चिनियाँ राष्ट्रपति सी चिनफिङ आउलान त ?

- September 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको चाँजोपाँजो मिलाउने समेत एजेन्डा बोकेर नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमण पुरा गरी मंगलबार स्वदेश फर्किए ।

काठमाडौंमा बसाइका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, विभिन्न मन्त्रीलाई भेटे ।

तर, स्रोतहरुका अनुसार सी चिनफिङको भ्रमणप्रति चिनियाँ पक्ष धेरै आशावादी देखिँदैन । कारण, स्वयं चीन वा राष्ट्रपति सी नभएर, नेपाली पक्ष नै रहेको सुत्रहरु बताउँछन् ।

चिनियाँ राष्ट्रपति आउने या नआउने भन्ने विषय कोट्याउन खोज्न चार वर्षअघिको अवस्था हेर्नुपर्छ । जुनबेला पनि अहिलेकै प्रधानमन्त्री ओली प्रधानमन्त्री थिए ।

चिनियाँ राष्ट्रपति सी पहिलो कार्यकालमा नेपाल आउने करिब निश्चित भइसकेको थियो । तर, रोक्नका लागि सत्ता राजनीतिका पासा उल्टाउने सम्मको खेल भयो । त्यो खेलका मतियार थिए, पुष्पकमल दाहाल प्रचण्ड ।

दाहालकै बलमा प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवासित सत्ताको लगनगाँठो दाहालले कसेर कुर्सीबाट हुत्याइदे । त्यसपछि दाहाल आफु बालुवाटार छिर्दै ओलीलाई बालकोट फर्काइदिए । सत्ता नै परिवर्तन भएपछि सीको भ्रमण रोकियो ।

चार बर्ष पहिलाको अवस्था र अहिलेको अवस्था हे¥यो भने करिव करिव उस्तै मान्न सकिन्छ । प्रधानमन्त्री ओली कति दिन बालुवाटारमा रहने भन्ने चावी अहिलेपनि प्रचण्डकै हातमा छ ।

प्रचण्डले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरुसँग मिलेर यसअघि नै पनि करिब पासा पल्टाइसकेका हुन् । अहिलेको अवस्था केहि फरक मात्रै हो ।

अहिले प्रचण्डसंग छुट्टै पार्टी छैन र हुने सम्भावना पनि छैन । पूर्वएमालेको व्यापक संगठन र संसदीय शक्तिलाई बिच्क्याएर नेता बन्न गाह्रो छ ।

त्यसैले ओलीले बाँडेका उधारा आश्वासनमा चित्त बुझाएर बस्नुपरेको छ । सी आउने नै भए भने यहाँको राजनीतिक समीकरणमा तत्काल उथलपुथल आउन गाह्रो छ ।

फेरि आगामी दुई महिनाकै बीचमा यो सब भइहाल्नु पर्नेछ । त्यसकारण दुई तिहाई बहुमतको सरकार ढाल्न हिजोजस्तो सजिलो छैन । तर, सीलाई नेपालमा स्वागत गर्ने जुन तहको इच्छाशक्ति राज्यस्तरमा हुनुपर्ने हो, त्यो देखिँन सकेको छैन ।

चिनियाँ रेल र तेलका एजेन्डामा चुनाव जित्ने, अहिले आएर भ्यु टावर बनाउन अनुदान माग्ने ओलीको राजनीतिक इमानदारीमै चिनियाँले शंका गरिरहेका छन् । यातायात पारवहनको समझदारी भयो, बल्लतल्ल प्रोटोकल पनि बन्यो ।

त्यसपछि त्यसको कार्यान्वयनमा पूरै बेवास्ता गरिएको छ, नेपाल पक्षबाट । त्यसैगरी रेल र तेलका कुरा करिब बासी भइसकेका छन् । यस्तो अवस्थामा चिनियाँ राष्ट्रपति नेपाल आएर के गर्ने ?

यो तहसम्मका कुरा कूटनीतिक वृत्तमा उठेका छन् । तर, सी कूटनीतिको मूल मर्म छिमेक प्रथम हो । वरिपरिका सारा छिमेकी मुलुक भ्रमण गरिसकेका उनले नेपाललाई बेवास्ता गरेजस्तो सन्देश गइरहेको छ ।

तिब्बतजस्तो संवेदनशील भूगोल जोडिएको देशलाई बेवास्ता गर्दा यहाँ अरु नै शक्तिराष्ट्रको क्रीडास्थल हुने जोखिम चिनियाँ रणनीतिकारले देखिरहेका छन् ।

इन्डोप्यासिफिक रणनीतिमार्फत अमेरिकाले खेलिरहेको खेलका निम्ति मैदान पूरै खाली छाडिदिएको सन्देश जान पनि भएन । सी आए भने उनी आउनुपर्ने मूलभूत कारण यही हो ।

चीनले नेपालबाट सुदीर्घ छाप छाड्ने विशाल योजना र दृढ प्रतिबद्धता खोजेको छ । ताकि, राष्ट्रपतिस्तरको भ्रमण नेपालमा सदा स्मरणीय रहोस् ।

जसरी भृकुटी र अरनिकोलाई लिएर चीनले नेपाललाई सम्झन्छ, आउँदा शताब्दीहरुमा नेपालले चीनलाई त्यसैगरी सम्झिने गरी केही विशेष चिनो छाड्ने चाहना सीको रहेको चिनियाँ मामिलाका जानकारहरुको भनाइ छ । तर, नेपाली नेता र कर्मचारीतन्त्रको उदासीनताका कारण चीनसँगको सम्बन्धमै खेलाँची गरिएको छ ।

सी आएनन् भने नेपालले सुरक्षा र अन्य व्यवस्थापन गर्न सकेन भन्ने सन्देश जानेछ । आगामी कयौँ वर्षसम्म नेपालमा उच्चस्तरीय भ्रमण हुने छैन ।

चीनबाट मात्र होइन, अन्य मुलुकका उच्चस्तरका भ्रमण हुन मुस्किल पर्नेछ । यसका लागि सम्पूर्ण दोषभागी अहिलेको राजनीतिक र प्रशासनिक नेतृत्व हुनेछ । अभियान टाइम्सका साथमा ; साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!