बैंकिङ प्रणालीमा थपियो चार खर्ब नौ अर्ब निक्षेप

- May 20, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बैंकिङ प्रणालीमा चार खर्ब नौ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप सात दशमलव दुई प्रतिशत अर्थात् चार खर्ब नौ अर्ब चार करोड रुपैयाँ बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप सात प्रतिशत अर्थात् तीन खर्ब ५५ अर्ब ८९ करोड रुपैयाँ थपिएको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ दशमलव ५ प्रतिशतले बढेको छ ।

२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव दुई प्रतिशत, २९ दशमलव एक प्रतिशत र ५८ दशमलव नौप्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः आठ प्रतिशत, २५ दशमलव सात प्रतिशत र ६० दशमलव एक प्रतिशत थियो ।

२०८० चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव सात प्रतिशत छ ।

२०७९ चैत मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव तीन प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव छ प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब २१ करोड रुपैयाँले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तीन दशमलव पाँच प्रतिशत अर्थात् एक खर्ब ६१ अर्ब ९८ करोड रुपैयाँले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा चार दशमलव नौ प्रतिशतले बढेको छ ।

२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव सात प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव तीन प्रतिशत छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव एक प्रतिशत र ३५ दशमलव नौ प्रतिशत रहेको थियो ।

यस आर्थिक वर्षको नौ महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह चार दशमालव सात प्रतिशतले, विकास बैंकहरूको चार दशमलव दुई प्रतिशतले र फाइनान्स कम्पनीहरूको पाँच दशमलव पाँच प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११ दशमलव चार प्रतिशत कर्जाको लागि चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तु सुरक्षणको रूपमा रहेको छ ।

यीबाहेक ६७ दशमलव छ प्रतिशत कर्जाको लागि घरजग्गा धितो सुरक्षण रहेको राष्ट्र बैंकको भनाइ छ । २०७९ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव तीन प्रतिशत र ६६ दशमलव नौ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव सात प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव आठ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा आठ दशमलव सात प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव आठ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा चार दशमलव नौ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा पाँच दशमलव सात प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७ दशमलव आठ प्रतिशतले, नगद प्रवाह कर्जा २७ दशमलव चार प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) छ दशमलव नौ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२ दशमलव नौ प्रतिशतले बढेको छ ।

अधिविकर्ष कर्जा ४३ दशमलव सात प्रतिशतले, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा शून्य दशमलव दुई प्रतिशतले र हायर पर्चेज कर्जा १६ दशमलव नौ प्रतिशतले घटेको छ ।(आर्थिक दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट