस पत्रको उत्तरमा आउने तिम्रो जवाफमा मैले केही थाहा पाउने अपेक्षा गरेको छु ।

तिम्रो दाजु सँसारको जुन सुकै कुनामा रहे पनि तिम्रै मन भित्र छ भनेर सम्झिनु, तिम्रो दाजुको माया तिम्रो लागि उर्जा बन्ने छ, तिम्रो सँझना मेरो पनि उर्जा हो बहिनी ।

तिम्रो सधैँ खुशी देख्न चाहने
उही तिम्रो दाजु

चिठी पठाएको ४ दिनमा मैले लेखेको चिठि पढ्दै बहिनीले रुन्चे स्वरमा फोन गरी मैले उसलाई सम्झाएँ । अनि आमासँग बहिनीलाई बोल्न दिएँ आमा पनि पहिले रुनु भयो पछि अनुहार उज्यालो पार्दे अन्तिममा त हाँस्दै फोन मलाई दिनु भयो । आमाको धेरै समय पछि अनुहारमा हाँसो देखेको थिएँ मैले । मेरो मन पनि आज हलुका भएको थियो । समय यसरी नै बित्दै थिए । त्यसको ठिक एक महिना पछि फणिन्द्र दाइको बा बिदेशबाट फर्किनु भयो । बहिनीले मलाई, आमालाई पैसा अनि सामानहरू पठाएकी रहिछ । आमा चाहिँ आँखा भरी आँशु टिलपील पार्नुभयो र फेरि सम्हालिनु भयो । त्यस पोको भित्र उस्ले पठाएको चिठी पनि थियो ।

मेरी प्यारी आमा र प्राण प्यारो दाजु !

दर्शन गरेँ हजुरहरूलाई !

म यहाँ ठिकै छु खुशी छु । मान्छेको जीवन भनेको यस्तै रहेछ दाजु । मलाई मेरो दुखलाई मेरो खुशीलाई नाप्न र जोख्न सक्ने भनेको हजुर हो र हजुरको यो स्थान मेरो सास रहेसम्म सुरक्षित रहिरहने छ । म त्यहाँ छँदा हजुरहरूको काखमा रहँदासम्म पाएको अपार खुशी दुध उम्लिएर पोखिए जस्तै भएकै हो र पनि अवस्था परिस्थितिले हजुरहरूलाई मैले भन्न सकिन । मैले आफ्नो दुख देखाएरभन्दा जति सक्दो लुकाएर हजुरहरूलाई सुख दिन सक्थे धेरथोर भए पनि । तर जन्म दिने आमा र हजुरले मेरो दुखको भाषा बुझ्नु हुन्थ्यो र पनि यस भित्रबाट पनि मैले हजुरहरूलाई मेरा जीवनमा केही दुखहरू लुकाएकै थिएँ ।

सबै कुरा अब भनेर फाइदा पनि छैन किनकि कमसे कम मैले ज – जसलाई आफ्नो जीवनमा जुन धारणा राख्दछु, हजुरहरूले पनि उस्तै धारणा राख्नुहोस भन्ने चाहँदिन अहिले पनि म । अरुले गलत गरे भनेर म पनि उनीहरू जस्तै हुनु पर्छ भन्ने चाहिँ छैन दाजु, त्यसैले साह्रै झिना मसिना कुरा भन्दिन मलाई माफ गर्नु होला । विवाह भन्ने कुरा मन मिलेपछि गर्ने कुरा रैछ तर मलाई त आफ्नो विवाह छिनेको पनि थाहा भएन । तैपनि हजुरहरूको खुशीको लागि मैले कुनै नाईँ नास्ती गरिन र आफ्नो दुख पनि लुकाएँ भरसक ।

पात्र अनुसारको व्यवहार नभएपछि जीवन निकै अपूरो हुँदो रैछ । मैले पिएका आँशुहरूको ब्यथा सँझेर त अहिले पनि उदेक लाग्छ शायद म अहिले यो अवस्थामा नआएको भए मैले आफ्नो जिन्दगी धिक्कार गर्नुभन्दा बाहेक केही बाँकिरहन्नथ्यो र पनि कसैसँग मेरो गुनासो अहिले पनि छैन । मेरो भाग्यमा त्यही दिनहरू भोग्नु थियो भोगेँ अहिले सजिलो ठाउँमा छु, कमसे कम मैले चाहेको गर्न सक्ने ठाउँमा छु । यसको मतलब मैले आफ्नै नैतिक र सामाजिक घेरा नाघ्ने भनेको होइन दाजु, म तपाईँकी बहिनी हुँ, मबाट हजुरहरूको प्रतिष्ठामा आँच आउने कुनै काम हुँदैन । सँसारको जुन कुनै ठाउँमा बसे पनि म आफ्नो धर्म रीति रीवाज एवँ अनुशासनलाई पालना गरेकी छु गर्ने छु ।

यो चाहिँ हो कि समयले मलाई नयाँ ठाउँमा ल्याएर उभ्याएको छ । हजुरले भने जस्तै मलाई गुन लगाउने माझिदाइको महत्वलाई मैले बिर्सेकी छैन । अब म पहिले जस्तो कम्जोर छैन । म अब केही गरेर देखाउँछु, मैले मेरो जीवनलाई नयाँ शिराबाट माथि लैजान्छु । खुशीहरूको माला नछिन्ने गरी फूलहरू उन्दै जाने छु यसरी उन्ने नयाँ फूल नयाँ खुशीको मालालाई जीवनको दर्शन अनि भरोसाको रुपमा उभ्याउने छु । अनि जुन दिन त्यो खुशीको माला गलामा पहिर्याउन सक्ने छु त्यो दिन मेरो लागि सम्पूर्ण हुने छ । बरु एक दिन एक छिन मात्र बाँच्न पाउँ त्यही दिनको पर्खाईमा छु दाजु ।

जीवनमा केही नयाँ काम गर्नु पर्यो भने म हजुरहरूलाई नसोधी केही गर्दिन । यो खुशी जोगाउनु नै मेरो जीवनको कर्तव्य पनि हो लक्ष्य पनि हो । साराँशमा यो खुशी के हो भनेर कुनै दिन म भनौँला । आमाको राम्रो ख्याल राख्नु भएकै छ भन्ने त मेरो कर्तव्य मात्रै हो । सक्नुहुन्छ भने भाउजूलाई मनाएर घरमा ल्याउनुस होइन भने अर्को जीवनसाथी खोजेर पनि जीवनलाई पूर्ण भएको हेर्न चाहन्छु म । म हरदम हजुरहरूको सेवामा तत्पर छु । अब घरको आँगन पोलेर दिएको चेली होइन म पहिलाकै ज्योति हुँ हजुरकी बहिनी हुँ । त्यो घरको हर सुख दुखमा मेरो हात र साथ रहन्छ । केही आवश्यक पर्यो भने पनि अहिले त म सक्ने ठाउँमा छु, हजुरलाई र जन्म दिने आमालाई सेवा गर्नुभन्दा मेरो ठूलो काम केही होइन ।

हजुरकै बहिनी

ज्योति

न्यूज अभियानका लागि मझेरीका साथमा । साभार

Facebook Comments

प्रतिक्रिया