प्रथम बाजुरा महोत्सव हुँदै

- May 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रेम रौले : उद्योग वाणिज्य सङ्घ बाजुराले जेठ ३ देखि ९ गतेसम्म प्रथम बाजुरा महोत्सव आयोजना गर्न लागेको छ । बाजुरा जिल्लामा पहिलो पटक हुन लागेको यस महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुलाई ल्याउने तयारी भइरहेको छ ।

सङ्घका अध्यक्ष देवबहादुर रोकायाका अनुसार महोत्सवको तयारी पूरा भएको छ । जिल्लाका ९ वटै स्थानीय तह सह–आयोजक रहने गरी विभिन्न बैङ्क तथा वित्तीय संस्था प्रायोजकका रुपमा राखिएका छन् । महोत्सव एक सातासम्म चल्ने छ ।

यहाँका विकासका सम्भावनाहरुको खोजी, कला संस्कृतिको संरक्षण र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।  कृषि, उद्योग, पर्यटन र व्यापारलाई प्राथमिकता राखिएकाले महोत्सवबाट उक्त क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाच लगायतका कार्यक्रम प्रस्तुत गरिने छ ।  महोत्सवमा बाल उद्यानलगायत विभिन्न किसिमका स्टल राखिने र धार्मिक तथा पर्यटकीय क्षेत्रको फोटो प्रर्दशनी पनि गरिने आयोजकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रथम बाजुरा महोत्सवको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।देउडा कलाकार रामबहादुर दानीले जिल्लामा हुन लागेको प्रथम बाजुरा  महोत्सवमा आयोजकले स्थानीय कलाकारलाई अपहेलना गरेको दुखेसो गर्नुभएको छ । 

देउडा नै सुदूरपश्चिमको ग्रामीण जीवनको चिनारी रहेको भए पनि स्थानीय कलाकारलाई महोत्सवमा आयोजकले उचित स्थान नदिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

अन्यत्रबाट कलाकार ल्याउनुभन्दा जिल्लाकै राष्ट्रिय अवार्ड पाएकाहरुलाई विशेष प्राथमिकता दिँदा मितव्ययीसमेत हुने बाजुरा साँस्कृतिक सङ्घ बाजुराका अध्यक्ष विष्णुबहादुर धामीले बताउनुभयो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोकायाले  यसबारे प्रतिक्रिया दिँदै भन्नुभयो – “स्थानीय कलाकारलाई प्राथमिकता दिएन भनेर गुनासो गर्नु उचित छैन । सकेसम्म स्थानीय कलाकार र स्थानीय पर्वलाई बढी प्राथमिकता दिने गरी कार्यक्रम तय गरिएका छन् ।”

बाजुरा महोत्सव पर्यटकीय क्षेत्रको प्रवद्र्धन, कला र संस्कृतिको संरक्षरण भन्दा पनि मनोरञ्जनका लागि मात्र हुन लागेको सामाजिक   अगुवा जनक रोकायाले बताउनुभयो । उहाँका अनुसार कृषि, वन र जडीबुटीका संरक्षण तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन नारा मात्र बनाएर हुँदैन, अभियान नै सञ्चालन गर्न जरुरी छ ।

महोत्सवले मनोरञ्जन भन्दा पनि स्थानीय स्तरमा उत्पादित कृषि उपज र ती उपजको बजार खोजी हुनुपर्ने नागरिक समाज बाजुराका अध्यक्ष अग्नीराज शाहीले भनाइ छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!