ताप्लेजुङको पाथीभरा नजिकै उत्पन्न केबुलकार निर्माण विवादपछि उत्पन्न यातायात बन्दले जनजीवन कष्टकर बनेको छ । माघ १२ गते सुरक्षाकर्मी र स्थानीयबीच भएको झडपपछि १५ गतेदेखि ताप्लेजुङमा यातायात बन्द गरिएको छ ।
जिल्लाका व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य संघ, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतले पनि वार्ता र सहमतिबाट शान्तिपूर्ण तवरले समस्या समाधान गर्न सरकार र नो केबुलकार पक्ष दुवैलाई अनुरोध गरेका छन् । उनीहरुले बन्द खुलाउँदै जनजीवन सहज बनाउन र वार्ता र सहमतिलाई अघि बढाउन आग्रह गरेका हुन् ।
यता केवलकार विरोधी समूहले समस्याको समाधान संघीय सरकारले मात्र गर्न सक्ने जनाउँदै संघीय सरकारसँग मात्र वार्ता गर्ने जनाएका छन् । गृह मन्त्रालयले समस्या समाधानका लागि समन्वय र सहजीकरणका लागि अस्ति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।
पाथीभरामा ‘नो केबुलकार’ अभियानमा संलग्नमध्येका एक खगेन्द्र फेम्बोलाई बन्द कहिले खुल्छ भनेर सोधिएकोमा बताए, ‘बन्द खुलाउने काम हाम्रो हैन त्यो सरकारको हो । वार्ताको वातावरण सरकारले नै बनाउनुपर्छ । त्यसका लागि सरकार जिम्मेवार बन्नुपर्छ ।’
उनका अनुसार केबुलकार निर्माणको अनुमति, सम्झौतालगायत सबै काम संघीय सरकारले नै दिएकाले उसैसँग वार्ता गर्नुपर्छ । वार्तामा बस्नुअघि सरकारले विना शर्त यसअघि पक्राउ परेकाहरुको रिहा गरिनुपर्नेमा उनी अडिग छन् । उनले अगाडि भने, ‘पाथीभरा क्षेत्रबाट जनपथ र सशस्त्र प्रहरी फिर्ता गरिनु पर्छ । निर्माण कार्य रोकेर सामाग्रीहरु फिर्ता गरिनुपर्छ त्यसपछि मात्रै वार्ताको वातावरण बन्छ अनि बन्द खुल्छ ।’
समस्याको समाधान केवलकार आयोजना बन्द गर्ने र कुनै पनि ठूला संरचनाहरु त्यस क्षेत्रमा बनाउन रोक लागाउने एकमात्रै उपाय भएको उनले बताए । केबकलकार विरोधीहरुले सो क्षेत्रलाई प्राकृतिक रुपमा छाड्नुपर्ने बताएका छन् ।
आन्दोलनमा हिन्दू संघ संस्था पनि सामेल भएका हुन् भन्ने जिज्ञासामा फेम्बोले भने, ‘समर्थनमा विज्ञप्तिहरु निकालेका छन् । ओमकार समूह, प्रकृति पूजकहरु सबैको चासो पहिलेभन्दा बढेको पाएको छु ।’ उनले आन्दोलनमा धेरै समूह भएपनि वार्ताको लागि एउटा संयुक्त टिम बनाउने दाबी गरे । सरकारले आफूहरुको आवाज नसुनेसम्म आन्दोलन जारी रहने उनको चेतावनी छ । आजदेखि आन्दोलन थप चर्कने अनुमान छ । उपभोग्य सामान समेत बजारमा अभाव हुन थालेको छ । यातायात बन्दका कारण अत्यावश्यक काममा सर्वसाधारण जिल्लाबाट बाहिर जान नसक्ने अवस्थामा पुगेका छन् । स्थानीयले सरकार र आन्दोलनकारी दुबै पक्षलाई जिम्मेवार भएर समस्या समाधानमा अघि बढ्न आग्रह गरेका छन् । – कमल भट्टराई जनआस्थाबाट
प्रतिक्रिया