ढाट जलाउनेहरुलाई पक्राउ गर्न सर्बपक्षिय–सर्बदलिय बैठकमा सहभागीहरुको माग

- May 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन, सवारी कर संकलनको बिरोधमा भरतपुर महानगरपालिका ९ र १२ को सिमानामा पर्ने गोन्द्राङ सडकखण्डमा ढाट जलाउनेहरुलाई सत्यतथ्य पत्ता लगाइ कार्वाही गर्ने सर्बदलिय बैठकले निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आइतवार बसेको सर्बपक्षिय–सर्बदलिय बैठकले दोषि उपर कडा भन्दा कडा कार्वाही गर्न संवन्धित पक्षलाई निर्देशन समेत दिएको छ ।

सत्तारुढ नेकपाका प्रदेश सांसद कृष्ण खनाल र उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी सहित त्यहाँ उपस्थित झन्डै ३० जनाको समूहबाट भएको आगजनीमा संलग्नहरुलाइ अनुसन्धानमा खुट्टा नकमाउन बैठकमा सहभागीहरुले आग्रह गरेका छन् ।

घट्नाको बेला लिइएको फुटेजका आधारमा खनालको संलग्नता पुष्टि हुने भन्दै निष्पक्ष छानविनका लागि समेत आवाज उठेको छ ।

आवाज उठाउनेहरुले परिस्थिती भड्काउने काममा प्रदेश सांसद खनाल र उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष रेग्मी लागेको दाबी गरेका छन् । घटनाको अनुसन्धानमा राजनिती नगर्न सर्बदलिय बैठकमा सहभागी सरोकारवालाहरुको जोड छ ।

गत, जेष्ठ ३ गते शुक्रवार बिहान आक्रोशीत भिडले पेट्रोल छर्किएर गोन्द्राङको ढाटमा आगजनी गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का पनि जलेकी थिइन । चितवन मेडिकल कलेजमा उपचाररत खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्बदलिय–सर्बपक्षिय बैठकमा सत्तारुढ नेकपा ३ नम्बर प्रदेश सांसद घनश्याम दाहाल, काँग्रेसकी सांसद गिता वाग्ले, जिल्ला समन्वय समिती चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, सम्पूर्ण स्थानीय तहका प्रतिनिधी, नेकपाका नेता तेजेन्द्र बहादुर खड्का, काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सरोकारवालाको उपस्थिती थियो ।

आइतवारको बैठकमा समस्या समाधानको दिर्घकालिन उपायबारे पनि छलफल भएको काँग्रेस चितवनका सभापति श्रेष्ठले बताउनुभयो ।

गोन्द्राङको ढाटलाई लोथरमा सारेर समस्याको समाधान हुन सक्नबारे पनि कुरा उठेको श्रेष्ठको भनाइ छ । यसबारे संबन्धित मन्त्रालयलाइ अनुरोध गर्ने निश्कर्ष सर्बपक्षिय बैठकबाट निकालिएको श्रेष्ठले जानकारी दिनुभयो ।

निर्णयहरुः-
१. मिति 2076/02/03 गते विहान भरतपुर महानगरपालिका वडा नं. 12 गोन्द्राङ स्थित सडक वोर्डको दस्तुर संकलन केन्द्र (ढाट) मा दस्तुर लिने विषयलाई लिएर भएको विवाद र सो बाट सिर्जित आगजनी तथा तोडफोडको घटना प्रति निन्दा व्यक्त गर्दै घटनाको अनुसन्धान गरी वास्तविक दोषीहरुलाई कानुनी कारवाही गर्ने ।

२. कर्तव्य पालनाको सिलसिलामा घटनामा भएको आगलागीमा परी सख्त घाइते भई उपचाररत रहनु भएको प्र.स.नि कल्पना खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने र निजको स्वास्थ्योपचारमा लाग्ने सम्पूर्ण खर्च सम्वन्धित पक्षले वेहोर्ने ।

३. भरतपुर महानगरपालिका वडा नं. 12 गोन्द्राङ स्थित सडक वोर्डको दस्तुर संकलन केन्द्रका कारण पुर्वी चितवनका सर्वसाधारणले पटकै पिच्छे दस्तुर वुझाउनु पर्दा एउटै जिल्ला भित्र सडक दस्तुरको भारले विभेद सिर्जना भएको, चितवन राष्ट्रिय निकुञ्च क्षेत्रमा अवस्थित भएकोले सवारी साधन रोकेर दस्तुर संकलन गर्दा वन्यजन्तुको आवागमनमा समेत अवरोध पुगेको र जिल्लाको मध्ये भागमा अवस्थित हुँदा सदैव स्थानिय जनता र ठेकेदार पक्ष बीच दस्तुर संकलनका विषयलाई लिएर विवाद चकर्दा शान्ति सुरक्षामा समेत असर पर्न गएको हुँदा उक्त संकलन केन्द्रलाई चितवन जिल्लाको पुर्वी सिमानाको जिरो माइल राप्ति नगरपालिका वडा नं. 04 शिवपुर (लोथर)मा स्थानान्तरण गर्न गृह मन्त्रालय मार्फत सम्वन्धित निकायमा सिफारिस गरी पठाउने ।

४. पुर्वी चितवनमा हालसालै भएका घटनामा प्रहरी कार्यालय र प्रहरी कर्मचारीलाई चौकी आक्रमण अवरोध सिर्जना गर्ने राजस्व संकलन केन्द्रमा आगजनी गर्ने जस्ता गैर कानुनी क्रियाकलाप वढ्दै गएको हुँदा यस्ता अवाञ्छित गतिविधिहरु नगर्न नगराउन र शान्ति सुरक्षा कायम राख्न सम्वन्धित सवै पक्षले सचेतना अपनाउने र प्रहरी प्रशासनलाई सहयोग गर्ने ।

५. भरतपुर महानगरपालिका वडा नं. 12 गोन्द्राङ्ग स्थित सडक बोर्डको दस्तुर संकलन केन्द्रबाट स्थानीयहरुसँग दस्तुर संकलन गर्ने सन्दर्भमा यस पूर्व समय समयमा सहमति समेतका आधारमा व्यवहारिक रुपमा उपलब्ध गराइएको छुट सुविधालाई हालका संकलनकर्ताले समेत निरन्तरता प्रदान गर्ने । साथै संकलन केन्द्रमा बस्ने कर्मचारीहरुले दस्तुर बुझाउने सवारी धनीहरुसँग करदाता मैत्री, मर्यादित र हार्दिकतापूर्वक व्यवहार गर्ने गराउने ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!