पुडासैनीले रेर्कड गरेको भिडियो उनको परिवारबाटै प्राप्त भएको पत्रकार श्रेष्ठको दाबी

- August 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले रेर्कड गरेको भिडियो उनको परिवारबाटै प्राप्त भएको बताएका छन् ।

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार श्रेष्ठले पत्रकार पुडासैनीले रेर्कड गरिएको भिडियो उनकै परिवारले आफ्नै कार्यालयमा आएर दिएको बताएका हुन् ।

सामाजिक सञ्जालमा भिडियो एडिट भएको र किशोर श्रेष्ठसम्म कसरी पुग्यो भन्दै प्रश्न उठेपछि उनले त्यसको वास्तविकताका बारेमा बताएका हुन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेख्दै आफु समक्ष भिडियो आइपुगेदेखि नेपाल आजमा प्रसारण भएको अवस्थाका बारेमा बेलिबिस्तार लगाएका छन् । पत्रकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धान सुस्त देखिएजस्तो लागेपछि Mountain TV का सम्वादददाता रामेश्वर सुवेदीकै सामु प्रहरीबाट Dying Declaration कपि गरी लगिसकेका परिवारका सदस्यहरु घटनाको सातौं दिन आइतबार साँझ मेरो कार्यालयमा आएर शालिकरामको मरणअघिका दुई Video Clip Share it मार्फत मेरो मोबाइलमा ट्रान्स्फर गर्दै भन्नुभयो, दाइ, तपाईं संकटकालमा पनि नडग्मगाएको मान्छे, यसको आधारमा समाचार बनाएर खबरदारी गरिदिन पर्यो ।

हामीले त्यसरी प्राप्त 8:27 र 4:57 मिनेटका छुट्टाछुट्टै ती क्लिप्सका केही अंश उल्लेख गर्दै बुधबारको दिन पत्रकारले मर्दामर्दै खोलेको पोल, शीर्षकअन्तर्गत जनआस्थामा समाचार प्रकाशन गर्यौ ।

मेरा स्तम्भकार मित्र संकेत कोइराला ‘नेपाल आज’ मा पनि सम्लग्न भएको र उहाँहरुसमेतले पत्रिकाबाट उक्त खबर धेरैवटा अनलाइनले साभार गरिसकेको हुँदा हामीले पनि पोस्ट गर्न पाँऊ न भनी आग्रह गर्नुभए बमोजिम ती Video सार्वजनिक रूपमा उपलब्ध गराइएको हो ।

संसारभरका पत्रकारको पहिलो कर्तव्य प्राप्त प्रमाणित सामग्री अरु कसैलेभन्दा पहिले आफ्ना दर्शक र श्रोतासामु प्रस्तुत गर्नु हुने गर्दछ ।

त्यही कर्तव्य पालना मात्र हामीबाट भएको हो जहाँसम्म सामग्री प्राप्तिको सवाल छ,एउटा पत्रकारले सबैको चासो रहेको video फेला पारेर जनता बिच ल्याउँदा किन, कसरी भन्दै आशंकाको पहाड खडा गर्नु आश्चर्यको कुरा हो ।

यस बिच केही मित्रले वास्तविकतै नबुझी, आफू खुसी काल्पनिक कथा छापी स्वार्थसिद्ध गर्न र परिस्थितिलाई अर्कै दिशातर्फ मोड्न चाहेको देखियो । उक्त Video को कन्टेन्टबारे हाम्रो भन्नु केही छैन । सरोकारवाला निकायले नै अनुसन्धानबाट खुट्याउलान् ।

हाम्रो भनाइ त यति मात्रै हो कि यस प्रकरणमा विश्वभरका एकसे एक IT विज्ञहरुलाई झिकाएर त्यति समयभन्दा बढीको video clip छ भने रिकभर या प्रमाणित गरेर देखाए हुन्छ ।

जब कूल १३ मिनेट २४ सेकेण्डभन्दा लामो video नै खिचिएको छैन भने Edit गरेको या कसैलाई हुने, कसैलाई नहुने गरी प्रकाशन या प्रसारण गरिएको प्रश्नै उठ्दैन । घामजस्तै छर्लङ्ग वास्तविकता यही हो र यही मात्रै हो । यस प्रकरणमा कोही कसैलाई अनावश्यक मुच्छ्ने या विषयान्तर गर्ने जरुरतै छैन ।

हामी जसरी यस मामिलामा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको निर्दोषिता प्रमाणित होस् भन्ने चाहन्छौं । त्यसरी नै श्रमजीवी पत्रकार शालिकराम पुडासैनीले समेत अकाल मरेर पनि अन्याय भोग्न नपरोस् भन्ने ठान्दछौँ ।

हामीले अफिसियल रुपमै रविजीलाई पोहोर पनि विदेशी नागरिकता र राहदानी त्यागेर नेपाली बनी आफ्नै देशको एक असल Tax Payer का हैसियतले कानूनी रुपमै पत्रकारिता थाल्न विनम्र आग्रह गरेका video clip हरु youtube मा सर्च गर्दा पाउन सक्नुहुन्छ ।

न हाम्रो पुरानो चिनाजानी, न बिट एउटै, न एकार्काको प्रतिस्पर्धी, न त कुनै दुश्मनी नै । सम्बन्ध शत्रुतापूर्ण हुनेले कहिल्यै पनि आउनोस् । मिलिजुली देश र जनताको हित अनुकूल पत्रकारिता गरौं भन्दै यसखाले सुझाव दिँदैन ।

३३ बर्षको पत्रकारिता जीवनमा हामीले थुप्रै आरोह-अवरोह झेलेका छौँ र सम्पूर्ण सञ्चारकर्मीलगायत सबै सबै देशवासीप्रति पुनः यो पनि विनम्र आग्रह गर्दछौं कि अनाहक कोही, कसैमाथि, कहिल्यै पुस्ट्याइँ बिनाका आरोप नलगाऊँ । सस्तो आरोपले तत्काललाई TRP त बढाउला तर त्यसले इमानको स्खलन र सत्यको हत्या गराइरहेको हुन्छ ।

हाम्रो पेशागत कर्म र धर्मबारे केही भ्रम भए या लेख्न मन लागे सिधै सम्पर्क गर्दा हुन्छ । सक्दो जानकारी दिन हर्दम तयार छौँ । हाम्रा कुनै पनि गतिविधि अपारदर्शी छैनन् । अनि हामीले झेलेको भुक्तमान र लगाइएका झूठ आरोपहरु तथ्यको कसीमा लल्याक लुलुक गलेका उदाहरण निकट विगतमै छन् ।

गल्ति नगर्दासम्म कसैले आत्तिनु पर्दैन भन्ने कुराका हामी आफै भुक्तभोगी हौं । र, हामीले कानूनी प्रक्रियाबाटै आफूमाथिका समुच्च आरोपको न्यायिक निरुपण गरेका छौँ । पुनश्च: video प्रकरणको वास्तविकतालाई आफ्नो निहित स्वार्थबस् तोडमरोड नगर्न र हाम्रो पेशागत आचरण तथा तपाईं हामी आफ्नै लेखनप्रति जनविश्वासको असामयिक अवसान हुन नदिन हार्दिक अनुरोध गर्दछौँ । वस्तुनिष्ठ आलोचना र सिर्जनात्मक सुझावको सधैं सम्मान गर्ने नै छौं ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!