बाँकेमा मोहियानी हक्सम्बन्धी निवेदनको टुङ्गो लगाउन बाँकी

- July 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपालगञ्ज, बाँके जिल्लामा अहिलेसम्म परेको ११ हजारभन्दा बढी जग्गाको सम्पूर्ण खाले मोहियानी हक दावी निवेदनमध्ये करिब आठ हजार बढीको फछ्र्योट भइसकेको छ ।

नेपालगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालयका अनुसार अब झण्डै तीन हजार मोहीसम्बन्धी निवेदनको टुङ्गो लगाउन मात्र बाँकी छ ।

कार्यालयले मोही छुट्याउन २०७४ भदौमा आह्वान गरेको एक वर्षे समयसीमा २०७५ भदौ ४ गते नै सकिएको थियो । त्यस अवधिमा परेको निवेदनमाथि सरोकारवाला अन्य कार्यालयसँग समन्वय गरी यस वर्षको भदौ ५ गतेभित्र सबै प्रक्रिया टुङ्ग्याइसक्नु पर्ने कानूनी प्रावधान छ ।

“हामीले सरोकारवाला कार्यालय र कानून व्यवसायीसँग समन्वय गरेर मोहीको प्रमाण सङ्कलन गर्ने प्रक्रिया शुरु गरिसकेका छौँ”, कार्यालय प्रमुख प्रेमबहादुर दौल्यालको भनाइ छ ।

कार्यालयको प्रक्रिया बुझेका मोहीवाललाई मोही छुट्याउन सजिलो भएपनि सरकारी कामको प्रक्रिया नजानेका मोहीवाललाई अप्ठ्यारो परिरहेको छ ।

जग्गाको कागजात मिलाउनु पर्ने झन्झटिलो प्रक्रिया, बिचौलियाको चलखेल, जग्गाधनीको आलटाल र दोहोरो निवेदन लगायतका कारणले मोहीवालहरु समस्यामा परेको मोहीयानी हक दावी गर्ने बाँके खजुरा गाउँपालिका—७  गोनहनाका राजकिशोर मिश्र बताउनुहुन्छ ।

विसं २०२१ मा लागू भएको भूमिसुधार ऐनअनुसार कसैको जग्गामा कुनै शर्तमा किसानले कमाइ गर्दै आएको छ भने मोहीयानी हक लाग्छ । जसलाई जमीनमाथिको मोही हक भनिन्छ । मोही जग्गामा जमिन्दार र मोही किसानको हक बराबर लाग्ने व्यवस्था ऐनमा छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!