March 4, 2025, 2:07 pm
» संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप » चुच्चे नक्सा नागको फोटो टाँसे सरह : झलनाथ खनाल » नेप्से परिसूचक तीस अङ्कले घट्यो » प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित » पूर्वयुवराज पारसलाई वार्डमा सारियो

बबरमहलमा छचल्कियो ‘रङका तरङहरु’

फाल्गुन २०, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौँ,  कति थरी रङहरु मिसिएपछि स्वतन्त्रताको रङ बन्ला ? प्रेममा कुन रङको बढी लालित्य होला ? आत्माको रङ चाहिँ कस्तो हुन्छ ? आत्माको उतारचढाव कस्तो हुन्छ ?

अनि आत्मा जीवित देखिन्छ र ? आत्मा परिकल्पनाभन्दा बाहिरको कुरा हो । रङ्गीन दृश्यमा देखिन सम्भव नहोला तर पनि आत्माको भाव सधैँ मानवसँगै रहन्छ ।

‘समय, परिस्थिति र वास्तविकता’मा कलाकार कृति शाह चन्दका कलाहरुले मानव जीवनका यिनै विविध समय, परिस्थिति र तिनका वास्तविक अवस्थाको वर्णन गर्ने भावात्मक रङ तरङहरु ‘क्यानभास’मा सजाउनुभएको छ ।

रङका तरङलाई आवाजको अनुभव दिलाउने कोसिस गरेको उहाँले सुनाउनुभयो । उहाँका सिर्जनामा उज्यालोको खोजी, अटल माया, जनजीवन, सांस्कृतिक धरोहर, शान्ति र न्यायको प्रार्थना लगायतका सन्देशहरु देख्न सकिन्छ ।

जसरी क्यानभासमा सयौँ थरी रङहरुले फरक मनोविज्ञानको भाषा बोल्छन् । त्यसैगरी ती रङहरुमा कुची खेलाएर जीवनका अनगिन्ती भावहरु मिसाउन उहाँ सफल हुनुभएको छ ।

कलाकार चन्दले आत्मिक रङहरुको बहावलाई रङहरुको उतारचढावमार्फत छाम्ने प्रयत्न गर्नुभएको छ । स्वतन्त्रता अनि आत्माको रङदेखि प्रेमका रङसम्मका सुन्दर चरित्रका अनेक चित्रको रस्वादन गर्न भने नेपाल कलापरिषद् बबरमहल पुग्नैपर्छ ।

‘फ्लुड आर्ट’को अमूर्त धारहरुको वर्चस्व रहेको उहाँका कलाहरुमा रङहरु अनेक दिशामा रङ्गीन भएर बग्दै गरेको देखिन्छ । कला पारखीहरुले आफ्ना मनोदशाको बगाई कलाकृतिमा भेट्न सक्छन् ।

कलाकृतिमध्येको एक स्वतन्त्रता शीर्षकको शीर्ष कला छ । जहाँ इन्द्रेणीका सातै रङहरुका अनेक घुम्तीहरुबीच एक युवती स्वतन्त्र उडान भर्दै गरेको देखिन्छन् ।

यसले आम महिलाहरुको जीवनको वास्तविकता उद्घोष गर्छ । बबरमहलमा यही फागुन २२ गतेसम्म रहने दोस्रो एकल कला प्रदर्शनीबारे कलाकार कृति शाह भन्नुहुन्छ, “महिला हुन सजिलो कहाँ छ र कति हो कति रङका साङ्लाहरुले उसलाई बाँधिरहेका हुन्छन्, त्यसबाट माथि उठेर सबैका अघि पहिचान खोज्नु भीडमा ठूलो स्वतन्त्रताको माग गर्नु जस्तै हो ।”

‘दियो र उज्यालो’ शीर्षकको उहाँका अर्को फ्लुड आर्टले अँध्यारोमा बग्दै गरेको दीपको उज्यालोको कथा बोल्छ । मानौँ सारा जगत् अन्धकारमय छ  तर आशाको सानो दियो अझै जाज्वल्यमान छ र अँध्यारोलाई पराजित गर्ने अर्को महाभारत युद्धको तयारी गर्दैछ ।

‘फेस्टिभल’ शीर्षकका कलाका शृङ्खलाहरुले रमणीय रङका बहावहरुले समाजमा व्याप्त अनेक खुसीका रङ्गीन सपनाको झल्को दिन्छ । नेपालमा होली पर्व नजिकिँदै गर्दाको आभास गराउँछ ।

रातो, पहेँलो, हरियो, नीलो अनि तिनमा मिसिएका अरू धेरै रङहरु जसले हावामा मिसिएरै होलिका नामको नकारात्मक ऊर्जा मेटाउन कोसिस गरिरहेका देखिन्छन् ।

अमूर्त र मूर्त भावको मिश्रणका रुपमा रहेको पारसमणि शीर्षकको उहाँको कलाले मानिसले आफूभित्रको अथाह शक्ति र सुन्दरताको खोजी गर्नुपर्ने सन्देश दिन्छ ।

भौतिकतामा लिप्त मानिसहरु धन, दौलत, मणिमाणिक्यको आशमा अन्यत्र भौँतारिरहेको वर्तमान परिदृश्यले उहाँका कलालाई सबल बनाएको छ ।

समसामयिक परिवेशलाई छुँदै उहाँले विदेशीले गरेको जे पनि राम्रो र आफ्नो स्रोतको अवमूल्याङ्कन गर्ने प्रवृत्ति हटाउँदै देशभित्रै पारसमणिको खोजी गर्नुपर्ने सन्देश दिनुभएको छ ।

प्रार्थना शीर्षकको अर्को एक कलामा एकजना बालक विश्व शान्ति र मानव जीवनमा शान्तिको कामना गरिरहेका देखिन्छन् ।

समग्र पृथ्वीको भावी पुस्ताको प्रतिनिधित्व गर्ने त्यस कलाले वर्तमान अशान्ति, मनमुटाव र दुर्दान्त अवस्थाहरुको अन्त्यको आशा राखेको कलाकार चन्द औँल्याउनुहुन्छ ।

नयाँ पुस्ताले नकारात्मक सोचलाई त्यागेर एकापसमा भाइचाराको भावना राखी अघि बढ्ने सोच बढाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

‘अटुमन लभ’ शीर्षकको अर्को कला प्रदर्शनीको अर्को प्रमुख आकर्षण नै हो । जहाँ दुई प्रेमिल जोडी प्रेममा लिप्त छन् । प्रेमलाई जाडो, गर्मी वा कुनै पनि मौसमी चक्रले छुँदैन ।

जसरी पनि यो जीवन्त बनेर बर्सिन सक्छ भन्ने भाव कलामार्फत कलाकार चन्दले सन्देश दिने कोसिस गर्नुभएको छ । अर्धनग्न युवतीको भाव भङ्गीलाई उहाँले यसरी रङहरुमा सुन्दर तवरले सजाउनुभएको छ ।

यसले ‘न्युड आर्ट’तर्फ पनि कलाकारको कुची भविष्यमा अब्बल रुपमा चल्न सक्ने सङ्केत  गर्छ । ‘भाइब्रेसन’, ‘रिदमिक फेयर’, ‘मदर अर्थ’, ‘हार्मोनी’ लगायतका कलाकृतिमा फरक रङसँगै फरक सोचहरु विस्तारित छन् ।

उहाँकै शब्दमा ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा कला प्रदर्शनी राख्नुको तात्पर्य मानिसको जीवनमा सययको माग एउटा हुन्छ परिस्थिति बेग्लै हुन जान्छ र वास्तविकताले अर्कै मोड लिन्छ ।

जसरी इच्छा आकाङ्क्षाहरू समयअनुरूप परिवर्तन हँुदै जान्छ त्यसरी नै मानिसले आइपरेका वास्तविकतालाई स्वीकार्नु पर्दछ ।

उहाँ भन्नुहुन्छ, “सफलता पाउन कुनै प्रसिद्धि र भौतिक सम्पत्ति आर्जन गर्नु मात्र नभई मनको शान्ति र शुद्ध आचरण प्राप्त गर्नु पनि हो ।”

जेजस्तो परिस्थिति आए तापनि अन्याय र अत्याचार नहोस् कसैले अन्याय र अत्याचार नगरोस् भन्ने चाहना कलामा व्यक्त गरेको उहाँ औँल्याउनु हुन्छ । रङका तरङ्गलाई आवाजको अनुभव दिलाउने कोसिस गरेको उहाँले बताउनुभयो ।

उहाँका सिर्जनामा माया, उज्यालोको खोजी, अटल माया, जनजीवन सांस्कृतिक धरोहर, शान्ति र न्यायको प्रार्थनालगायतका सन्देशहरु देख्न सकिन्छ ।

कला हेरेपछि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले कलाकार चन्दले खेलाउनुभएको रङमा सकारात्मक भाव स्पष्ट अनुभव गर्न सकिने बताउनुभयो ।

त्यसो त अग्रज कलाकार गोविन्द डङ्गोल, राधेश्याम मुल्मी, कृष्ण मानन्धर, त्रिविका पूर्वउपकुलपति तथा पूर्वराजदूत डा केदारभक्त माथेमा कलाकार उत्तम डङ्गोल लगायतले प्रदर्शनी अवलोकन गर्दै कलामा मिठास, सकारात्मक सोच र शान्त प्राप्त हुने प्रतिक्रिया दिनुभयो ।

 

प्रतिक्रिया