चेपुवामा प्रचण्ड !

- July 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ, नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको निधनपछि तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सार्वजनिक रूपमै शान्ति प्रक्रिया र सहमतिको राजनीतिमा ‘गिरिजाबाबु’को उत्तराधिकारीको संज्ञा दिएका थिए ।

तर शान्ति प्रक्रिया र कोइरालाको निधनयता निरन्तर सत्ता राजनीतिको ‘किङ मेकर’ मानिँदै आएका, हाल नेकपाका दोस्रो दर्जाका अध्यक्ष प्रचण्डको राजनीति केही समययता ‘सेप’मा पर्दै गएको छ । नेपाली कांग्रेससँगको सहकार्य तोड्दै तत्कालीन एमालेसँग मिलेर निर्वाचनमा फड्को मारेका प्रचण्डको सत्ता केन्द्रित महत्त्वकाङ्क्षा यतिबेला नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको सत्तालिप्सासँग ठोक्किएको छ । र यो टकरावको स्थितिले प्रचण्डको राजनीतिक यात्रा थप जटिल मोडमा पु¥याएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

कांग्रेसलाई धोका दिँदै अघि बढेका प्रचण्डले यतिबेला त्यही राजनीतिक पलायनको प्रतिफल भोगिरहेको, सत्तालिप्साको हुटहुटीले हतास मनस्थितिमा पुगेको केहीको तर्क छ भने केहीले काङ्ग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको वातावरण बनाउन नसकेर प्रचण्ड धोका दिन अग्रसर भएको टिप्पणी पनि गरेका छन् ।

एक समय ‘भावी राष्ट्रपति’को बैशाखी टेकेर प्रधानमन्त्रीको कुर्सीसम्म पुगेका प्रचण्ड यसबेला ‘भावी प्रधानमन्त्री’का रूपमा प्रचारित छन् । तर सत्ता र शक्तिमा सकेसम्म टिकिरहन चाहने नेकपाका एक नम्बर अध्यक्ष केपी शर्मा ओलीको महत्त्वाकाङ्क्षा, मनस्थिति र परिस्थिति विद्यमान रहुञ्जेल प्रचण्ड प्रधानमन्त्री र अध्यक्ष दुवै नपाउने अवस्था देखिएपछि प्रचण्ड ओलीको जालमा नराम्ररी फसेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

‘प्रचण्ड प्रधानमन्त्री हुन लाग्यो भनेर चर्चा भइरहेको छ तर यसरी धेर चर्चा ग¥यो भने झन् हुने कुरा पनि फुस्किन सक्छ,’ चितवनमा हालै आयोजित एक कार्यक्रममा प्रचण्डद्वारा व्यक्त यी भनाइले उनको मनमा विकसित हुँदै गरेको परिस्थितिजन्य हतास मनस्थिति सङ्केत गर्छ । प्रचण्डले चितवनमा आफूनिकट केही व्यक्तिहरूसँग पार्टी एकता हुँदाको सहमति कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ओलीले सरकारको नेतृत्व लिने तथा प्रचण्डले पार्टीको नेतृत्व सम्हाल्ने सहमति भएको थियो तर ओली तत्काल प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछोड्ने पक्षमा देखिएका छन् । तत्कालका लागि प्रचण्डले दोस्रो तहको अध्यक्षमै चित्त बुझाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

यस्तो परिस्थितिमा प्रचण्ड यतिबेला न घरतिरको न वनतिरको अवस्थामा रहेको राजनीतिक विश्लेषक डम्मर खतिवडा बताउँछन् । ‘प्रचण्ड पथ बनाएर क्रान्तिकारी शासन स्थापित गर्ने उनको विचार थियो, त्यो सिद्धियो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचानमा आधारित सङ्घीयता भन्ने एजेन्डा थियो, त्यो पनि सकियो । एमालेमा विलय भएपछि माओवादी पार्टी सङ्गठन पनि सकियो,’ खतिवडाले प्रचण्डको ओरालिँदो राजनीतिक यात्राको क्रम जोड्दै भने, ‘विचार, एजेन्डा र सङ्गठन सकिए पनि प्रचण्डको हातमा धेरथोर राजनीतिक पावर बाँकी छ । तर त्यो ओलीको स्वास्थ्यमा भर परेको छ ।’

प्रचण्डको अबको राजनीतिक यात्राको धेरै समय ओलीको स्याहार गर्दै बित्ने टिप्पणीसहित उनले भने, ‘प्रचण्डको बाँकी राजनीतिक यात्रामा एक किसिमको राजनीतिक गतिरोध देखिएको छ, जसको निकास समय क्रममा पूर्वएमालेवालाहरूको धारणा कसरी बन्छ, त्यसमा निर्भर हुन्छ ।’

प्रचण्डलाई राजनीतिक रूपमा मात्र होइन व्यक्तिगत रूपमा पनि लामो समयदेखि नियालिरहेका डा. शोभाकर पराजुली प्रधानमन्त्रीबाट हटेसँगै प्रचण्डको राजनीतिक यात्रा पनि ओरालो लाग्न सुरु भएको बताउँछन् । उनले प्रचण्ड यतिबेला आफ्नो राजनीतिक जीवन सुरक्षित नहोला कि भन्ने पिरलोले हतास मनस्थिति र आत्तिएको अवस्थामा रहेको टिप्पणी गरे ।

भावी जीवन सुरक्षित होस् भन्ने हेतुले उनले यतिबेला सम्पूर्ण शक्ति लगानी गरिरहेको उल्लेख गर्दै डा. पराजुलीले भने, ‘उनी काङ्ग्रेससँग मिल्नुको कारण बाहिरी देशमा जाँदा कसैले आफूलाई हत्यारा नभनोस् भनेर फेस सेभिङ गर्नुथियो । त्यसमा उनी सफल भए पनि काङ्ग्रेसलाई प्रयोग गर्नु र धोका दिनु एउटा राजनीतिक भूल थियो भन्ने अनुभव प्रचण्डलाई एक न एक दिन अवश्य हुनेछ ।’

पत्रकार डा. सुरेश आचार्यका अनुसार २०६३ यता संयोगवश नेपाली राजनीतिको मियो प्रचण्डकै वरिपरि घुमिरहेको छ । तर यो क्रेज पछिल्लो समय बिस्तारै घट्दै गएको छ । सत्ता राजनीतिको स्वाद चाखेदेखि सत्ताबाहिर बस्न नचाहने प्रवृत्तिका प्रचण्डले काङ्ग्रेसलाई धोका दिनु बाध्यता भएको बताउँछन् आचार्य । एकातिर सत्ता साझेदारी मात्र लामो समयसम्म गर्न नसक्नु, काङ्ग्रेससँग पार्टी एकीकरण गर्ने परिस्थिति नहुनु, अर्कोतिर काङ्ग्रेस नेतृत्व शेरबहादुर देउवाले प्रचण्डको महत्त्वाकाङ्क्षा र युज एन्ड थ्रो गर्ने प्रवृत्ति बुझ्न नसक्नु धोका लिनेदिने परिस्थिति बनेको आचार्यको भनाइ छ ।

त्यसयता पावर पोलटिक्समा प्रचण्ड निरन्तर पछाडिपरेको टिप्पणी गर्दै आचार्यले भने, ‘धोकापछि जारी सिलसिलाको उत्कर्षमा यतिबेला पार्टी अध्यक्षको पावर एक्ससाइज गर्न नपाएपछि प्रचण्डमा अभूतपूर्व छटपटी देखिएको छ । ओलीको आचरणले त्रसित प्रचण्ड ओलीबाट सहमतिमा धोका पाइने आशङ्काले निकै छटपटिएको देखिन थालेका छन् ।’

कुनै समय भित्ते राष्ट्रपतिमा सीमित हुन पुगेका प्रचण्ड राजनीतिक जीवनमा असफल हुँदाहुँदै पनि चर्चित हुन सफल व्यक्ति हुन् । तर प्रचण्डको चर्चा पछिल्लो समय अलि ओझेलमा परेको आचार्यको टिप्पणी छ । ‘सत्तामा रहिराख्ने जुन महत्त्वाकाङ्क्षा हिजो गिरिजाप्रसादमा थियो आज ओलीमा त्योभन्दा दोब्बर देखिएको छ,’ आचार्यले भने, ‘यसले प्रचण्डको चर्चा ओझेलमा मात्र पारेको छैन, सत्ताप्राप्तिको छटपटी अझ बढाएको छ ।’

मौजुदा नेकपामा प्रचण्डको राजनीतिक भविष्य अनिश्चित देख्छिन् राजनीतिकर्मी लक्ष्मी खतिवडा । ओलीको अवसान वा बहिर्गमनपछि हालका ‘सेकेन्ड म्यान’ प्रचण्डको स्वामित्व आफैँ नेतृत्वको होडमा रहेको युवापुस्तालाई स्वीकार्य नहोला भन्ने उनको तर्क छ । ‘यसबीचमा ओलीलाई तलमाथि केही भयो भने प्रचण्डलाई सहज नेतृत्व दिन चाहने मान्छे नेकपामा निकै कम छन्,’ खतिवडाले भनिन्, ‘यतिबेला प्रचण्डको भविष्य ओलीको निगाहमा निर्भर छ । ओलीले जीवनकालमै सहज निकास दिए भने प्रचण्ड पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक होलान् पनि तर मौजुदा परिस्थितिमा यो सम्भावना अत्यन्त न्यून छ ।’

ओलीको कार्यशैलीका जानकारहरूका अनुसार प्रचण्डका लागि आउँदा दिन झन् कठिन हुने पक्का छ । उनी यतिबेला न अघि जानु न पछि फर्किनुको चेपुवामा परेका छन् । उनी न पार्टी फुटाउन सक्ने स्थितिमा छन्, न शक्ति हत्याउन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!