हुन्डाईको अवैध धन्दामा सरकारले गरेन अनुसन्धान

- May 25, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भारतमा खतराको सूचीमा रहेका गाडी नेपालमा खुलेआम बिक्री
रोशन कार्की

काठमाडमौं । नेपालको कानुनलाई बेवास्ता गर्दै भारतलगायत तेस्रो मुलुकबाट सामान आयात गरी नेपालमा विना परीक्षण बिक्रीवितरण हुँदै आएको छ । आयातित वस्तुको गुणस्तरीयता सम्बन्धित निकायबाट चेकजाँच गरेर नेपाल भित्रिनुपर्ने सामानहरु विना जाँच नेपाल ल्याई अत्यधिक महंगोमा बिक्री हुँदा पनि सरकारले कुनै चासो नदिएको मौका छोप्दै व्यापारीहरुले अवैध धन्दालाई तीव्रता दिँदै आएको पाइएको छ । पछिल्लो समयमा भारतमा खतराको सूचीमा परेको हलुका सवारीसाधनलाई नेपालमा विना चेकजाँच भित्र्याउँदै अत्यधिक महंगोमा बिक्री गरेको पाइएको छ । सो अवैध कार्यमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नामको कम्पनी संलग्न रहेको कम्पनीमा कार्यरत केही कर्मचारीले जानकारी दिएका छन् भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ।

नाम गोप्य राख्ने शर्तमा ती कर्मचारीले भनेका छन्, ‘भारत सरकारले विद्यमान मापदण्डविपरीतका गाडी उत्पादन गरेर आम उपभोक्ताको सुरक्षामाथि खेलबाड गरेको भन्दै तत्कालै बन्द गराउन कडा निर्देशन दिएपछि सो गाडीलाई नेपालमा सस्तोमा पठाई बिक्री गरिँदै आएको सत्य हो, भारतमा बिक्री गर्न बन्द गरेपछि नेपालमा त्यस्ता गाडी अत्यधिक मात्रामा भित्रिएका छन्, सोही गाडीहरुलाई विभिन्न उपहारजन्य कार्यक्रममा बढी प्रयोग समेत हुँदै आएको छ ।’ नेपालको कानुन, देव नै जानून् भन्ने नेपाली उखानझैँ यहाँ व्यवसायीले सरकारी कर्मचारी र सरकारसँग नजिक भएकै मौका उठाउँदै खुलेआम ठगी धन्दा सञ्चालन हुने गरेको पाइएको छ ।

सोझा नेपाली जनतालाई झुक्याउँदै भारतमा खतरनाक भनिएका गाडीहरु खुलेआम बिक्री कम्पनीबाट हुँदै आएको छ । यसरी नेपाली जनताको सोझोपनको फाइदा उठाएर नेपालमा गाडी बिक्री गरिरहेको सो कम्पनीले पछिल्लो समयमा हुन्डाईको सेन्ट्रो गाडीलाई उपहारमा राखेको पाइएको छ । केही नेताहरुलाई समेत आफ्नो वशमा पारेर भारतमा खतरनाक भनिएका गाडीहरुमा विभिन्न उपहार रहेको भन्दै बिक्री गर्दै आएको समाचार पटक–पटक प्रकाशित गरिँदा समेत सरकारी पक्षबाट कुनै चासो नदेखाउनुले पनि सो अवैध धन्दामा कर्मचारीको मिलेमतो रहेको आशंका उपभोक्ताहरुले गरेका छन् । राजनीतिक दलका नेताहरुलाई आफ्नो वशमा पारेर यस कम्पनीले भारतमा खतरनाक भनेका गाडीहरु नेपालमा राम्रो गाडी भन्दै बिक्री गरिरहेको हो ।

विश्वभरका कारहरुको सुरक्षाको मापदण्ड मापन गर्ने संस्था ग्लोबल एनक्याप ९नयाँ कार मूल्यांकन कार्यक्रम० ले ‘असुरक्षित’ भन्दै ‘जिरो स्टार’ दिएको कारहरु नेपालमा भने महंगोमा खुलेआम बिक्री भइरहेका छन् । सो एनक्यापले असुरक्षित भनेको हुन्डाईको सेन्ट्रो कार भारतमा बिक्री वितरणमा रोक लगाएको छ । असुरक्षित रहेका यी गाडी नेपालमा खुलेआम बिक्री गरी नेपाली उपभोगकर्तासमेत असुरक्षित रहेका छन् ।

अधिकांश सो कम्पनीका मालिकहरुसमेत यो गाडी चढ्दैनन् । तर भारतमा असुरक्षित भनिएका गाडीहरु नेपाल भित्र्याउँदा नेपाली जनताले पनि बुझ्लान् भनेर यो कम्पनीले हत्तपत्त केही नेपाली नेताहरुलाई यो गाडी उपलब्ध गराउँदै आएको आरोप सो कम्पनीका कर्मचारीहरुले बताएका छन् । यो गाडी विश्वकै असुरक्षित गाडीको रुपमा भारतले घोषणा गरेको छ । हरेक वर्ष एनक्यापले गर्ने अनुसन्धानमा यो ‘कार’ असुरक्षित रहँदै आएको छ ।

एकातर्फ असुरक्षित रहेको हुन्डाईले विभिन्न मोडलका गाडीहरुमा व्यापक कालोबजारी समेत गर्दै आएको छ । उपभोक्ताहरु आफू ठगिएको महसुस भएको भन्दै केही गाडी खरिदकर्ता तथा कानुन व्यवसायीको पहलमा एक समूहले हुन्डाईको गाडीमा कालोबजारी गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिविरुद्ध कानुनी उपचारमा जाने समेत तयारी गरेको पाइएको छ । काठमाडौंमा उक्त कम्पनीको गाडी खरिदकर्ता र कानुन व्यवसायीहरुको एक भेलाले कालोबजारी गर्ने उक्त कम्पनीविरुद्ध कानुनी उपचार खोक्ने निर्णय गरेको समेत एक उपभोक्ताले बताए । ती उपभोक्ताले भने, ‘अहिले हामी सबै पहिचान गोप्य राख्ने निर्णय भएको छ, यहाँ मुद्दा हाल्ने भनेपछि पैसा बोकेर व्यापारी सम्बन्धित निकायभन्दा माथि गई मुद्दा नै दर्ता नहुने गरी लबिङ गर्ने भएकाले अहिले परिचय गोप्य राखेको हो, मुद्दा हालेपछि सबै बाहिर आउनेछ ।’

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको गाडीमा ठगी गरेको भन्दै कानुन व्यवसायीसहितको टोलीले कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्ने भएको बुझिएको हो । जिल्ला अदालतमा मुद्दा दायरसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण आयोगलगायतका ठाउँहरुमा उक्त कम्पनीविरुद्ध उजुरी गर्ने तयारी भएको जनाइएको छ ।

नेपालमा चलेका गाडीहरुमध्ये पछिल्लो समय ’हुन्डाई’को गाडीमा अत्यधिक लुट रहेको फेला परेको हो । उक्त कम्पनीका गाडी बेच्ने लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालि नामको कम्पनीले जनतालाई त ठगिरहेको छ नै, देशको विद्यमान कानुनविपरीत कारोबार गर्दै आएको छ । गाडी किन्दा कम्पनीले पाउने स्वाभाविक नाफाभन्दा बढी रकम असुलेर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले लुटधन्दा चलाइरहेको छ भने ग्राहकले विनासित्ति मोटो रकम अनाहकमा बुझाइरहेको तथ्य फेला परेको छ । लामो समयदेखि नेपालमा आफूलाई आधिकारिक बिक्रेताको रुपमा कम्पनीले हुन्डाईको गाडी बेच्दै आएको छ । सो कम्पनीले हरेक मोडलका गाडीमा लुट मच्चाउने गरेको छ । ती गाडीहरुमा कम्पनीले ३० देखि ७० प्रतिशतको हाराहारीमा नाफा खाने गरेको भेटिएको छ ।

सो सम्बन्धमा कम्पनीमा सम्पर्क गर्दा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अन्जन श्रेष्ठ भारतमा गएको भन्दै फोन राखिएको थियो । सो कम्पनीले अत्यधिक नाफासँगै असुरक्षित भएको गाडी नेपाल ल्याई बिक्री गर्ने गरेको समाचार सार्वजनिक भएपछि हुन्डाई कम्पनीको गाडी बिक्रीमा गिरावट आएको समेत सो कम्पनीका कर्मचारीहरुले बताएका छन् । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले २० प्रतिशत रकम दिएपछि पछि रकम चुक्ता गर्ने गरी बिक्री योजना ल्याएर गाडीहरु बेच्दै आएको स्रोतको दाबी रहेको छ । स्रोतले भन्यो, ‘सुरुमा २० प्रतिशत रकम बुझाएपछि तीनरचार महिनापछि रकम चुक्ता गर्ने गरी अहिले गाडी बिक्री गर्ने गरेका छौँ ।’

काठमाडौंको नक्सालमा मुख्य कार्यालय खोलेर व्यापार गरिरहेको यो संस्थाले दक्षिण कोरियाको हुन्डाई कार बिक्री गर्दै आएको छ तर सो कारहरु सबै भारतबाट नेपाल आयात गर्ने गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले एक कारमै १५ लाख रुपैयाँभन्दा बढी नाफा राखेर बेच्दै आएको छ । ग्रान्ड माज्ना धेरै चलेको ब्रान्ड हो । यही ब्रान्डमा लक्ष्मी इन्टरकन्टिनेन्टलले धेरै लुट मच्चाएको छ । एक कारबाट लक्ष्मीले ५९ दशमलव ०७ प्रतिशत नाफा लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले सामान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने स्पष्ट पारेको छ । सो ऐनको दफा ३ मा लेखिएको छ, ‘दफा २ अन्तर्गत मोल निर्धारण भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तु व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतः सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’

तर सो ऐनलाई बेवास्ता गर्दै सो कम्पनीले आफूखुसी मूल्य निर्धारण गरेर ठगी गर्दा समेत सरकारले कारबाही गर्ने आँट गरेको छैन । सो सम्बन्धमा पटक–पटक कम्पनीमा सम्पर्क गर्दा नाडा अटोमोबाइल्स एसोसिएसनका निवर्तमान अध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठलाई खोजी गर्दा उनी भारतमा गएको सो कम्पनीको कर्मचारीले बताएकाले सम्पर्क हुन सकेन । अन्य आधिकारिक व्यक्ति समेत अफिसमा नभएको भन्दै फोन राखिएको थियो । यसपछि लगत्तै सो कम्पनीका अर्का मालिक निराकार श्रेष्ठलाई खोजी गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!