फिफा महिला विश्वकपको नालीबेली यस्तो

- May 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

साधारणतया अन्य प्रतियोगिताभन्दा फिफा विश्वकपको प्रसंग उठ्नासाथ असंख्य खेलप्रेमीहरुको ध्यान फुटबलतिर केन्दि«त हुने गरेको छ । यस्तो हुनु स्वाभाविक पनि हो । किनभने विश्वमा सर्वाधिक रुचाइएको खेल नै फुटबल भएको तथ्याङ्कले देखाउँछ । त्यसैले पनि होला विश्वकपसँग सम्बन्धित कुनै पनि क्रियाकलाप फुटबलप्रेमीहरुका लागि सधै चासोको विषय बन्ने गरेको छ । फिफा विश्वकप भन्नासाथ पुरुषले फुटबल खेलेको आकृतिहरु अधिकांशको मन मस्तिष्कमा कोरिने गर्दछ । तर अहिले विश्वमा फुटबलको दायरा पुरुष खेलाडीहरुमा मात्रै भने सिमित छैन ।

२८ वर्ष अघिबाट हुँदै आएको फिफा महिला विश्वकपले पनि अहिले उचाई चुम्न थालेको छ । जसको आठौ संस्करण आगामी जून ७ देखि ७ जुलाईसम्म फ्रान्सको विभिन्न ९ सहरमा आयोजना हुँदैछ । जसमा विश्वका ६ कन्फेडरेसनका २४ देशले प्रतिस्पर्धा गर्दैछन् । पहिलो र दोस्रो संस्करणमा १२ राष्ट्रले मात्र प्रतिस्पर्धा गरेको यस प्रतियोगिताको तेस्रो देखि छैटौँ संस्करणसम्म १६ राष्ट्र तथा त्यसपछि २४ राष्ट्रले अन्तिम चरणमा खेल्ने प्रावधान बनाइएको हो ।


काठमाडौं ,आगामी जून महिना विश्वका खेलप्रेमीहरुलाई मुख्यतः तीन खेल प्रतियोगिताले ब्यस्त पार्नेछ । कारण, आइसीसी विश्वकप क्रिकेट, कोपा अमेरिका फुटबल र फिफा महिला विश्वकप प्रतियोगिता । विश्वमा यी तीन वटै प्रतियोगिताका दर्शकहरु अत्यधिक रहेको छ । निसन्देह नेपाल लगायत दक्षिण एसियाका अधिकांश मान्छेहरु आइसीसी विश्वकप क्रिकेटको रोमाञ्चमा डुब्ने छन् । अर्कोतिर विश्वभरिकै फुटबल फ्यानहरुमाझ कोपा अमेरिका र फिफा महिला विश्वकप पनि प्राथमिकता पर्नेछ । संयोगले यी तीनवटै प्रतियोगिता प्रत्येक चार वर्षको अन्तरालमा हुने गरेको छ ।

यसपटक भने चीन, जापान, दक्षिण कोरिया, थाइल्याण्ड र अस्ट्रेलियाले एसियन कन्फेडरेसनबाट प्रतिनिधित्व गर्दैछन् । यस्तै यूरोपबाट आयोजक फ्रान्ससहित इंग्ल्याण्ड, जर्मनी, नर्वे, इटाली, नेदरल्यान्ड्स, स्पेन, स्वीडेन र स्कटल्याण्ड गरी सर्वाधिक ९ राष्ट्र यस प्रतियोगितामा देखिने छन् । अफ्रिकाबाट क्यामरून, नाइजेरिया र दक्षिण अफ्रीका छनोट भएका छन् भने ब्राजिल, अर्जेन्टिना र चिलीले दक्षिण अमेरिकाको प्रतिनिधित्व गर्नेछन् । यस्तै ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड एक्लो टोली बनेको छ । उत्तर तथा मध्य अमेरिकाबाट भने क्यानाडा, संयुक्त राज्य अमेरिका र जमैका सामेल छन् ।

अमेरिका अगाडि
अहिलेसम्मको इतिहासलाई पल्टाउने हो भने फिफा महिला विश्वकपमा संयुक्त राज्य अमेरिकाले तीन पटक उपाधि जितेर आफ्नो वर्चस्व कायम गरेको छ । सन् १९९१ मा चीनमा सम्पन्न प्रथम संस्करणको महिला विश्वकपमा पहिलो पटक अमेरिकाले उपाधिमाथि नाम दर्ता गराएको थियो । जसलाई सन् १९९९ र २०१५ मा पनि निरन्तरता दिंदै अमेरिकाले उपाधिमाथि ह्याट्रिक नै गरिसकेको छ ।

त्यस्तै सन् २००३ र २००७ मा उपाधि जितेर जर्मनी दुई पटक महिला विश्वकप विजेता बनिसकेको छ भने नर्वे र जापान पनि समान एक–एक पटक च्याम्पियन बनेका छन् । नर्वेले १९९५ मा र जापानले २०११ मा उपाधि जितेको थियो । यस्तै अहिलेसम्म अमेरिका, जर्मनी, नर्वे, जापान, चीन, स्वीडेन र ब्राजिल भने समान एक–एक पटक उपविजेता बनेका छन् ।

कीर्तिमान नजिक फोर्मिगो
तुलनात्मक रुपमा महिला फुटबलरहरुको स्टारडमको दायरा सांघुरो भए पनि खेल मैदानमा भने महिलाहरु पनि पुरुषभन्दा कम छैनन् । पुरुषसरह नै अहिले महिला फुटबलहरुको चर्चा पनि चुलिदो छ । धेरै महिला खेलाडीहरु यसको उदाहरण पनि बनेका छन् । नामै लिनुपर्दा नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी अहिले यसका जल्दाबल्दा उदाहरण हुन् ।

बेजोड प्रदर्शनका कारण नेपालमा चर्चा बटुलेकी उनले अहिले भारतीय महिला फुटबल लिगमा पनि १५ गोल गरेर तहल्का मच्चाउंदै छिन् । उनैको बलबुटामा उनको क्लब सेथू यस सिजनको लिग च्याम्पियन बनेको छ । त्यसैगरी आसन्न विश्वकपमा सम्मिलित राष्ट्रमध्ये अमेरिकाकी मिया हम्म, जर्मनीकी नाडिने एन्गेरर र डोरिस फिसेन्च, जापानकी होमारे साभा, चीनकी सुन वेन, इङल्यान्डकी केली स्मिथ, ब्राजिलकी मार्टा जस्ता चर्चित महिला खेलाडीहरु पनि विश्वस्तरमा छुटाउन नमिल्ने नाम हुन् ।

सरसर्ती हेर्दा विश्व फुटबलमा मुख्य दुई कारणले सबैभन्दा सफल राष्ट्रको रुपमा परिचित छ ब्राजिल । अहिलेसम्म सम्पन्न सबै विश्वकपमा सहभागी हुने र सर्वाधिक ५ पटक फिफा विश्वकपको उपाधि जितेर कीर्तिमान बनाउने एकमात्र राष्ट्र हो ब्राजिल । तर त्यस्तो कीर्तिमानको छेउछाउ पनि ब्राजिलियन महिला टोली पुग्न सकेको छैन । विश्वकपको उपाधि होडमा ब्राजिलको महिला टोली अहिलेसम्म असफल नै रहेको छ ।

विश्वकप उपाधिका लागि ब्राजिलियन महिला टोली अझै पनि संर्घषरत नै छ । सहभागीता र उपाधि जित संख्याको कीर्तिमानबाट कोसौ टाढा रहेपनि ब्राजिलियन महिला टिममा लामो समयदेखि सम्मिलित फोर्मिगोको योगदानलाई भने बेवास्ता गर्न मिल्दैन । विश्वकपको मिति नजिकिएसंगै उनी कीर्तिमान रच्ने संघारमा उभिएकी छिन् ।

आसन्न महिला विश्वकप सुरु हुन करीब दुई साता मात्र बाँकी रहेको स्थितिमा ब्राजिलकी ४१ वर्षीया मिडफील्डर मिराइलडेस मसियल मोटा अर्थात फोर्मिगो फीफा विश्वकपको सातवटा संस्करण खेल्ने पहिलो फुटबलर बनेर कीर्तिमान बनाउने तरखरमा छिन् । यदि उनले फ्रान्समा खेलेमा पुरुष वा महिला फिफा विश्वकपको इतिहासमा सात संस्करण खेल्ने पहिलो फुटबलर बन्नेछन् ।

गत साता ब्राजिलियन फुटबल कन्फेडेरेसनले ब्राजिल टिममा उनलाई सम्मिलित गराएसँगै फोर्मिगो यस्तो दुर्लभ कीर्तिमानको नजिक पुगेकी हुन् । उनले सन् १९९५ मा स्वीडेनमा सम्पन्न महिला विश्वकपको दोस्रो संस्करणदेखि अहिलेसम्म लगातार ब्राजिलको टिमबाट खेल्दै आएकी छिन् ।


ब्यवसायिक फुटबल भने फ्रान्सको पेरिस सेन्ट जर्मेन ९पीएसजी० क्लबबाट खेल्ने उनले अहिलेसम्म विश्वकपको ६ संस्करण खेलेकी छन् । यति धेरै विश्वकप खेलेर कीर्तिमान राख्न तम्तयार फोर्मिंगोको ब्राजिलले भने अहिलेसम्म विश्वकप उपाधि जित्ने गौरव हासिल गर्न सकेको छैन ।

यधपि सन् २००७ को संस्करणमा उनले फाइनल खेल्ने मौका भने पाएका थिए । तर दुर्भाग्य, जर्मनीले ब्राजिललाई २–० गोलअन्तरले हराएपछि उपाधि उचाल्नबाट मात्र एक कदम उनी चुकेका थिए । महिला विश्वकपमा ब्राजिलको यो नै अहिलेसम्मको उच्च प्रदर्शन समेत हो । त्यसयता फोर्मिंगोसहितको ब्राजिलले विश्वकपको फाइनल खेल्ने अवसर जुराउन सकेको छैन । फाइनल पुग्न नसकेपनि सन् २००४ र २००८ को ओलम्पिक फुटबलमा भने उनी सम्मिलित ब्राजिलले रजत पदक जितेको थियो । ती दुवै अवसरमा पनि ब्राजिलको टगारो अमेरिका नै बनेको थियो ।

यस सन्दर्भमा पुरुषहरुको कुरा गर्ने हो भने अहिलेसम्म तीन जना फुटबलरले मात्र विश्वकपको पांच संस्करण खेलेका छन् । जसमा मेक्सिकोका राफेल मारक्वेज तथा एन्टोनियो कार्बाजल र जर्मनीका लोथार मेथ्यूज छन् । लोथारले आफ्नो कप्तानीमा जर्मनीलाई सन् १९९० मा तेस्रो पटक विश्वकप विजेता बनाएका थिए ।

फोर्मिगो सर्वाधिक विश्वकप खेल्ने होडमा मात्र छैन । उनी पाको उमेरमा विश्वकप खेलेर जापानकी ४० वर्षीय होमारे साभालाई पनि उछिन्ने प्रयासमा छिन् । साभाले भने सन् २०११ मा आफ्नो राष्ट्रलाई विश्वकप च्याम्पियन बनाउन अहम् भूमिका निर्वाह गरेकी थिईन् । यदि फोर्मिगोले फ्रान्समा खेलेमा उनी फीफा महिला विश्वकप खेल्ने सबैभन्दा ज्येष्ठ महिला फुटबलर पनि बन्ने छिन् ।

ब्राजिलियन टिममा फोर्मिगोका अतिरिक्त मार्टा सहित केही अन्य चर्चित अनुहारहरु पनि सम्मिलित छिन् । मार्टा ६ पटकका प्लेयर अफ द ईयर बनिसकेकी छिन् । मार्टाले महिला विश्वकपको इतिहासमा सर्वाधिक १५ गोल गर्दै कीर्तिमान बनाएकी छिन् । आसन्न फ्रान्समा हुने फीफा महिला विश्वकपमा ब्राजिल समूह सी मा परेको छ । यस समूहमा ब्राजिलसँगै जमैका, इटाली र अस्ट्रेलिया पनि रहेको छ । नेपाल समाचारपत्रबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!