अबैध ‘हाइपर फन्ड’ को नाममा ठगी : ५ करोडभन्दा बढी ठगी

- May 29, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जनालाई खुलेआम ठगी गरेपछि सरकारले कारबाही गरेपछि केही रोकिएको अनलाईन ठगीधन्दा फेरि सुरु भएको छ । पछिल्लो समयमा बढ्दो इन्टरनेटको प्रयोगसंगै केही व्यक्ती या समुहले अस्थिर सरकारको मौका छोप्दै स्वदेशमा र बिदेशबाट अबैधधन्दा चलाएको प्रमाण प्राप्त भएको छ ।

अहिले त्यस्तै प्रकृतिको ‘हाइपर फन्ड’ नामको अनलाईन ठगीधन्दा देखा परेको छ । डिसेम्बरदेखि ‘हाइपर भर्स’ को रूपमा रूपान्तरण भएको यो फन्डलाई कुरै नबुझी अधिकाशं सर्वसाधारण ‘हाइपर भर्स’ मा लगानी गरिरहेको भेटिएको छ । यो फन्डमा भएको अन्धाधुन्ध लगानीले पनि मुलुकमा आर्थिक संकट निम्तिएको छ ।

पछिल्लो समयमा प्राप्त विवरण अनुसार ‘हाइपर फन्ड’का नाममा हजारौँ सर्वसाधारण ठगिएको पाइएपछि प्रहरीले अनुसन्धान थालेको बताइएको छ । नेटवर्किङ शैलीको यस्तो अपराधमा संलग्न एक आरोपीलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान अघि बढाएको बताइएको छ ।

ललितपुरको इमाडोल बस्ने नानु घिमिरे (काजल) लाई दुई साताअघि पक्राउ गरी सिआइबीले अनुसन्धान थालेको थियो । हालसम्म ४० जनाले पाँच करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी दिएपछि प्रहरीले त्यसतर्फ चासो दिएको थियो । हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस को रुपमा रहेको छ । यसले वस्तु तथा सेवाको बिक्री गर्दैन ।

तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाएर ठगीधन्दा चलाउदै आएको पाइएको छ । हाइपर फन्ड क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो । परिवर्तनीय बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाएर अबैधधन्दा चलाउदै आएको भेटिएको छ । एप डाउनलोड गरेर एकाउन्ट क्रेट गर्नुपर्छ ।

एकाउन्ट बनाएपछि ३ सय हेजयु ९३ सय अमेरिकी डलरबराबर ३९ हजार नेपाली रुपैयाँ लगानी गर्नुपर्नेृ जानकारी दिइएको छ । जुन अबैध रहेको छ । ठगीमा ५० भन्दा धेरै व्यक्तिको संलग्नता देखिएको छ । २४ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

हाइपर फन्डका नाममा संगठित प्रकृतिको ठगी भइरहेको देखिएपछि यसमा अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ । प्रहरीका अनुसार लगानी गरेको छोटो अवधिमै तेब्बर आम्दानी हुने प्रलोभन देखाएर ठगी गरिएको देखिन्छ । खासगरी यो गिरोहबाट विदेशमा भएका नेपाली ठगिएको उजुरी आएको र ठगी गर्ने गिरोका नाइकेहरू विभिन्न देशमा रहेको प्रहरीले बताएको छ । पक्राउ परेकी घिमिरे सो समूहको नेपालकी प्रमुख रहेको हालसम्मको अनुसन्धानमा देखिएको छ ।

धेरै रकम उनी र उनीनिकट व्यक्तिको बैंक खाताबाट कारोबार भएको छ । २० महिनाभित्र तेब्बर फिर्ता दिने आश्वासनसहित धेरैजसोलाई सुरुमा तीन सय अमेरिकी डलर लगानी गर्न लगाइन्थ्यो । सुरुमा थोरै प्रतिफल दिएर मोटो रकम लगानीका लागि प्रोत्साहित गरिन्थयो । यसका लागि उनीहरूले एक वेबसाइट बनाएका थिए। जहाँ गएर सदस्य बनेकाले आफ्नो ब्यालेन्स हेर्न पाउँथे। कम्पनी आधिकारिक नै भएको आश्वासनमा यसरी वेबसाइटमा ब्यालेन्स देखाएर ठगी भएको हो ।

सो वेबसाइट नै बन्द भएपछि सर्वसाधारणले आफूहरू ठगी भएको थाहा पाएका छन् । एकैजनाको एक करोड ३८ लाख रुपैयाँसम्म ठगी भएको उजुरी प्रहरीमा परेको अनुसन्धानमा संलग्न सिआइबीकी इन्स्पेक्टर जयन्ती थापा बताउँछिन्। सबैभन्दा धेरै पोर्चुगल र बेलायतमा रहेका नेपालीसँग पैसा उठाइएको छ। खाडी देशमा समेत गिरोहको सञ्जाल थियो । गैरआवासीय नेपाली संघमा आबद्ध कतिपय व्यक्तिसमेत ठगीमा संलग्न रहेको पीडितले जनाएका छन् । नेपालमा बस्ने पनि ठगिएका छन ।

हालसम्मको अनुसन्धानमा गिरोहका मुख्य नाइके बेलायतमा र त्यसपछिका दुईजना पोर्चुगलमा रहेको अनुसन्धानमा खुलेको छ । सुरुमा हाइपरभर्स नाममा खोलिएको सो कम्पनीको मुख्य कार्यालय अस्ट्रेलियामा रहेको र चिनियाँ मूलका अस्ट्रेलियन नागरिकलाई प्रमुख भनेर चिनाइएको थियो । वेबसाइटमा पनि सोही विवरण राखिएको थियो। पिरामिड शैलीको नेटवर्किङ कारोबारमा थप सदस्य बनाएमा आफ्नो आम्दानी बढ्दै जाने गरी एकपछि अर्कोलाई यसरी ठगीको जालमा फसाइएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन्।

यस कसुरमा मंगलबार जिल्ला अदालतते संगठित कसुरमा समेत अनुसन्धान गर्न अनुमति दिएको सिआइबीकी इन्स्पेक्टर थापाले बताइन्। हाइपर फन्डबाट ठगिएकालाई उजुरी गर्नसमेत सिआइबीले आग्रह गरेको छ। ‘हाइपर फन्ड’का नाममा धेरै समूहले पैसा उठाउँदै आएका छन्। यसको सूचना पाएपछि दुई वर्षअघि नै नेपाल राष्ट्र बैंक र सिआइबीले सूचना प्रकाशन गरी ‘हाइपर फन्ड’ अवैध भएकाले यसमा लगानी नगर्न सचेत गराएको थियो।

को को छन् संलग्न ?

हाइपर फन्डको टिम लिडरका रूपमा योगेन्द्रमिलन छन्त्याल छन्। मनोज तामाङ, अभि श्रेष्ठ, प्रति राई, डिजोज न्यौपाने, कवि तामाङ, नवराज न्यौपाने, राजकुमार थापा, वीरबहादुर तामाङलगायत दुई जनाभन्दा बढी अग्रस्थानमा देखिएका छन्। सन् २०१४ मा विदेशीले चलाइरहेको हाइपर भर्स (हाइपर फन्ड) दुई वर्षदेखि छन्त्यालले लिड गरिरहेका छन्। कम्युनिटी रिवार्डबाट डरलाग्दो कमाइ गर्न सकिने छन्त्याल बताउँछन्।

 नेपालमै रहेका र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू यसमा संलग्न रहेको पाइन्छ। आकर्षक गन्तव्य मुलुक दक्षिण कोरिया, इजरायलदेखि खाडी मुलुकसम्मका नेपाली यस्तो नेटवर्किङ बिजनेसमा संलग्न छ। त्यस्तै युवा तथा महिला यस व्यवसायमा जोडिएका छन्। इजरायलमा कार्यरत ताप्लेजुङकी इन्दिरा प्रसाईं सुवेदीले नेपालका विभिन्न क्षेत्रका व्यक्ति यसमा संलग्न भएको बताइन्।

कम्युनिटीका लागि क्रिप्टो करेन्सीमा काम गरेकाले सहयोग गरेको छन्त्याल दावी गर्छन्। हाइपर भर्स ग्लोबल नेपालमा शिवराज जीएमले दिनप्रतिदिन सयौं नेपालीहरू जोइन हुने क्रम जारी गरेको बताएका छन्।  धेरैले प्यासिभ रिवार्ड र कम्युनिटी रिवार्ड  पाएको उनको भनाइ छ। उनका अनुसार कम्पनीको विश्वास गरेर मेम्बरसिप प्याकेज पनि बढाउँदै लगेको उनले उल्लेख गरेका छन्।

लगानी अपारदर्शी, रकम डुब्ने खतरा

हाइपर फन्ड (भर्स)ले कुन क्षेत्रमा लगानी गर्छ भन्ने विषयमा पारदर्शिता छैन्। कम्पनी राम्रो र बलियो भएको दाबी गरिए पनि यसको लगानीको स्रोत नखुलेको पाइएको हो। यद्यपि यसले इकोसिस्टममा काम गरेको दाबी गरिएको छ। हाइपरभित्रैका विभिन्न ग्रुपमा लगानी गरेको बताइन्छ। हाइपर टिच ग्रुपले सञ्चालन गरेको हाइपर फन्डभित्र बैंक, सञ्चारमाध्यम, मललगायत ९ वटा क्षेत्र छुट्ट्याइएको बताइन्छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट