बचतकर्तादेखि ऋणीसम्म ठग्दै सहकारी, दोहोरो कर्जा असुल्दै अभिभारा र हिमनदी

- June 8, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सहकारी संस्थाबाट बचतकर्ता मात्र नभई ऋणी सदस्यसमेत ठगिने क्रम बढ्दो छ । राज्यको कमजोरीको फाइदा उठाउदै सहकारी सञ्चालकहरुले सहकारी ऐन विपरीत बचतकर्ताको बचत अपचल गर्दै आफ्ना नीजि कम्पनीमा लगानी गर्ने, व्यक्तिका नाममा घर जग्गा खरिद गर्ने जस्ता गैर कानुनी कार्य गरेसगै यतिबेला अधिकांस सहकारी संस्था चरम संकटमा पुगेका छन ।

पछिल्लो समयमा सहकारी संस्थाले बचतकर्ता मात्र नभई ऋणीसदस्यहरुलाई समेत दोहोरो ठगी गर्दै आएको पाएको छ । एकातर्फ सहकारी संस्थाको तमसुक बनाउने र अर्कोतर्फ धितो भन्दै ऋणीको नामको ब्ल्याङक चेक लिएर मनोमानी रकम भरी दाबी गर्ने गरेको खुलेको छ ।

नयाँ बानेश्वर स्थित रहेको अभिभारा बचत तथा ऋण सहकारी संस्थाले एक ऋणी सदस्यलाई तमसुकसँगै ब्ल्याङक चेक लिएर रकम भरी दोहोरो कर्जा असुल्न लागेको एक पिडितले बताएका छन ।

कोटेश्वर निवासी खड्का थरका सो पिडितले केहि समय अगाडी रु १० लाख रुपैयाँ कर्जा लिइएको तर सहकारी संस्थाले ब्याज, हर्जना भन्दै गत वर्षको असार ३१ गतेसम्म १२ लाख ५९ हजार ८ सय उन्नानबे रुपैया भएको भन्दै साउन १ गतेको मितिमा नयाँ तमसुक वनाएको भएता पनि धितोको नाममा भनेर लिएको ब्ल्याङक चेकमा असार ३१ गते कै मिति भरेर बाउन्स गरी ब्ल्याक लिष्टमासमेत राखी चेकबाट छुटै र तमसुकको छुटै रकम तिर्नु पर्ने भन्दै ताकेदा गरेको पिडित खड्काले बताएका छन ।

यसै विषयमा संस्थाका अध्यक्ष नरेन्द्र सिवाकोटीसँग बुझ्दा संस्थाको रकम चेकबाट असुल उपर गर्ने बाहेक अन्य जानकारी नभएको बताए । अन्य जानकारी ऋण अधिकृत नविन चौहानलाई थाह हुने र उसैसंग बुझ्न भने । संस्थाका ऋण अधिकृत भनिएका नविन चौहानसँग चेक र तमुसक दुवैबाट कर्जा असुल्न लागेको हो भन्ने जिज्ञासा चौहान भन्छन चेकबाट मात्रै रकम असुल्न लागेको बताए । चेकबाट कर्जा असुल्न लागेको भए फेरि अर्को मितिको तमसुक किन गराइयो भन्ने हाम्रो जिज्ञासामा थप बोल्न चाहेनन् । प्राप्त प्रमाण अनुसार ०८० साउन १ गतेका मितिको १२ लाख ५९ हजार ८ सय उन्नानबे रुपैयाको तमसुक गरिएको पाईएको छ । अर्को तर्फ सोहि रकम बरावरको चेक ०८० असार ३१ गतेको मितिमा सहकारी संस्थाको नाममा जारी गरेको पाईएको छ ।

दोहोरो कर्जा असुल्दै हिमनदी सहकारी

अभिभारा बचत तथा ऋण सहकारी संस्थाले जस्तै काठमाडौं बसुन्धरा स्थित रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्थाले एक ऋणी सदस्यको साक्षी जमानी बस्नेको नामबाट चेक लिई दोहोरो रकम असुल्ने चेष्टा गरेको पाएको छ ।

एकातर्फ ऋणीबाट कर्जा उठाई रहने र अर्कोतर्फ जमानी बस्ने व्यक्तिको चेकबाट समेत रकम असुल्ने नियतले चेक बाउन्स गरी ब्ल्याकलिस्टमा राखेको पिडितले बताएका छन । विना धितोमा अनिवार्य चेक राख्नु पर्ने संस्थाको नियम रहेको भन्दै लिएको चेक ऋणीले कर्जा तिर्दा तिर्दै बाउन्स गरी ब्ल्याकलिस्टमा राखेको पिडितले बताए ।

ऋणीले शेयर र बचत कटाएर तीन लाख पनि संस्थालाई तिर्न पर्ने नरहेपनि संस्थाले आफुबाट चार लाखको चेक लिएको र चेक फिर्ता गर्नुस् भन्दा संस्थाले भने बमोजिम ऋण चुक्ता गर्नु नभए दुवैबाट रकम असुलिन्छ भन्ने जबाफ आएको पिडितले नाम उल्लेख नगरिदिन आग्रह गर्दै वताए ।

यसै विषयमा संस्थाका अध्यक्ष सुदिप महर्जनलाई बुझ्दा चेक लिएको तर समयमा कर्जा उठिनसकेकोले कारवाही अगाडी बढाएको बताए । संस्थाले दिएको ऋणीको नामको स्टेट्मेन्ट र साक्षी जमानीको नाममा कटाएको रु चार लाख चेकको प्रमाण हामीसँग सुरक्षित रहेको छ । स्टेट्मेन्ट हेर्दा ऋणीले चार लाख तिर्न नपर्ने देखिन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट