प्रथम नमूना बाल नगरसभा सम्पन्न

- September 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ललितपुर,  भदौ २९ गते आइतवार वालदिवसको दिन थियो । पाटनढोकास्थित रातो वंगालाको हलमा पुग्दा वेग्नै र अनौठो जस्तो भान भइरहेको थियो । त्यहाँ ९० जनाभन्दा बढि वालवालिकाहरु उपस्थित थिए। अरु निम्त्याइएका अतिथिहरु पनि थिए ।

हल खचाखच थियो। वालदिवसको अवसरमा ललितपुर महानगरपालिकाले अयोजना गरेको प्रथम नमूना बाल नगरसभामा अत्यन्तै रोमाञ्चक थियो । वाल नगर प्रमुखको भूमिकामा थिए अनिश महर्जन, त्यस्तै युशा शाक्य वाल नगर उपप्रमुखको भूमिकामा थिइन्। प्रमुख प्रशाशकीय अधिकृतको भूमिकामा थिए शनिल डंगोल।

जब प्रथम नमूना बाल नगरसभाको उदघाटन सत्र सुरु भयो । वाल नगर प्रमुख अनिश महर्जनले सभापतित्वको आसन ग्रहण गर्दा सबैले ताली बनाएर खुसी प्रकट गरे ।

वाल नगर सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा निम्त्याइएकी बाग्लुङकी स्मृति बरालमगरले महिला वालवालिका तथा जेष्ठ नागरिक वालमन्त्रीको हैसियतमा आसन ग्रहण गरिन, प्रथम नमूना बाल नगरसभामाको उद्घाटन समेत सफलतापूर्वक गरिन ।

प्रथम नमूना बाल नगरसभामा वालवालिकाहरुले नगरसभाका सबै प्रक्रियाहरुलाई सहजतापूर्वक निर्वाह गरेर सबैलाई देखाए । प्रथम नमूना बाल नगरसभामा उपस्थित दर्शकदिर्घामा रहेका अतिथिहरु भन्दै थिए ‘अव बालवालिकहरु पनि सक्षम भैसके ।’

वाल दिवसको अवसर पारेर आयोजना भएको प्रथम नमूना बाल नगरसभाले सरोकारवालाहरुको ध्यान आकृष्ट गर्न २५ बुँदे मागपत्र समेत तयार गरेको छ ।

प्रथम नमूना बाल नगरसभाले तयार गरेको २५ बुँदे मागपत्र ललितपुर महानगर वाल क्लव सञ्जालका अध्यक्ष अनिश महर्जनले सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीलाई बुझाए ।

प्रथम नमूना बाल नगरसभामा ललितपुर महानगरपालिका सहित चार प्रदेशका पाँच वटा जिल्लाका ९० जना बालवालिकाहरु सहभागी थिए । ललितपुर महानगरपालिकाले आयोजना गरेको प्रथम नमूना बाल नगरसभाका लागि ललितपुर महानगर वाल क्लव सञ्जाल सहित विभिन्न १६ वटा संघसंस्थाहरुले सहयोग र समन्वय गरेका हुन् ।

प्रथम नमूना बाल नगरसभामा बालवालिकाहरुले नगरसभा सञ्चालनको अभ्यास, नीति तथा कार्यक्रमको छलफल र पारित गर्ने प्रक्रियाहरुको अभ्यास, बजेटमाथिको छलफल र पारित गर्ने प्रक्रियाको अभ्यास समेत गरेका थिए ।
बालबालिकालाई स्थानीय सरकारको संरचना, त्यहाँ हुने गतिविधिहरु र नगरसभाको प्रक्रियाबारे जानकारी दिन प्रथम नमूना बाल नगरसभा आयोजना गरिएको हो ।

प्रथम नमूना बाल नगरसभामा अतिथिको मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले भविश्यको कर्णधार वालवालिकाहरुलाई स्थानीय तहको नीति तथा योजनाहरु तर्जुमाका लागि सही मार्गनिर्देश गर्नका लागि फलदायी हुने वताए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘ यो देशको मुहार बदल्नका लागि अहिलेदेखि नै राम्रो शिक्षादिक्षाको प्रवन्ध गरेर उनीहरुलाई सही दिशामा डोर्याउन सके, सही अभ्यासमा लगाउन सके मात्रै देश समृद्ध हुन सक्छ ।’

त्यस्तै ललितपुर महानगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. २४ का अध्यक्ष दिनेश कार्कीले बालबालिकालाई स्थानीय तहको नीति निर्माण, योजना तर्जुमा र बजेट निर्माणका विषयमा पर्याप्त जानकारी दिँदा उनीहरुको ज्ञानको दायरा फराकिलो हुने वताए ।

‘यसको संचालनका बारेमा बालबालिका जानकार हुनुपर्छ । बालबालिकालाई यस विषयमा पर्याप्त जानकारी दिँदा उनीहरुको ज्ञानको दायरा फराकिलो हुन्छ । यसबाट उनीहरुको अध्ययनलाई समेत सहयोग पुग्दछ ।’साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!