October 16, 2024, 12:22 am
» पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल » चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस पुष्टि » इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु » पेट्रोलियम पदार्थको मूल्य बढ्यो » लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

देशभर मनसुनी वायुको प्रभाव : कोशी र बागमतीमा भारी वर्षा

अशोज १७, २०८१ मा प्रकाशित | १११०दर्शक तीव्रखबर

काठमाडौं – देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी परिरहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएर केही स्थानमा वर्षा भइरहेको छ। केही स्थानमा भने मौसम सफा छ।

कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेश प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावा-हुरीसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

विभागले आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ । असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी र पहिरोमा परेर सयौंको मृत्यु भइसकेको छ । अवरद्ध अधिकांश राजमार्ग अझै खुल्न  सकेका छैनन । मौसम ख्याल गरेर मात्र यात्रा गर्नसमेत विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया