November 23, 2024, 3:20 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

संस्कार सिकाउने श्रावण मास

साउन १, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

मनभरि कुण्ठा छन् तर धैर्यको बाँध नतोडी दरो आत्मबल राखौं, सेवा गरौं दान, धर्म पनि सकेको गरौं। यसैमा चाडपर्वले दिने बल प्राप्त हुन्छ।

यसपालि श्रीसम्बत् २०८१, कालयुक्त संवत्सर आषाढ शुक्ल हरिशयनी एकादशी तिथि, विशाखा नक्षत्र, शुभयोग, वणिजकरण, सोमबार, रात्रि २३ः३८ प्रवादनकालमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा जाँदै गृष्मऋतु उत्तरायण सकिएर दक्षिणायन वर्षा ऋतु श्रावणमासको आरम्भ हुने भएको छ। तिथि, बार, नक्षत्र, योग, करण मिलेर बनेको पञ्चाङ श्रवण गर्नाले गंगास्नान गरेको फल मिल्ने शास्त्रले वर्णन गरेका छन्। यस मासभरि सूर्य कर्कट राशिमा हुनेछन्, त्यसैले संक्रान्ति पनि कर्कट नै भएको हो। यो मासका अधिपति देवता हुन् श्रीधर र मासकी देवी हुन् कान्तिमती।

मानव जीवन समय चक्रमै घुमिरहेको हुन्छ। सौर्य मासअनुसार १२ राशिमा सूर्य परिभ्रमण गर्ने क्रममा कर्कट राशिमा सूर्य संक्रमण हुन जाँदा कर्कट संक्रान्ति हुन्छ। सूर्य दक्षिणायन भई हाम्रो भूगोलअनुसार दिनमान थोरै र रात्रिमान धेरै हुने हुँदा दिनको समयभन्दा रात्रिको समय बढी हुने यो अवस्था सूर्य मकर राशिमा सरी माघेसंक्रान्ति नआएसम्म कायम नै रहन्छ। उत्तरायण (माघदेखि असारसम्म) लाई देवताको दिन र दक्षिणायन (साउनदेखि पुससम्म) लाई देवताको रात भनिन्छ। रात र दिनको उत्तिकै महत्त्व हुनाले उत्तरायणमा नयाँ घर सर्ने, बिहे, व्रतबन्ध आदि शुभकर्म बढी हुने गर्छ भने दक्षिणायन समयमा अधिकांश मुख्य चाडपर्व चतुर्मास व्रत, महादसैं, नागपञ्चमी, कृष्णजन्माष्टमी, रक्षाबन्धन, तिहार आदि पर्दछन्।

पितृहरूका लागि विशेष उपासना गर्ने पितृपक्ष यसैबेला पर्छन् भने मानिसको मृत्यु समय भने तुलनात्मक रूपमा उत्तरायणलाई बढी शुभ मानिन्छ। तिथि, बार, नक्षत्र, योग र करण पाँच अंग मिलेर पञ्चाङ बन्छ, ज्योतिषशास्त्रको मूल आधार यही नै हो। प्र्रत्येक संक्रान्ति सकेमा र नसकेमा श्रावण संक्रान्ति, मकर संक्रान्ति, मेष अर्थात् वैशाख संक्रान्तिमा पञ्चाङ श्रवण गर्नाले बा यस्तो समय पारी विशेष भक्ति गर्नाले बा घरैमा पनि स्नान गरेको पुण्य अधिक हुने शास्त्रीय मान्यता छ।

काल (समय) ले कसैलाई छोड्दैन। समय सबैभन्दा बलबान् छ। महिना महिनामा आउने संक्रान्ति (संक्रमण) र कोठामा परिवर्तन हुने क्यालेन्डरका पानाहरूले आपूmले गरेका जीवन उपयोगी र समाज उपयोगी कामको गणना गर्न संकेत गर्छन्। हरेक ६ महिनामा हुने अयन परिवर्तनले अद्र्धवार्षिक समीक्षा र आत्मालोचना गर्न प्रेरित गर्छ हामीलाई। तृष्णा बढाउने, रोग वृद्धि गर्ने तर काल चक्रभन्दा माथि छु भन्ने अहम् भावनालाई त्यागेर आगामी दिन बढी सुखद र आनन्दमय बनाउन सामाजिक सेवा र पर हितकारी काममा प्रेरित हुने संकेत हो संक्रान्ति भनौं अयन परिवर्तन ! जीवन सन्तुलित र सौम्य, सक्रिय र साहसिलो बनाउन आत्मबलको प्रेरणा दिन्छ, अयन परिवर्तनले ! सके वाल्यावस्थादेखि नै नसके किशोर वा यौवनावस्थादेखि नै मानव जीवनलाई लक्ष्योन्मुख, उद्देश्योन्मुख हुन पनि प्रेरित गर्छ।

आध्यात्मिक महत्त्वको साथै कर्कट संक्रान्तिको सांस्कृतिक महत्त्व पनि छ। हाम्रो मुलुकको अधिकांश जीवनस्तर कृषिमै आधारित छ। मुख्यबाली धान, मकै, कोदो, भटमास आदि रोपण बेला अर्थात् वर्षायाम खेतबारीको काम यसै समयावधिमा हुने गर्छ। कृषिको आधार ६ वटा ऋतुमध्ये मुख्य वर्षाऋतुको आरम्भ कर्कट संक्रान्तिबाटै सुरु हुन्छ र यतिबेलादेखि नै रोपाइँ धेरै हुने यसपालिको मान्यता देखिन्छ। यद्यपि असारमै विगतझैं बाढी, पहिरोको कष्टकर जीवन भोग्न बाध्य भयौं हामी यसपालि पनि। राम्रो पक्ष भने असारमै अधिकांश रोपाइँ कार्य हुनुपर्ने थियो, तर भएन।

खेती किसानी काम गर्नेहरू झन् बढी स्वस्थ हुनुपर्ने र कीराफट्यांग्रा आदिको प्रकोपबाट बच्न स्वास्थ्य मजबुत राख्न यस दिनको विशेष कार्यले प्रेरणा दिन्छ। यसै दिन कण्डारक नामको देव पूजन गर्ने चलन छ। हिलो, मैलो, वर्षाको कारण घाउखटिरा आदि चिलाउने छालाजनित रोग नलाग्न साउने संक्रान्तिको दिन साँझपख लुत्तो फाल्ने चलन छ। लुत्तो फालेपछि जडीबुटीको रूपमा रहेको कुकुरडाइनोको पात जलाएर घाउ खटिरामा मलम लगाउने चलन छ। साँझपख कण्डारक नामक पिशाचको पूजा गरी लुतो फाल्नाले छालाजनित रोग नहुने विश्वास छ। अर्को धसिङ्रेको बोट बाल्ने, पड्काउने, सल्लाको काठको मुठालाई ७÷७ वटा पार्ने ती मुठालाई निशाचार पिशाचलाई चढाई चार वटा सल्लाको दाउरालाई आफ्नो घरको मूलधुरी नाघ्ने गरी चारै दिशामा फाल्ने अनौठो संस्कृति अहिले पनि गाउँतिर पाइन्छ नै।

अब त गाउँ धेरै सहर भयो तर मासको फुलौरा खोरीमा राखी फलफूलसमेत चढाउने, आँगन, चोक गोवरले लिप्ने, सफा पहिरन साथ सेतो ढुंगा मा कण्डारक देवता स्थापना गर्ने, दीप, कलश, गणेशसहित पूजा, उपासना गर्ने विधान छ अहिले पनि छ। अन्त्यमा नाङ्लो ठटाएर अपशकुनहरूलाई खेद्ने कार्य पनि हुन्छ। सहरबजारतिर भने अयन परिवर्तन हुने कर्कट संक्रान्तिमा देव मन्दिरहरूमा जाने, विशेष स्नान, सन्ध्यावन्दन गर्ने, ब्राह्मणहरूबाट संक्रान्ति फल श्रवण गर्ने, स्वस्ति वाचन गराउने, आफन्त चेलीबेटीलाई बोलाई टीका प्रसाद दिने, मीठा खाने कुरा खुवाउने एउटा संयोगको पर्वको रूपमा मानेर खुसीयाली आदानप्रदान गर्ने रूपमा मनाइने गरिन्छ। सबैजसो चाडबाड आरम्भको संकेत दिने श्रावण संक्रान्ति नै हो र माघले चाड बिदा गर्ने भनिन्छ। हरेक चाड, पर्वले त्याग र तपको संकेत गरेका हुन्छन्। त्याग ६ प्रकारका हुन्छन्।

कामनाको त्याग श्रेष्ठ त्याग हो। कामनाको त्याग गर्नाले आशक्ति हट्छ। आशक्तिले देवत्व प्राप्ति हुन्न। व्यक्तिको उन्नति पनि हुन्न। अनाशक्तिले व्यत्तिलको स्तरमाथि उठ्छ। आशक्ति हुन्जेल रागले छोड्दैन। राग हुन्जेल कर्म निस्फल हुन्छन्, आधुनिक समय भेरै यतैतिर लम्केको छ। निस्काम भक्ति बिना ईहलोक र परलोक सप्रदैन। अप्राप्तिमा त्याग सबैले गर्न सक्छन्। अभावको त्याग वास्तविक त्याग होइन। सबैथरी वरिपरि हुँदाको त्याग, त्यागको यथार्थ हो। श्रीसम्पत्ति, धनी, मानी ऐश्वर्यशाली, पद प्रतिष्ठाले पूर्ण हुँदाको त्याग सही त्याग हो। वैराग्यले नै सुख र वैभव लक्ष्मीलाई धर्मपूर्वक प्रयोग गर्नुपर्छ।

आर्जनको ९० प्रतिशतमा मात्र आफ्नो हक भोग रहन्छ, १० प्रतिशतमा आफ्नो अधिकार रहँदैन। घटना, दुर्घटनामा समान स्वभाव हुनुपर्छ। आचारलाई नछोड्नु तपको लक्षण हो। पातहरू हल्लन सक्छन् वृक्षमा तर अंकुर मर्दैन, ठीक त्यस्तै अपयश र बाधाहरू आउन सक्छन् तर धैर्य तपस्वीको लक्षण हुन्छ।

कसैप्रति याचना नगर्ने, ठूलासँग हात नथाप्ने, सानासँग याचना नगर्नेका वरिपरि इश्वर बसेको हुन्छ। सके दिने, नसके कमसे कम याचना चाहिँ गर्नुहुन्न। प्रमोदका ८ दोष छन्– ५ इन्द्रियहरूको छाडापन त्यसमा मन, बुद्धि र अहंकारसमेत तीन थपिँदा यी दोष हुन्छन्। अतीतको चिन्ता, भविष्यको आशाले व्यक्तिलाई सताउँछ। गएका दुःख वेदनाले व्यक्तिलाई निराश बनाउँछ। व्यर्थ चेष्टा, व्यर्थ चिन्ता, व्यर्थ चिन्तनले शरीर बोझिलो हुन्छ।

हामीमा अनगिन्ती समस्या छ, रोजगारी, आयआर्जनको अभाव, शिक्षा, स्वास्थ्य धान्न नसकेको, बजारभाउको तीव्र वृद्धि, करको भार, मार, व्यापार असन्तुलन, विदेशी ऋण, जर्जर अर्थ प्रणाली, कृषि क्षेत्रको गिर्दो अवस्था, आयातमा भर पर्नु परेको, धेरै नेपाली बिदेसिएका, गाउँघर रित्तो भएको, मलामी जन्तीको अभाव, धेरै प्रदूषण, खाने पानीलगायतको संकट, दिनपरदिनको प्रकोप, महामारी कैयन छन् हाम्रा पीडाहरू। मनभरि कुण्ठा छन् तर धैर्यको बाँध नतोडी दरो आत्मबल राखौं, सेवा गरौं दान, धर्म पनि सकेको गरौं। यसैमा चाडपर्वले दिने बल प्राप्त हुन्छ। भविष्यप्रतिको ठूलो आशा गर्नाले पनि व्यक्तिलाई चिन्तामा धकेल्छ, यसको अर्थ पूरै जीवन निराश भए समस्या फेरि थपिन्छ। मनमा उत्साह थप्न नै यस्ता चाडपर्व हाम्रासामु आएका हुन्।

प्रतिक्रिया