महोत्तरीमा पाँच दिनपछि घाम

- July 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बर्दिवास, पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ । गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो ।

आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझंै आक्रान्त छन् । जिल्लाका गाउँ÷नगर बस्ती वर्षा र बाढीको पानीले अझै डुबेका छन् । पछिल्लोपटक पाँच दिनको अविरल वर्षासँगैको बाढीले जिल्लाका १५ वटै स्थानीयतहका गाउँ÷नगर बस्तीका गरी ४० हजार व्यक्ति प्रभावित भएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

जिल्लामा यसपटक बाढीले बगाएर बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठा बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले पूर्व–पश्चिम राजमार्गको भब्सीपुल बगाएपछि अझै सो ठाउँमा यातायात सञ्चालन हुनसकेको छैन् । वर्षा र बाढीले धेरै नोक्सान सडक, पुल–पुलेसा र निर्माणाधीन योजनामा पु¥याएको छ । यसबाहेक सयौं बिघा उप्जाउ जग्गा बाढीले कटान गरेको छ ।  

धेरै दिनपछिको वर्षाले पानी पर्याप्त भए पनि खेत खनजोत गर्न खेतमा जमेको बाढी पानीले अप्ठ्यारो परेको छ । अघिल्लो मध्य जेठताका राखिएको धानको ब्याड खडेरीले सकेपछि राखिएको ब्याडको बीउ अझै रोप्ने बेला पनि नभएको किसानले बताएका छन् । किसानलाई अहिले धेरै सकस घरपालुवा पशु बस्तुबाट भएको छ । चरणक्षेत्र पानीले डम्म भरिएपछि बस्तु डुलाउने ठाउँ नभएको र भूइँ घाँस पनि पानीले छोपिएकाले आहारा जुटाउन सकस भएको किसान बताउँछन् ।

पाँच दिनपछि घाम झुल्किदा अब राम्ररी काम गर्न पाइने आशा किसानको छ । तर, आकासमा बादल अझै मडारिन रहेको देखिँदा भने बाढीको त्रासदी मेटिन नसकेको सर्वसाधारण बताउँछन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!