उत्खनन र अनुसन्धानको पर्खाइमा मुक्तेश्वर मन्दिर

- May 24, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सर्लाही : धार्मिक पर्यटनको प्रसस्त सम्भावना बोकेको सर्लाहीको बरहथवा नगरपालिकास्थित मुक्तेश्वर महादेव मन्दिर उत्खनन र अनुसन्धानको पर्खाइमा छ । बरहथवा नगरपालिका–९, मुर्तियामा रहेको ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।

विभिन्न दस्तावेजमा उल्लेख भएअनुसार २६ सय वर्ष पहिला भक्तपुरको तलेजु भवानी मन्दिरसँगै गयासुद्घिन भन्ने भारतका शासकले यस मन्दिर पनि भत्काइदिएका थिए । तलेजु भगवतीको मन्दिर भत्काएर फर्कने क्रममा बाटोमा रहेको यस मन्दिरसमेत ध्वस्त बनाई दिएको स्थानीय जानकारको भनाइ छ ।

यस मन्दिर बजेट अभावमा संरक्षण हुन सकेको छैन । बजेट अभावमा पुनःनिर्माण हुन नसक्दा मन्दिर परिसरमा रहेका ऐतिहासिक संरचनासमेत जीर्ण अवस्थामा पुगेका वडाध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गबाट १० किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा दैवी शक्ति रहेको स्थानीय विमला कार्कीको भनाइ छ । विशेष गरेर यस मन्दिरमा साउनको सोमबार र शिवरात्रिमा भक्तजनको बाक्लो घुइँचो लाग्ने गर्दछ । मन्दिर दर्शनका लागि भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने गर्दछन् ।

बरहथवा नगरपालिका–९, स्थानीय ८२ वर्षीया चन्द्रनिधि तिवारीले तत्कालीन अवस्थामा यस क्षेत्र चीन र भारतको व्यापारीक केन्द्र सुवर्णग्राम सहरको रुपमा रहेको कौटिल्य शास्त्रमा उल्लेख रहेको बताउनुभयो ।

गयासुद्घिनले मन्दिर र सहरमा आक्रमण गरेपछि यस क्षेत्र जङ्गलमा परिणत भएको उहाँको भनाइ छ । यस मन्दिर आसपासमा अझै पनि बुद्धकालीन इँटाहरु फेला पर्ने गरेको छ ।

मन्दिर परिसरमार रहेका संरचनामध्ये मूल मन्दिरको पुरातत्व विभागले पुनःनिर्माण गरेको थियो । सोही क्रममा मन्दिरमा प्रयोग भएको कलात्मक ढुङ्गामा २६ सय वर्ष पुरानो बोलीचालीको भाषा ब्रह्म लिपी फेला परेको हो ।

विभागका तत्कालीन योजना प्रमुख रामबहादुर कुँवरको नेतृत्वमा भएको उत्खनन तथा पुनःनिर्माणका क्रममा ढुङ्गाको ब्लकमा ब्रह्म लिपी अर्थात पाली भाषा कुदिएको फेला परेको थियो ।

“मन्दिर बनाउन प्रयोग गरेको ढुङ्गामा पाली भाषामा लेखिएको भेटियो”, वडाध्यक्ष लुइँटेलले भन्नुभयो, “काम गर्ने मन्दिर बनाउने कर्मीले पक्कै त्यतिबेलाको बोलीचालीको भाषा नै ढुङ्गामा कुदेको हुनुपर्छ ।”

यस क्षेत्रमा चार फिट गहिरो खन्ने बित्तिकै ८/८, ११/११, १२/१२ आकारका बुद्धकालीन इँटा फेला पर्ने गरेको स्थानीय रामकुमार नेपालले बताउनुभयो ।

मन्दिरको तीन किलोमिटर दक्षिणमा लौकठ, हीरापुर लगायतको गाउँ रहेको थियो । उक्त गाउँमा बागमतीलगायत विभिन्न नदीको बाढी पसेपछि २०११ सालमा स्थानीय बासिन्दा यस मन्दिर नजिकै बसाई सरेका थिए ।

गाउँ बढ्दै जाँदा यस मन्दिरको संरचना फेला परेको स्थानीय ७४ वर्षका कृष्ण कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार २०२२ सालमा स्थानीयको पहलमा मन्दिर क्षेत्र सरसफाइ तथा यत्रतत्र रहेका मन्दिरका मूर्ति, गजूरलगायतका सामान जम्मा गरेर मन्दिर स्थापना गरिएको थियो ।

मन्दिरको तीन सय मिटरदेखि तीन किलोमिटरको दूरीमा समकालीन चक्रेश्वर महादेव मन्दिर, गणेश मन्दिर, कटकुईया (काठको पानी खाने डुँड), पोखरी, गुलरिया ताल, किसनपुर पोखरी, ब्रह्मनाल गुफालगायतको संरचना अहिले पनि छन् ।

यी संरचना संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका वडाध्यक्ष लुईटेलले बताउनुभयोे । मन्दिर परिसरमा रहेको १० फिट गहिरो ४२ फिट लामो टनेलसमेत संरक्षण हुन नसक्दा भत्किने अवस्थामा पुगेको छ ।

बजेट अभावमा यस मन्दिर क्षेत्रको उत्खनन र पुनःनिर्माण पूरा हुन नसकेको बरहथवा नगरपालिकाले जनाएको छ । ठूलो धनराशि लाग्ने भएपछि मन्दिर क्षेत्रको पहिलो चरणको पुनः निर्माण गरेर अरु त्यसै छाडिएको छ ।

स्थानीय तहको पहलमा २०७२/७३ सालदेखि मन्दिरको मुख्य संरचनाको पुनःनिर्माण सुरु भएको थियो । दुई पटक गरेर पुरातत्व विभागले पहिलो पटक रु एक करोड र दोस्रो पटक रु पाँच करोड ३२ लाख लगानीमा मूल मन्दिरको पुनः निर्माण गरेको हो । विभागले सात वर्ष लगाएर मन्दिरको पुनःनिर्माण तथा उत्खनन गरेको थियो ।

विभागले गरेको अनुसन्धानबाट लुम्बिनीको मायादेवी मन्दिरमा फेला परेकै भाषा र जमिनमुनिको इँटा यस मन्दिर परिसरमा पनि फेला परेको हो । यस अर्थमा पनि यो मन्दिरको संरचना पनि समकालीन रहेको दाबी गरिएको छ ।

यस मन्दिरको संरचना पुनःनिर्माण तथा यस क्षेत्रको उत्खननका लागि पुरातत्व विभागबाहेक कतैबाट बजेटको व्यवस्था नभएको नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालले बताउनुभयो ।

बजेट नभएकै कारण धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको यस मन्दिरको प्रचारप्रसार तथा संरक्षण र पुनःनिर्माणका बाँकी काम अलपत्र परेको उहाँको भनाइ छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट