March 3, 2025, 11:36 am
» ट्रम्पले आफ्नो योजना मङ्गलबार संसदमा पेश गर्ने » इजरायलमा छुरा प्रहारबाट एक जनाको मृत्यु, चार व्यक्ति घाइते » हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा » सालकको खपटासहित दुई नियन्त्रण » प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्यस्थल बनाइँदै

फाल्गुन १८, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । यस ठाउँलाई आन्तरिक पर्यटकको गन्तव्यस्थल बनाउन वडाले पूर्वाधार निर्माणमा जोड दिएको हो ।

वडा कार्यालयले हालैमात्र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको जनाएको छ । म्याग्दे–७ का वडाध्यक्ष वसन्त श्रेष्ठले प्रचारप्रसारको अभावमा यस ठाउँ ओझेलमा परेकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताए ।

उनका अनुसार गुफासम्म जाने सिँढी बाटो, पार्कसहितको विश्रामस्थललगायत संरचना बनाउने लक्ष्य राखिएको छ ।

नीलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेको बताए ।

धेरै वर्ष पहिलादेखि रहेको गुफाकाबारेमा अधिकांशलाई जानकारी नभएपछि स्थानीयवासी यसको प्रवर्द्धनमा जुटेका उनको भनाइ छ ।

स्थानीयवासीले केही समय अगाडि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत आकृतिसहितका संरचना फेला पारेका थिए । ‘गुफाभित्र शिवलिङ्ग भएका बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटियो । नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ । शिवलिङ्गबाट आफैँ जल चुहिने गर्दछ’, उनले भने ।

यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आर्थिक अवस्था सुधार हुँदै जाने उनले विश्वास व्यक्त गरे ।

आचार्यले भने, ‘परापूर्वकालमा यस ठाउँमा भगवान् शिवजीले बास गर्नुभएको थियो । यहाँ एक सय आठ बेलका वृक्षहरू पनि छन् । यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्ने कुरामा द्विविधा छैन ।’

उनले यसको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय गतिविधि बढाएर स्थानीयलाई रोजगारीका अवसर सृजना गर्न सकिने धारणा राखे ।

सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि स्थानीय सरकारले सहयोग गर्ने, पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गर्ने र अपुग भए प्रदेश सरकारसँग साझेदारी गर्ने योजना रहेको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए  ।

प्रतिक्रिया