January 22, 2025, 4:27 am
» इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी बामपन्थी नेतृ, बताइन जेलकाे कथा » रबि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँ » आजको मौसमः तराइका भू-भागहरुमा हुस्सु र कुहिरो बाँकी भू-भागमा मुख्यतया सफा रहने » यौनदुर्व्यहारजन्य म्यासेज पठाउने इनड्राइभका चालक प्रहरी फन्दामा » झापाका एसपी मिलन केसीलाई सशस्त्रका आइजी अर्यालले गरे सम्मान

कर्णालीमा आठ पदमा ४४ जनाको उमेदवारी

मंसिर ३, २०८१ मा प्रकाशित | २७३०दर्शक तीव्रखबर

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ उमेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । रिक्त पदका निम्ति यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ४४ जनाले उमेदवारी दिएका हुन् ।

कर्णालीमा नलगाड नगरपालिकाका उपप्रमुख, महावु गाउँपालिकाका अध्यक्ष, सर्केगाड गाउँपालिकाका उपाध्यक्षका साथै विभिन्न स्थानीय तहमा पाँच वडाध्यक्षको निधन भएपछि रिक्त रहेका पदमा उपनिर्वाचन हुन लागेको हो । नगर उपप्रमुख पदका निम्ति ६, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि सात/सात, पाँच वडाध्यक्षका निम्ति २४ जनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका निम्ति ६ जनाको उमेदवारी परेको छ । नेपाली कांग्रेसबाट इन्द्राचन्द सिंह, नेकपा (एमाले)बाट सुनिता बोहरा, नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन र नेपाल समाजवादी पार्टीबाट पवित्रा जैशीले मनोनयनपत्र दर्ता गराएका छन् । यहाँ ०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको निधनपश्चात् रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । ०८० कात्तिक १८ गतेको भूकम्पमा परी उनको निधन भएको थियो ।

लेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि सातजनाको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार, कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जंगबहादुर बरालमगर, नेकपा (एकीकृत समाजवादी)बाट जगतबहादुर हमाल, एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगरले अध्यक्ष पदका निम्ति मनोनयनपत्र दर्ता गराएका छन् । यहाँ गाउँपालिका अध्यक्षमा निर्वाचित कांग्रेसका लछुमन गुरुङको ७६ वर्षको उमेरमा ०७९ माघ २७ गते निधन भएको थियो ।

यस्तै, दैलेखकै दुल्लु नगरपालिका-१३ को वडाध्यक्ष पदका निम्ति कांग्रेसबाट रेशमबहादुर शाही, एमालेबाट लालबहादुर शाही, माओवादी केन्द्रबाट ढकेन्द्र शाही, नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम मल्ल गरी ६ जनाले उमेदवारी दिएका छन् । एमालेबाट निर्वाचित दुल्लु–१३ का वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा ०८० माघ २२ गते निधन भएको थियो ।

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षका निम्ति सातजनाको उमेदवारी परेको छ । कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राप्रपाबाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचा बुढाले उपाध्यक्षमा उमेदवारी दिएका छन् । उक्त पदका निम्ति रामसरा खड्का साउद र नरेश शाहीले स्वतन्त्र उमेदवारी दिएका जनाइएको छ । यहाँ ०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित चन्द्रसिंह कार्कीको निधनपश्चात् उपनिर्वाचन हुन लागेको हो । ०८१ भदौ ४ गते सुर्खेतबाट नेपालगन्ज जाने क्रममा बस दुर्घटना हुँदा उनको निधन भएको थियो ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा चारजनाको उमेदवारी दर्ता भएको छ । यहाँ कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने, एमालेबाट नरबहादुर रोकाय, माओवादी केन्द्रबाट नरबहादुर झाक्री र एकीकृत समाजवादीबाट ज्योति घर्तीको उमेदवारी परेको छ । यहाँ एमालेबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकाको ०८० माघमा निधन भएको थियो ।

कालीकोटको तिलागुफा नगरपालिका-४ को वडाध्यक्ष पदका निम्ति ६ जनाको उमेदवारी परेको छ । कांग्रेसबाट पैलबहादुर शाही, एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, माओवादी केन्द्रबाट नौशोभा शाही, राप्रपाबाट गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बमले उमेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । यहाँ माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित परबहादुर शाही ०७९ असोज २३ गते राँचुलीमा आएको बाढीमा परी बेपत्ता भएका थिए ।

यस्तै, जाजरकोटको कुशे गाउँपालिका-७ मा हुने वडाध्यक्षको उपनिर्वाचनका निम्ति चारजनाको उमेदवारी दर्ता भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह, एमालेबाट डम्मरबहादुर घर्ती, माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उमेदवारी दर्ता भएको छ । यहाँ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनबहादुर घर्तीको ०७९ असार ४ गते निधन भएको थियो ।

रुकुम पश्चिम भागमा पर्ने सानीभेरी गाउँपालिका-५ को वडाध्यक्षका निम्ति चारजनाको उमेदवारी परेको छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको ०८० माघ २० गते जन्डिसका कारण निधन भएपछि रिक्त रहेको उक्त पदमा कांग्रेसबाट मोतिराम खत्री, माओवादी केन्द्रबाट जसीराम बस्नेत र एकीकृत समाजवादीबाट हंसराज पुरीले उमेदवारी दिएका छन् । वीरबहादुर बस्नेतले स्वतन्त्र उमेदवारी दिएका जनाइएको छ । रासस

प्रतिक्रिया