January 22, 2025, 6:50 am
» सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दामा सुनुवाइ सुरु » गौर अस्पतालमा पहिलो पटक आङ्ग खसेको रोगको सफलतापूर्वक अपरेसन » रूपेन्देहीमा रबि लामिछानेको थुनछेक बहस सुरू » सुनको भाउ तोलामा १९ सयले बढ्यो » प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

मंसिर २८, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

लिस्बन (पोर्चुगल),  नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण सरु गरेको छ ।

फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई-पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ ।

गत अगष्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकहरुको तयार भएको राहदानी वितरण गर्न शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

शिविरमा राहदानी लिने नेपालीको भीड लागेको छ । बिहीबार पहिलो दिन एक सय ४७ वटा ई-पासपोर्ट वितरण गरिएको टोलीले जनाएको छ ।

पोर्चुगलमा रहेका नेपालीको सहजताका लागि लिस्बनमै आएर राहदानी वितरण सुरु गरिएको राजदूत भट्टराईले बताउनुभयो । छ दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट दुई हजार पाँच सय ५४ वटा ई-पासपोर्ट वितरण गरिने तयारी छ ।

“हामीले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा राहदानी वितरणका लागि टोली पठाउने तयारी गरिरहेका थियौँ ।

युरोप भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्रीले पोर्चुगलमा तत्कालै राहदानी वितरणको व्यवस्था मिलाउन भन्नुभयो”, उहाँले भन्नुभयो, “मन्त्रीको निर्देशन बमोजिम हिजोदेखि लिस्बनमा राहदानी वितरण गर्न सुरु गरेका छौँ ।”

टोलीले आज र भोली दुई दिन राहदानी वितरणसहित अधिकृत वारेसनामा प्रमाणीकरणको सेवा प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।

राहदानी विभाग काठमाडौँबाट राहदानी तयार भएको इमेल प्राप्त गरेका सेवाग्राहीलाई समय तालिकाअनुसार शिविरमा आई राहदानी बुझ्न राजदूत भट्टराईले आग्रहसमेत गर्नुभएको छ ।

राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत अगष्टमा राजधानी लिस्बनमा सञ्चालन गरेको ‘घुम्ती सेवा शिविर’ बाट ३ हजार आठ सय २९ नेपालीको ई-पासपोर्टका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको थियो ।

जसमा करिब नौ सय ४० वटा राहदानी पेरिसबाटै वितरण भइसकेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया