मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका- ५ मौलाबारीस्थित बक्राहा खोलाको किनारमा विवाहित जोडी मंगलबार बिहान झुन्डिएको अवस्थामा भेटिएका छन् ।
बक्राहा किनारस्थित पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा विवाहित जोडी मृत भेटिएका प्रहरीले जनाएको छ ।
पथरीशनिश्चरे–५ का २१ वर्षीय अजय टुडु र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए ।
दुवैजना विवाहित रहेको खुलेको दाहालले जानकारी दिए । उनका अनुसार घाँटीमा नाइलनको एउटै डोरीको पासो लगाएर रुखमा झुन्डिएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा छ । मृत भेटिएकी जुबामुनीका पति कान्छा टुडु वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।
मृत भेटिएकामध्ये अजयको घरमा पत्नी तथा ४ र २ वर्षका २ जना छोरा रहेको डीएसपी दाहालले बताए । जुबामुनीका डेढ वर्षका छोरा छन् । दाहालका अनुसार अयजले जुबामुनीलाई गत आइतबार राति घरमा लिएर आएको खुलेको छ ।
अजयको घरमा खाना खाएर राति नै उनी निस्किएकी थिइन् । उनीहरूको सम्पर्क र आउने जाने गरेको विवरण हेर्दा सम्बन्धमा रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रेम सम्बन्धले समस्या ल्याउन सक्ने ठानेपछि दुवै जनाले आत्महत्या गरेको हुनसक्ने डीएसपी दाहालले बताए ।
‘घटनास्थलको प्रकृति र प्रारम्भिक अनुसन्धानबाट सहमतिमै आत्महत्या गरेजस्तो देखिन्छ’, दाहालले भने, ‘घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउँदैछौँ । अनुसन्धानपछि अरु कुरा खुल्छ ।’
प्रतिक्रिया