मिडिया काउन्सिल सम्वन्धी विधेयक विरुद्ध महासंघको दोस्रो चरणको आन्दोदन सुरु

- May 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। नेपाल पत्रकार महासंघले संसदमा पेस भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकको खारेजीको माग राख्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । महासंघको बैठकले मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भई त्यसको विरोधमा पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष महासंघले निकाल्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको अध्यक्ष गोविन्द आचार्यले बताएका छन्।

अध्यक्ष आर्चायका अनुसार पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज मागहरु सम्वोधन गर्नेतर्फ कुनै गम्भीरता नदेखाएपछि समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको बताए । केन्द्रीय समितिको बैठक अघि पत्रकार महासंघको आयोजनामा संचार सम्वद्ध विभिन्न संघ, संगठन र संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग संयुक्त बैठक बसेको थियो । उक्त बैठकमा प्राप्त सुझाव समेतका आधारमा मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध महासंघले जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श, जेठ ८ गते संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान, जेठ १३ र १४ गते सांसदहरुसँग भेट गरी छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने, जेठ २१ र २२ गते महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २५ गते अपरान्ह ३ बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने कार्याक्रम तय गरेको छ । भने काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्न गराउन महासंघले आग्रह गरेको सचिब रामप्रसाद दाहालले बताएका छन् । यसैबीच मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने समेत कार्यक्रम तय भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!