सायद म अर्को वर्ष सन्यास लिन्छु : रोनाल्डो

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अर्को वर्ष सन्यास लिन सक्ने बताएका छन् । मंगलबार टिभीआईसँगको अन्तर्वार्ताका क्रममा इटालियन क्लब युभेन्टसका स्टार रोनाल्डोले अर्को वर्षमा सन्यास लिन सक्ने बताएका हुन् ।

उनले आफू अर्को वर्ष सन्यास लिन सक्ने वा ४०–४१ वर्षमा सन्यास लिने बताए । अहिले उनी ३४ वर्षका भए । स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन च्याम्पियन क्लब युभेन्टस आएका उनी एक सफल खेलाडी हुन् । उनले आफ्नो राष्ट्र पोर्चुगललाई २ वटा ट्रफी दिलाएका छन् भने पाँच पटक च्याम्पियन्स लिग जितेका छन् । पाँच पटक बालोन डी‘ओरको अवार्ड जितेका उनले युभेन्टस आएयता क्लबलाई दुई वटा उपाधि दिलाइसकेका छन् ।

युभेन्टसबाट उनले ४३ खेलबाट २८ गोल गर्दै सिरी ए र सुपरकोपा इटालियाको उपाधि दिलाएका छन् । उनै रोनाल्डोले अब आउँदो वर्ष नै सन्यास लिने बताएका हुन् । मंगलबार टिभी आईसँग अन्तर्वार्ता दिने क्रममा रोनाल्डोले भने, ‘सायद, म अर्को वर्ष सन्यास लिन्छु । तर, यो निश्चित छैन । म ४० देखि ४१ वर्षसम्म पनि खेल्न सक्छु ।’

अघिल्लो वर्ष मात्र पोर्चुगललाई युइएफए नेशन्स लिगको उपाधि दिलाएका उनले आफूले फुटबलबाट आनन्द लिइरहेको पनि बताए । उनले भने, ‘मलाई थाहा छैन, मैले के भनिरहेको छु तर मैले पूर्णरुपमा आनन्द उठाइरहेको छु । मलाई यो आनन्दपनमा निरन्तरता दिनु छ, अझै आनन्द लिनु छ ।’

रोनाल्डो सबैभन्दा धेरै च्याम्पियन्स लिगको उपाधि जित्ने खेलाडी हुन् । उनले रियलबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् भने इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट १ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै उनी तीन फरक देशबाट उपाधि जित्ने खेलाडी पनि हुन् ।

उनले इंग्ल्याण्ड छँदा तीन वटा प्रिमियर लिगको उपाधि जितेका छन् भने स्पेन आएर २ वटा ला लिगाको उपाधि उचालेका छन् । यस्तै इटाली आएर सिरी ए को उपाधि जितेका छन् । उनले आफूभन्दा धेरै गोल गर्ने खेलाडी नभएको बताउँदै भनेका छन्, ‘मभन्दा धेरै गोल गर्ने रेकर्ड राख्ने खेलाडी अरु कोही छन् ? मलाई लाग्दैनन् कि मेरो भन्दा धेरै कीर्तिमान रच्ने कोही खेलाडी होलान् ।’साभार।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!