पाँच वर्षदेखि युएईमा अलपत्र टोपबहादुर ३० लाख बुझाएपछि नेपाल फर्किए

- July 25, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

युएई – यहाँ ५ वर्षदेखि अलपत्र परेका चितवन खैरेनीका टोपबहादुर बिक बुधवार नेपाल फर्कनु भएको छ । युएईमा तिर्नुपर्ने ब्लडमनी वापतको एक लाख दिर्हाम अथवा झण्डै ३० लाख रुपैयाँ बुझाएपछि नेपाली दूतावासको सहयोगमा प्रक्रिया पूरा गरी बिक बुधवार नेपाल फर्किनुभएको हो ।

ब्लडमनी बाहेक युएईमा ओभरस्टे बसेवापत अध्यागमन विभागमा ७२ हजार ८ सय दिर्हाम जरिवाना समेत लागेको थियो । जरिवाना शुल्क समेत दूतावासको प्रयासमा मिनाहा गरिएको थियो ।

आइतबार ब्लडमनी बापतको रकम बुझाएपछि सोमबार र मंगलबार प्रशासनिक प्रक्रिया पूरा गरेर बुधवार नेपाल फर्काइएको युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

कार्यक्रम आयोजना गरेर हवाई टिकट

दूतावासले विकको सम्पूर्ण प्रक्रिया पूरा गरिदिएपछि एनआरएन युएईले मंगलबार दूतावासमा एक कार्यक्रम आयोजना गरी विश्वकर्मा समाजले सहयोग स्वरुप दिएको हवाइ टिकट प्रदान गर्दै विकलाई बिदाई गरेको थियो । विक पुनः युएई आउन चाहे आउन सक्ने गरी उहाँको मुद्दा टुंग्याइएको छ ।

१४ जुन २०१४ मा कार्यस्थलमा भएको दुर्घटनामा परेर टोपबहादुरसँगै काम गर्ने थाइल्याण्डका दुई जना नागरिकको ज्यान गएको थियो । सोही घटनामा उहाँको पनि संलग्नता भएको आरोपमा १ सेप्टेम्बर २०१४ मा अदालतले ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!